ad ad

समाज


बुधबारदेखि सर्वोच्चमा गोलाप्रथा, यसरी गठन हुन्छ इजलास

बुधबारदेखि सर्वोच्चमा गोलाप्रथा, यसरी गठन हुन्छ इजलास

उजिर कार्की
मंसिर १४, २०७८ मंगलबार २१:३६, काठमाडौँ

सर्वोच्च अदालतमा बुधबारदेखि गोलाप्रथा लागू हुने भएको छ। फुलकोर्टको निर्णयपछि सर्वोच्च अदालत नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भइसकेको छ। 

यससँगै बुधबारदेखि प्रधानन्यायाधीशले इजलास गठन गर्ने र मुद्दाको पेसी तोक्ने व्यवस्था पूर्ण रुपमा अन्त्य हुनेछ। यसअघि कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पार्ने भनेर प्रधानन्यायाधीशले तोक्ने काम हुन्थ्यो। 

गोलाप्रथा सुरु भएसँगै अब प्रधानन्यायाधीशको यो अधिकार कटौती हुनेछ। अदालतका विकृति र सुधारका लागि गर्नुपर्ने प्रयास अध्ययन गर्न न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति बनाइएको थियो। उक्त समितिले स्वचालित पेसी व्यवस्थापन लागू गर्न सुझाव दिएको थियो। तर स्वचालित प्रणाली सञ्चालन गर्न समय लाग्ने भएकाले तत्काल गोलाप्रथा सुरु गर्ने निर्णय फुलकोर्टले गरेको हो।

गोलाप्रथा सुरु गर्न न्यायाधीश मीरा खड्का नेतृत्वको समितिले कार्यविधि तयार गरेको थियो। सोही कार्यविधिअनुसार अब इजलास गठन र मुद्दाको सुनुवाइ हुनेछ। 

प्रधानन्यायाधीशले स्वार्थअनुसार पेसी तोकेको र मुद्दा प्रभावित गरेको भन्दै कानुन व्यवसायी र सर्वोच्चकै न्यायाधीशहरुले समेत आपत्ति जनाउँदै आएका थिए। चौतर्फी आलोचना र अध्ययनको निष्कर्षअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पनि गोलाप्रथा लागू गर्न तयार भए। के कसरी गर्ने भन्ने सम्पूर्ण जिम्मा नै उनले न्यायाधीशहरुलाई दिएका थिए। 

गत कात्तिक ७ गतेबाट प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरु पनि गोलाप्रथा लागू हुने भएपछि इजलास फर्किन तयार भएका थिए। यसबीचमा उनीहरुले नियमित मुद्दामा सुनुवाइ गरेका छैनन्। गोलाप्रथा सुरु भएसँगै सबै न्यायाधीशले सबै मुद्दाको सुनुवाइ थाल्ने निर्णय गरिसकेका छन्। 

बुधबारबाट पेसी सर्वोच्च लयमा फर्किंदैछ। यता प्रधानन्यायाधीशलाई भने कानुन व्यवसायी र न्यायाधीशहरुले इजलासमा स्वीकार गरेका छैनन्। प्रधानन्यायाधीश राणा कोराना संक्रमणका कारण अस्पतालमा छन्। उनी गोलाप्रथा सुरु गर्दा सोही कारण सहभागी हुने छैनन्। 

गोलाप्रथाले पेसी व्यवस्थापनलाई पारदर्शी र विश्वासनीय बनाउने जानकारहरु बताउँछन्। 

यसरी तयार हुन्छ मुद्दाको पेसी सूची 
सम्बन्धित फाँटवालाले मुद्दाको सुनुवाइका लागि पेसी तोक्नेछन्। पेसी तोक्दा मुद्दाको प्रकृति, दर्ता मिति, कार्यबोझ, प्राथमिकता समेतलाई विचार गरी मुद्दा महाशाखाबाट निर्धारित पेसी संख्याका आधारमा तोकिने छ। मुद्दाको प्राथमिकता र दर्ताक्रमको आधारमा प्रत्येक मुद्दाको सुनुवाइको क्रम १ बाट क्रमशः २, ३, ४ हुँदै राखिने कार्यविधिमा उल्लेख छ। प्रत्येक समूहलाई क, ख, ग गरी वर्णमालाको व्यञ्जन अक्षरबाट संकेत गरिनेछ। पूर्ण इजलासको सूचीलाई पूर्ण १, पूर्ण २ गर्दै क्रमशः राखिनेछ। 

महाशाखाले मुख्य रजिस्ट्रारसमक्ष पेस गरेको मुद्दाको कुनै समूह एक दिनमा एक इजलासले हेर्न नसकिने मुद्दा भएमा मुख्य रजिस्ट्रारले मुद्दा संख्याको आधारमा जति समूह बनाउनु पर्ने हो त्यही अनुसार बनाउन सक्नेछन्। 

उपस्थित हुने न्यायाधीशको संख्याका आधारमा मुद्दाको समूह बनाइनेछ। एकल इजलासबाट सुनुवाइ हुने मुद्दा २० थानसम्म एउटै समूहमा र त्योभन्दा बढी भए समूह पनि बढाइनेछ। यसरी मुद्दाको विभाजन गर्दा एकल इजलासले हेर्ने र संयुक्त इजलासले हेर्ने मुद्दालाई छुट्टाछुट्टै समूहमा राखिनेछ। 

साप्ताहिक र पुरक पेसी सूचीबाट समूहकृत भएका मुद्दा कुन इजलासले हेर्ने भन्ने गोला प्रक्रियाबाट टुंगो लाग्नेछ। मुख्य रजिस्ट्रारले त्यो दिन गठन हुन सक्ने जम्मा इजलासको संख्या प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई जानकारी गराउनेछन्। 

यसरी गठन हुन्छ इजलास
प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार एवम् मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी र सूचना प्रविधिको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसीसूची निर्धारण गरिने कार्यविधिमा उल्लेख छ। 

साप्ताहिक र पूरक पेसीको सूचीमा भएका तथा भैपरी आउने मुद्दाको सुनुवाइका लागि गोला प्रक्रियाबाट बृहत् पूर्ण, पूर्ण, एकल इजलास र संयुक्त इजलास गठन हुनेछ। 

सबै एउटै रुप, रङ्ग, आकार र बनावटका गोटी प्रयोग गरिनेछ। सबै गोटीलाई एउटा अपारदर्शी थैलीमा राखिनेछ। त्यसपछि प्रधानन्यायाधीश र न्यायाधीशहरुले वरिष्ठताका आधारमा एक एक वटा गोटी तान्नेछन्। 

न्यायाधीशहरुले आफूले तानेको गोटी सबैलाई देखाएर संकेत अंक सुनाउने छन्। त्यसको अभिलेअ कम्प्युटरमा समेत राखिनेछ। संकेत अंक अनुसार इजलास गठन हुने गरी कम्प्युटर प्राविधिकले अपडेट गर्नेछन्। कारणवश कुनै इजलासमा सहभागी हुन नसक्ने अवस्थामा बाहेक प्रधानन्यायाधीश वा न्यायाधीशहरु आफैँ गोला प्रक्रियामा सहभागी हुनेछन्। 

बृहत् पूर्ण इजलास, पूर्ण इजलास, एकल इजलास र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिने र यस प्रयोजनका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था गरिनेछ। 

पूर्ण इजलास गठन गर्दा त्यो दिन उपस्थित भएका न्यायाधीशको संख्या जति नै गोटी थैलीमा राखिनेछ। जस्तो कि, १८ जना न्यायाधीश उपस्थित हुने दिन १ देखि १८ अंकसम्मका गोटी रहनेछन्। अनि उपस्थित न्यायाधीशले वरिष्ठताका आधारमा गोटी तान्नेछन्। 

बृहत् पूर्ण इजलास गठन गर्दा जति सदस्यीय इजलास गठन गर्ने हो १ देखि त्यही अंकसम्म पर्ने न्यायाधीशको इजलास गठन हुनेछ। एउटा मात्र पूर्ण इजलास गठन गर्दा १ देखि ३ अंकसम्म गोटी तान्ने न्यायाधीशको इजलास गठन हुनेछ। दुई वटा गठन हुने भएमा ४ देखि ६ अंकसम्म तान्नेको अर्को पूर्ण इजलास गठन हुनेछ। 

बृहतपूर्ण इजलास गठन गर्नुपर्दा १ देखि ५ अंक तान्ने न्यायाधीशको बृहत् पूर्ण इजलास र बाँकी ६, ७ र ८ को पूर्ण इजलास गठन हुनेछ। एकभन्दा बढी संख्यामा पूर्ण इजलास गठन गर्नु पर्ने भएमा यही क्रमले हुनेछ।

पूर्ण इजलास भएको दिन एकल इजलास गठन गर्दा पहिले पूर्ण इजलासका लागि गोला तानिसकेपछि एकल न्यायाधीशको गोला तानिनेछ। पूर्ण इजलास नभएको दिन सुरुमा एकल इजलास र पछि संयुक्त इजलास गठन हुनेछ।

बृहत् पूर्ण र पूर्ण इजलासमा परिसकेका न्यायाधीशबाहेकका न्यायाधीशले मात्रै एकल इजलासका लागि गोला तान्नेछन्। एकल इजलास गठन गर्दा जतिवटा इजलास गठन गर्ने हो, त्यसलाई अ, आ अंकित गोटी राखिनेछ। बाँकी खालि गोटी रहनेछन्। तर सुरुमा संयुक्त इजलासका लागि जोर संख्यामा न्यायाधीश रहने गरी एकल इजलास एउटा वा दुईवटा गठन गर्ने भन्ने टुंगो गरिनेछ। 

एउटा मात्र एकल इजलास गठन हुने दिन पहिलो गोटी अ वा आ आउँछ सोही समूहको मुद्दा सुनुवाइ गरेर अर्को समूहको मुद्दा स्थगित गरिनेछ। 

संयुक्त इजलास गठन अन्तिममा हुनेछ। बृहत् पूर्ण, पूर्ण र एकल इजलास गठन भइसकेपछि उपलब्ध जोर संख्याका न्यायाधीश मध्ये वरिष्ठताका क्रममा स्थायी इजलास पाउन सक्ने न्यायाधीशको संख्या यकिन गरेर संयुक्त इजलास गठन कार्य सुरु गरिनेछ। 

संयुक्त इजलास गठन गर्दा न्यायाधीशहरुको वरिष्ठताको क्रमसंख्या जनाउने संख्या अंकित गोटी थैलीमा राखिनेछ। जोर गते भए स्थायी इजलास नपाउने न्यायाधीशको वरिष्ठता अंकित गोटी थैलीमा राखिनेछ र इजलास पाउने न्यायाधीशले गोटी तान्नेछन्। बिजोर गते भए स्थायी इजलास पाउने न्यायाधीशको वरिष्ठता अंकित गोटी थैलीमा राखिनेछ र स्थायी इजलास नपाउने न्यायाधीशले गोटी तान्नेछन्। 

यसरी गोटी तान्दा जुन संख्या अंकित गोटी पर्छ, ती न्यायाधीशको उनैसँग संयुक्त इजलास गठन हुनेछ। इजलास गठन भइसकेपछि इजलासका एक न्यायाधीशले सुनुवाइ गरिने मुद्दाको समूहको गोला तान्नु पर्नेछ। 

मुद्दा संख्या जति छन्, त्यति नै गोटी राखिनेछ। गोला तान्दा जुन गोटी आउँछ त्यो इजलासले सोही समूहको मुद्दाको सुनुवाइ गर्नेछन्। इजलासभन्दा मुद्दाको समूह धेरै भएमा बाँकी रहेका मुद्दाको पेसी स्थिगित हुनेछ। इजलास कक्ष न्यायाधीशहरुको वरिष्ठता क्रमअनुसार निर्धारण हुनेछ।

तर, कुनै मुद्दा हेर्दाहेर्दैमा रहेमा हेर्दाहेर्दैको इजलासमा भएका न्यायाधीशहरु संयुक्त वा बृहत् जे हो, अर्को दिन पनि स्वतः गठन भएको मानिने छ। अर्को दिनको इजलास गठन गर्दा उनीहरुबाहेकले मात्रै गोला तान्नेछन्। 

निर्णय सुनाउने पेसी तोकिएको दिन इजलास गठन गर्दा सम्बन्धित न्यायाधीश फरक फरक इजलासमा परे पनि निर्णय सुनाउने मुद्दाको लागि मात्रै उनीहरु एउटै इजलासमा रहनेछन्।

दैनिक रुपमा भैपरी आउने मुद्दा तथा निवेदनहरु समूहको क वा अ जुन इजलासले तान्छ, त्यही इजलासले र उक्त इजलास स्थगित हुने भएमा ख वा आ समूहको मुद्दा तान्ने इजलासले सुनुवाइ गर्ने कार्यविधिमा उल्लेख छ। 

दैनीक पेसी सूची बिहान साढे १० बजेभित्र वेबसाइटमा प्रकाशित हुनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .