यसैसाता दरबार हाइ स्कुल (भानु माध्यमिक विद्यालय) पुग्दा प्रधानाध्यापक शारदा पौडेल शिक्षक अभावको विषयमा कुरा गरिरहेको भेटिइन्।
निजी स्रोतका केही शिक्षकले कोरोनाकालमा तलब नपाएपछि जागिर छाडे। त्यसअघि विद्यार्थी कम भएकोले दरबन्दी घटाइएका कारण अहिले विद्यालयमा शिक्षक अभाव भएको हो।
अर्कोतिर, भूकम्पले भत्काएपछि चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको यस ऐतिहासिक विद्यालयमा अहिले विद्यार्थी संख्या निकै बढेको छ।
स्कुलमा अहिले १७ जना दरबन्दीमा र २ जना निजी स्रोतका गरी जम्मा १९ शिक्षक छन्। विभिन्न विषयका कम्तीमा ११ जना शिक्षकको अभाव कायम रहेको प्रधानाध्यापक पौडेल बताउँछिन्।
‘उस्तै परे एक जना शिक्षकले एक दिनमा ७ वटा कक्षासम्म भ्याउनुपर्छ। नभए पनि एक दिनमा एउटा शिक्षकले ६ वटा कक्षा लिनु त अनिवार्य जस्तै भएको छ,’ प्रधानाध्यापक पौडेलले भनिन्, ‘एक दिन एक जना शिक्षक अनुपस्थित हु‘दा ६ वटै कक्षा खाली हुन्छ। त्यसैले शिक्षकलाई बिदा लिन्छु भन्न पनि अप्ठ्यारो छ।’
विद्यार्थी धेरै भएकाले सेक्सन विभाजन गरिएको छ। शिक्षक अभाव हुँदा गृहकार्य जाँच्ने गर्न फुर्सद नहुने र ल्याब तथा अतिरिक्त क्रियाकलापमा पर्याप्त समय दिन नसकिरहेको शिक्षकहरुको गुनासो छ।
स्वास्थ्य विषयका शिक्षक रमेशकुमार दर्जीले एउटा कक्षा नसकी अर्को कक्षामा जान हतार भइसक्ने बताए।
‘एउटा कक्षा नभ्याउँदै अर्कोमा जान हतार हुन्छ। त्यसैले विद्यार्थीसँग थप छलफल गर्न पाइँदैन।’
पर्याप्त शिक्षक हुँदा विद्यार्थीको रुचि र चाहनाअनुसार छलफल गर्न सहज हुने उनले बताए। स्कुलमा थपिएका प्रविधि र सुविधाका कारण पढाउन भने सहज भएको उनको भनाइ छ। उनका अनुसार ठूला कक्षामा स्मार्ट अन्तरक्रियात्मक बोर्ड छन्। स्कुलले ल्यापटप र पेनड्राइभ दिएको छ।
फेरिएको स्कुल
झण्डै १ सय ६८ वर्षपहिले स्थापना भएको थियो दरबार हाइस्कुल। निकै पछिसम्म यहाँ राणाका छोराहरु मात्र पढ्थे। पछि धनीमानीका सन्तान पढ्न थाले। तर, अहिले यो स्कुलमा तल्लो सबै वर्गका केटाकेटी पढ्छन्। यहाँ ७७ जिल्लाकै विद्यार्थी छन्।
१२ वैशाख ०७२ सालमा गोरखालाई केन्द्र बनाएर गएको भूकम्पले विद्यालय तहसनहस भयो। नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले आकर्षक ढंगले पुनर्निर्माण गरेको हो।
भुकम्पअघि दुई तलामा २० कोठा थिए। तर, अहिले दरबार हाइस्कुल चार तले बनेको छ। ४६ वटा कोठा छन्। भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठककक्ष समेत छ।
विद्यालयका अनुसार २० वर्षयता विद्यार्थी संख्या तीव्र गतिमा घटिरहेको थियो। तर, चीन सरकारले आकर्षक भवन निर्माण गरिदिएपछि विद्यार्थी संख्या पुनः बढेको छ। विद्यालयको तथ्यांकअनुसार ०७३÷०७४ सालमा विद्यालयमा कक्षा एकदेखि १० सम्म जम्मा दुई सय १४ जना मात्रै विद्यार्थी थिए।
त्यतिबेला विद्यार्थी संख्या बढाउन आन्तरिक स्रोतबाटै जुत्तादेखि खाजासम्मको व्यवस्था गरिएको थियो। कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई निशुल्क जुत्ता, झोला, टाई, बेल्ट उपलब्ध गराइएको थियो। विद्यालयको त्यो प्रयासले पनि सोचे जति विद्यार्थी आकर्षित भएनन्।
तर अहिले विद्यालयमा बढेका विद्यार्थीको व्यवस्थापन गर्न विभिन्न समूहमा विभाजन गर्नुपरेको छ। एउटा कक्षामा ८० जनासम्म विद्यार्थी रहेको प्रधानाध्यापक पौडेल बताउँछिन्। एउटा कोठामा ४० जनासम्म राखेर पठनपाठन भइरहेको छ।
विद्यार्थी संख्या बढ्नुका कारण
अहिले विद्यार्थी संख्या बढ्नुका मुख्य तिन कारण छन्– आर्कषक भवन, रोबोटसम्बन्धी सिकाइ र कम्प्युटर कक्षा।
छात्रालाई स्यानिटरी प्याडको व्यवस्था पनि छ। कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा दिइन्छ। अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ। विभिन्न अतिरिक्त क्रियाकलाप, खेलकुदका लागि पर्याप्त स्थान छ। विज्ञान प्रयोगशाला, बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह पनि उस्तै आर्कषक छन्।
स्कुलमा ८ देखि १० कक्षासम्म डिजिटल माध्यमबाट पढाइ हुन्छ। ६ वटा अन्तरक्रियात्मक स्मार्ट बोर्ड छन्। काठमाडौँ महानगरपालिकाले दिएको ३८ लाख बजेटबाट स्कुलले डिजिटल माध्यममा पढाइ सुरू गरेको छ। शिक्षक र विद्यार्थी दुवैलाई प्रविधिले सहज बनाइदिएको प्रधानाध्यापक पौडेलले बताइन्।
प्राधानाध्यापक पौडेल भूकम्प जानुभन्दा एक वर्षअघि मात्रै विद्यालयमा आएकी हुन्। उनी आएपछि विद्यालयमा धेरै सुधारका समेत भएका छन्।
उनी भन्छिन्, ‘पढाइको वातावरण राम्रो हुन सामाजिक, प्रशासनिक र शैक्षिक पक्ष राम्रो चाहिन्छ। म आएदेखि स्कुलमा धेरै सुधार भएको छ। सात वर्षअघि र अहिलेको तुलना गर्दा एकदमै धेरै परिवर्तन देख्नुहुन्छ।’
प्रविधिको कारण पनि स्कुलमा विद्यार्थीको रूचि बढेको छ। कक्षा ९ मा अध्ययनरत दिव्या न्यौपाने प्रविधिको प्रयोगले सिकाइमा उत्साह थपेको बताइन्।
‘राम्रो वातावरण छ। कमजोर विद्यार्थी भनेर हेपिँदैन। कसैले केहि सोध्न अप्ठ्यारो माने अथवा नजाने शिक्षकले नजिकै गएर सिकाइदिनु हुन्छ,’ उनले भनिन्, ‘कक्षाकोठाको स्मार्ट बोर्डले शिक्षण सिकाइ प्रक्रियालाई सरल र सहज बनाएको छ। यसले विद्यार्थीको क्षमता अभिवृद्धिमा ठूलो मद्दत पुगेको छ।’
Shares
प्रतिक्रिया