ad ad

समाज


दैनिक २ लाख खोप लगाउने निर्णय, तर २ दिनबाहेक मन्त्रालयले भेट्न सकेन लक्ष्य

दैनिक २ लाख खोप लगाउने निर्णय, तर २ दिनबाहेक मन्त्रालयले भेट्न सकेन लक्ष्य

यज्ञराज जोशी
मंसिर १७, २०७८ शुक्रबार १८:६, काठमाडौँ

सरकारले दैनिक न्यूनतम २ लाखलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त मात्रामा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो। 

तर, खोप अभियानको गति भने निकै सुस्त छ। पछिल्लो १० दिनको तथ्यांक हेर्दा जम्मा २ दिन मात्रै २ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन्। 

सरकारले नै दैनिक २ लाख बढीलाई खोप लगाउने जनशक्ति र स्रोतसाधन रहेको बताउँदै आए पनि पछिल्लो १० दिनमा मंसिर १४ र १५ गतेबाहेक खोप लगाउनेहरुको संख्या २ लाखभन्दा कम देखिएको छ।

पछिल्लो १० दिनमा खोप लगाउनेको संख्या
मंसिर ६ गते – ७१,४८३
मंसिर ७ गते – ९८,५११
मंसिर ८ गते – १,४७,२६२

मंसिर ९ गते – १,१७,८८४
मंसिर १० गते – १,९६,८५३
मंसिर ११ गते – १,१५,४३४
मंसिर १२ गते – १,२७,६११
मंसिर १३ गते – १,४४,५३४
मंसिर १४ गते – २,११,५५३
मंसिर १५ गते – २,२७,५८४
मंसिर १६ गते – १,४१,५५७ 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक २ लाखलाई खोप लगाउन सकिने बताउँछन्। 

‘दैनिक दुई लाखलाई खोप लगाउन सम्भव छ। हामीले यसअघि पनि लगाइसकेका छौँ,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण तथा खोप शाखा प्रमुख डा. सागर दाहाल दाहालले भने।
 
सरकारले पुस मसान्तसम्म लक्षित समूहको ६६ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ। दैनिक १ लाख खोप लगाए मात्रै पनि उक्त लक्ष्य भेट्टाइसक्ने दाहाल बताउँछन्। 

सरकारले राखेको दैनिक २ लाख खोप लगाउने लक्ष्यका लागि खोप अपुग नहुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हालसम्म २ करोड ७० लाख मात्रा खोप नेपाल भित्रिसकेको छ। हाल ५५ लाख खोप मौज्दात छ।

‘हामीसँग दैनिक २ लाखलाई लगाउन चाहिने खोप मौज्दात छ,’ अधिकारीले भने, ‘थप खोप पनि पाइपलाइनमा भएकाले समस्या छैन।’

अधिकारीका अनुसार डिसेम्बर–जनवरीसम्म थप ३ करोड मात्रा खोप नेपाल आइपुग्नेछ। 

खोपविज्ञ डा. श्याम उप्रेतीले एक समय देशभर ५० हजार बुथबाट दादुराको खोप लगाइएको सम्झिँदै अब नागरिकलाई खोप केन्द्रसम्म ल्याउने योजना बुन्नुपर्ने बताउँछन्।  

‘हाम्रो खोप लगाउने प्रणालीले दैनिक दुई लाख मान्छेलाई खोप लगाउन सकिन्छ तर त्यति मान्छे खोप केन्द्रसम्म ल्याउनुपर्यो। अबको ध्यान त्यता केन्द्रित गर्नुपर्छ,’ उनले भने।

खोपका बारेमा थुप्रै मानिसहरु अझै पनि अलमलमा रहेकाले उनीहरुलाई यसको महत्व बुझाएर खोपकेन्द्रसम्म ल्याउनुपर्ने उनको भनाइ छ।

सकेसम्म घरनजिक खोप केन्द्र बनाएर बढीभन्दा बढी नागरिकलाई खोप लगाउने मन्त्रालयको अबको रणनीति रहेको मन्त्रालयका सहप्रवक्ता समीरमणि अधिकारीले बताए।

‘मान्छे खोजेर लगाउने रणनीतिमा छौँ। पब्लिकको आवश्यकता अनुसार, जनप्रतिनिधिले भने बमोजिम खोप केन्द्र थप्दै लगेका छौँ,’ अधिकारीले भने, ‘घरनजिक खोप केन्द्र हुँदा सहजै खोप लगाउन आएको देखियो। त्यही अभियानमा अहिले हामी छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .