दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमाना चीनसँग जोडिएको छ। गाउँमा मोबाइलको नेटवर्क आउँदैन। बाहिरी सम्पर्कको एउटै सहारा ल्यान्डलाइन टेलिफोन हो। गाउँपालिका केन्द्र सिङ्गटीबाट त्यहाँ पुग्न १८–१९ घण्टा पैदल हिँड्नु पर्छ।
सो स्थानको जनगणना गर्ने जिम्मा स्नातक अध्ययनरत दोलखाकै नुतन बुढाथोकीले पाएका थिए। ३० परिवारको जनगणना गरेका उनले यसका लागि दुई रात जंगलमै बास बस्नुपर्यो। उनलाई दुई दिन जान, दुई दिन फर्कन र दुई दिन जनगणना गर्न लागेको थियो।
नुतन ४–५ महिनाअघि पनि गुम्बा निर्माणको कामले लाप्ची पुगिसकेका थिए। त्यसैले उनलाई बाटोको अप्ठेरो, जनावरको डर, उकालो बाटो र थकाइको राम्रै अनुभव थियो। सोहीकारण सुरुमा उनले नजिकै सजिलो ठाउँमा पारिदिन अनुरोध गरेका थिए।
तर, जनगणना कार्यालयल नजिकका ठाउँमा गणक भरिभराउ भइसकेको बतायो। र उनको भागमा लाप्ची नै पर्यो। त्यसमाथि दोब्बर भत्ता दिउँला भनेर फकाएपछि नुतन जान तयार भए।
त्यही मौकामा गाउँपालिकाले लाप्चीमा एकीकृत सेवा दिने योजना बनायो। त्यसैले खोप लगाउने स्वास्थ्यकर्मी, भत्ता वितरक र गणक गरी ८ जनाको टोली कात्तिक २४ गते बिहान ६ बजे नै सिङ्गटीबाट त्यसतर्फ लाग्यो।
सिङ्गटीबाट लामाबगरसम्म साढे २ घण्टा सहजै बसमा पुगियो। त्यहाँबाट तामाकोसी डुङ्गामा पार गरेपछि करिब १८–१९ घण्टा उनीहरुले कठिन यात्रा गरे।
‘सबै जंगलै जंगलको बाटो हो। दुई ठाउँमा पहिरो गएर बाटै थिएन,’ नुतनले सुनाए, ‘झाडी पन्छाउँदै, पछाडिको साथीको हात समात्दै अघि बढ्नुपर्थ्यो। त्यहाँबाट खसियो भने सिधै तामाकोसीमा झरिन्थ्यो। एकजना सर त झण्डै खस्नुभयो। हामीले हात समातेर उहाँलाई माथि तान्दै दुर्घटना हुनबाट जोगायौँ।’
लामाबगरबाट जंगलैजंगलको बाटो हिँडेर ६ घण्टामा उनीहरु लुङ्नाम भन्ने ठाउँ पुगे। त्यसरात उनीहरु त्यही जंगलमा बास बसे।
‘एकदुई चौँरीगोठ थिए। सबैतिर जंगलैजंगल थियो। हामीले त्यहीँ रात बितायौँ,’ नुतनले भने, ‘चिसो पनि त्यत्तिकै थियो। जनावरको पनि त्यस्तै डर हुन्थ्यो।’
नुतनका अनुसार डाँडैडाँडा हिँड्दा उनीहरुले पारिपट्टि भालु देखेका थिए। भोलिपल्ट बिहान उठेर उनीहरुले माथि रहेको गाउँमा १४ घरधुरीको जनगणना गरेका थिए। उक्त काम सकिएपछि दिउँसो खान खाएर उनी लाप्चीका लागि हिँडे। ६ घण्टाको जंगलैजंगल भिरालो बाटो हिडेपछि राति ७–८ बजेतिर उनीहरु गाउँबाट केही वरको गुम्बामा पुगे। त्यो रात पनि उनीहरुले गुम्बामा बिताए।
‘लाप्ची एकदमै दुर्गम हिमाली क्षेत्र हो। चीनको बोर्डरसँगै जोडिएको छ,’ नुतनले भने, ‘त्यहाँ मान्छेले नेपाली भाषा नै बुझ्दैनन्। काठमाडौँबाट आएको नानी र एकजना नेपाली बोल्ने स्थानीयलाई लिएर हामीले जनगणना सम्पन्न गराएका थियौं।’
लाप्चीमा भएका दुई गाउँमा ३० घर थिए। २४ गते हिँडेका उनीहरुले २७ र २८ जना गाउँ पुगेर बल्ल जनगणना गराए र २९ गते त्यहाँबाट फर्किए।
‘फर्किंदा ओरालो बाटो पर्ने भएकाले झनै अप्ठेरो भयो। गलेर हिँड्नै नसक्ने अवस्था भएको थियो,’ नुतन भन्छन्, ‘३० घरको जनगणनाका लागि हामीले ६ दिन कष्टकर संघर्ष गर्यौँ।’
यत्रो दुःख गरेर काम सकेर फर्केपछि भने जनगणना कार्यालयका कारण उनको चित्त दुख्यो। उनलाई सुरुमा भनेअनुसार दोब्बर भत्ता दिएन कार्यालयले। कम घरपरिवार भएकाले दोब्बर भत्ता दिन नसक्ने बताएपछि उनीले झुक्याइएको महसुस गरेका छन्।
‘सुरुमा दुर्गम भएकाले सरहरुले नै दोब्बर भत्ता हुन्छ भनेपछि म त्यहाँ जान तयार भएको हुँ,’ उनले प्रश्न गर्दै भने, ‘त्यत्रो कष्टकर यात्रा र काम सम्पन्न गरेर आएपछि अहिले हुँदैन भन्छन्। नदिने भए सुरुमै हाकिमहरूले किन गफ दिनुपर्ने?’
भिडिओ
Shares
प्रतिक्रिया