नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरो हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिवि शिक्षण अस्पतालमा अवस्थित फाइजर खोप वितरण केन्द्रको अवलोकन गरेका छन्।
विदेशमन्त्री लुले अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरण केन्द्रको अवलोकन गरेका हुन्। सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा उपस्थित थिए।
कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारले नेपाललाई कोभिड १९ विरूद्धको १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन र १ लाख ६२० डोज फाइजर खोप उपलब्ध गराइसकेको छ।
सहायक विदेशमन्त्री लु बुधबार बेलुकी नेपाल आइपुगेका हुन्।
‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरो हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपालमा हार्दिक स्वागत छ', नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमा भनेको छ, 'नेपाल र अमेरिका बिचको द्वीपक्षीय कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ नजिकिँदै गर्दा हाम्रो इतिहास, साझा लोकतान्त्रिक मूल्यमान्यता र जनस्तरमै स्थापित सम्बन्धका कारण नेपाल निरन्तर रूपमा अमेरिकाको महत्त्वपूर्ण साझेदार रहँदै आएको छ।’


Shares

प्रतिक्रिया