समाज


‘बुस्टर डोज’मा यी समूहले पाउनेछन् प्राथमिकता

‘बुस्टर डोज’मा यी समूहले पाउनेछन् प्राथमिकता

यज्ञराज जोशी
मंसिर २३, २०७८ बिहिबार २१:७, काठमाडौँ

सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज (तेस्रो खोप) दिने तयारी गरेको छ। 

स्वास्थ्यमन्त्री विरोध खतिवडाले बुस्टर डोज दिनेबारे मन्त्रिपरिषदमा छलफल भएको र सबै नागरिकलाई बुस्टर डोज लगाउन प्रधानमन्त्रीले निर्देशन दिइसकेको बताए। 

‘बुस्टर डोजबारे छलफल भएको छ। सबैलाई दिने प्रधानमन्त्रीको निर्देशन छ,’ संसदको शिक्षा, स्वास्थ्य समितिको बैठकमा मन्त्री खतिवडाले भने, ‘खोप समितिमा पनि छलफल भएको छ। त्यसले दिएको निर्णयका आधारमा मन्त्रालयले तयारी गर्नेछ।’

संक्रमण रोग विशेषज्ञ डा. प्रभात अधिकारीले अन्त्यन्तै संक्रामक ओमिक्रोन भेरियन्टको क्षति न्यूनीकरणका लागि पनि कम्तीमा फ्रन्टलाइनरलाई बुस्टर डोज लगाउन सुझाव दिए। 

‘अहिलेका खोपको म्याद कम्तीमा ६ महिना भनिएको छ। गत वर्ष नै खोप लगाएका फ्रन्टलाइनरहरुको म्याद सकिइसक्यो,’ डा. अधिकारीले भने, ‘अब नयाँ भेरियन्टको क्षति रोक्न उनीहरुलाई बुस्टर डोज लगाउन सकिए ढुक्क हुन सकिन्छ।’

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट भेटिइसकेकाले बुस्टर डोजको बहस तीव्र बनेको छ। 

‘नयाँ भेरियन्टले संक्रमण भइसकेकालाई पुनः संक्रमण गराएको पाइएको छ,’ डा. अधिकारीले नेपालखबरसँग भने, ‘डब्लूएचओले हाइअलर्टमा बस्न भनेकाले बुस्टर डोजलाई प्राथमिकता दिन जरुरी छ।’

स्वास्थ्य मन्त्रालयको खोप सल्लाहकार समितिले सुरुमा कम्तीमा दुई तिहाइ जनसंख्यालाई दुई डोज खोप लगाउन प्राथमिकता दिने योजना अघि सारेको छ। ओमिक्रोनको प्रभाव बढ्दै गए फ्रन्टलाइनर, भेरोसेल खोप लगाएका र रोग प्रतिरोधी क्षमता कम भएकालाई बुस्टर डोज लगाउनुपर्ने सुझाव समितिले दिएको छ। 

‘सुरुमा त फ्रन्टलाइनरले प्राथमिकता आउँछन्। त्यसबाहेक भेरोसेल लगाएकालाई ३ देखि ६ महिनामा बुस्टर डोज लगाउन भनिएकाले उक्त खोप लगाएकाले पाउनेछन्,’ मन्त्रालयका परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले भने, ‘त्यसबाहेक अरु खोप लगाएका तथा रोग प्रतिरोधी क्षमता कम भएका र दीर्घ रोगीहरुलाई बुस्टर डोज दिन समितिबाट सुझाव आएको छ।’

समितिले मन्त्रालयमा सुझाव पेस गरेको छ। मन्त्रालयमा छलफलपछि उक्त निर्णय मन्त्रिपरिषदमा पेस गरिने र त्यसपछि बुस्टर डोज लगाउनेबारे नीतिगत निर्णय हुने कर्णले बताए।   

नेपालले १८ वर्षभन्दा माथिका १ करोड ९९ जनालाई खोप लगाउने लक्ष्य लिएको छ। त्यसमध्ये हालसम्म ५४ प्रतिशतलाई एक मात्रा र ४५ प्रतिशतलाई दुई मात्रा खोप लगाइसकिएको छ। सरकारले दैनिक दुई लाखलाई खोप लगाएर चैत मसान्तसम्म लक्ष्य पुरा गर्ने बताएको छ। बिहीबार मात्रै ३ लाख ३७ हजार जनालाई खोप लगाइएको मन्त्रालयको तथ्यांक छ।  

मन्त्री खतिवडाले अहिले उपलब्ध र आउने खोप लक्षित समूहलाई पुग्ने मात्रामा रहेको र बुस्टर डोज लगाउनुपर्ने भए थप आधा करोड खोप किन्नुपर्ने बताए।  

‘अहिलेसम्म भएको र आउने खोप पनि हिसाब गर्दा सबै नागरिकलाई पुग्ने पहिलो र दोस्रो डोज खोप पर्याप्त छ,’ मन्त्री खतिवडाले भने, ‘बुस्टरमा जाने भएपछि आधा करोड डोज हामीलाई थप आवश्यक पर्छ। त्यसको लागि प्रक्रिया सुरु गरेका छौँ।’

मन्त्रालयका अनुसार २०२२ को मार्चसम्म २ करोड ९६ लाख डोज खोप प्राप्त हुने निश्चित भइसकेको छ। त्यसबाहेक बालबालिकाका लागि ६० लाख फाइजर खोप खरिदको प्रक्रियामा रहेको छ।

मन्त्री खतिवडाले बुस्टर डोजका लागि आवश्यक पर्नसक्छ भन्दै भारतबाट थप ५० लाख खोप बुक गर्ने प्रक्रियामा आन्तरिक छलफल भइरहेको बताए। 

‘अहिले थाहा नपाइकन पनि सहयोग स्वरुप खोपहरु आइरहेका छन्। आवश्यक पर्दा कम्पनीहरुले पनि सहयोग गर्न सकिन्छ भनेका छन्,’ उनले भने, ‘थप खोप चाहिनसक्छ भनेर भारतबाट ५० लाख खोप बुक गर्ने प्रक्रियामा अघि बढेका छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .