भारतको उत्तर प्रदेश पिलिभितमा कक्षा १२ मा अध्ययनरत छात्रालाई सामूहिक बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँस्थित बरखेडा थाना इलाकामा ट्युसन पढ्न निस्केकी छात्रालाई खेतमा लगी मुखमा कपडा कोचेर बलात्कार गरिएको हो।
त्यसपछि बलात्कारीले घटना लुकाउन किशाेरीकाे घाँटी थिचेर हत्या गरेका थिए। शनिबार राति अबेर उनको शव उनकै घरदेखि ५ सय मिटर पर खेतमा फेला परेको हो।
उक्त घटनामा प्रहरीले लापरबाही गरेको आरोप मृतकको परिवारले लगाएका छन्।
छात्राको शरीरमा धेरै ठाउँमा चोटहरू थिए। शव आसपास रगतका टाटा थिए। खेतदेखि केही दूरीमा उनका किताब, ब्याग, साइकल र जुत्ता भेटिए। प्रहरीले घटनास्थलबाट बियरका चारवटा बोतल, खानेकुरा र चुरोटका टुक्रा फेला परेको जनाएको छ। घटनास्थलको प्रकृति हेर्दा बलात्कार/हत्यामा २ जनाभन्दा बढी व्यक्ति संलग्न भएको आशंका गरिएको छ।
मृतक छात्राका पिताका अनुसार १६ वर्षीया उनकी छोरी शनिबार बिहान स्कुलनजिक ट्युसन पढ्न भनेर घरबाट निस्केकी थिइन्, त्यस दिन निकै ढिलासम्म उनी फर्किनन्। उनले सोचे– ट्युसन पढेर सीधै स्कुल गइन् क्यार।
तर साँझ ६ बजिसक्दा पनि उनी घर नफर्केपछि उनका बुवा चिन्तामा परे। यसपछि उनले प्रहरीलाई जानकारी गराए अपहरणको आशंका गर्दै। प्रहरीले अपहरणको उजुरी त दर्ता गर्यो, तर आइतबार बिहानसम्म खोजी नगरेको मृतकका पिताको आरोप छ।
Shares

प्रतिक्रिया