३५ वर्षीय लक्ष्मण सिंह नायक भीमदत्त नगरपालिका–९ मसेट्टीमा बस्छन्। उनको ४ सदस्यीय सानो परिवार छ।
महाकाली नदीको छेउमै रहेको सानो झुप्रोमा उनकी श्रीमती शान्ति, ८ वर्षीय छोरा अजयसिंह र ५ वर्षीय छोरा सुरज सिंह बस्छन्।
उनले यस वर्षदेखि कुखुरा पालन सुरु गरेका थिए। घरनजिकै कुखुराको खोर बनाए। त्यहाँ २ हजार ब्रोइलर र ४० घरेलु कुखुरा हाले। त्यहीँ ठाउँमा गाईवस्तु बाँध्ने गोठ पनि बनाए।
त्यसैले एक महिनायता लक्ष्मणको परिवार घरमा खाना खाइसकेपछि हरेक साँझ कुखुरा खोर कुर्न जान्थे, त्यहीँ सुत्थे।
गत सोमबार (१ कात्तिक) मा पनि उनीहरू त्यसैगरी कुखुरा खोर कुर्न गए। लक्ष्मण, उनकी श्रीमती, छोराहरूसँगै त्यस दिन छिमेकी दीर्घमती खड्का पनि कुखुराको खोरमा गइन्।
अलिअलि पानी परिरहेको थियो। खोरको छेउमै रहेको महाकाली नदीमा पनि पानीको बहाव बढ्दै थियो।
रात छिपिँदै गयो। त्यसपछि कुखुरालाई चारो, पानी दिएर उनीहरू सुते। एकछिनपछि त महाकाली नदी बेजोडले सुसाउन थाल्यो। नदीको आवाजले राति करिब साढे १२ बजे लक्ष्मणकी श्रीमतीको निद्रा खुल्यो। बाहिर निस्केर हेर्दा त महाकाली उर्लेर गाउँतिर सोझिसकेको रहेछ।
त्यसपछि उनले सुतेका श्रीमान्, छिमेकी दीर्घमती र छोराछोरीलाई उठाए। र, ज्यान जोगाउन सुरक्षित ठाउँको खोजीमा लागे।
‘हामीले महाकाली गाउँ पस्ला भनेर कहिल्यै सोचेका थिएनौं। अहिलेसम्म कहिल्यै त्यस्तो भएको पनि थिएन’, लक्ष्मणले त्यो रात सम्झिँदै नेपालखबरसँग भने, ‘पछि त एकाएक महाकाली उर्लेर हामीहरूलाई घेरिहाल्यो।’
उर्लिंदो महाकालीमा बिताएका त्रासदीपूर्ण १८ घण्टा कहिल्यै बिर्सिन सक्दैनन्, लक्ष्मण। अहिले पनि उनको मस्तिष्कमा खेल्ने गर्छ– थोरै मात्र ढिला भएको भए!
महाकालीको बाढी खोरलाई बीचमा पारेर दुवैतिरबाट बग्न थाल्यो।
लक्ष्मण र उनकी श्रीमती बच्चाहरूलाई काखी च्यापेर सुरक्षित स्थानको खोजी गरिरहेका थिए। आकाशबाट पानी दर्किरहेकै थियो। महाकालीको भेल गाउँतर्फ अघि बढ्दै थियो।
उनीहरू बच्चालाई काँधमा राखेर ज्यान जोगाउन कहिले यता, कहिले उता गरिरहेका थिए।
‘महाकालीमा पानी बढिरहेको थियो। हाम्रो कम्मरसम्म पानी पुगेको थियो। बच्चाहरूलाई काँधमा राखेर सुरक्षित स्थान खोज्यौं, तर कही कतै त्यस्तो ठाउँ पाइएन’, लक्ष्मणले सुनाए, ‘जान सकिने अवस्था नै थिएन, त्यहीँ नजिकै एउटा ठूलो ढुंगा थियो। त्यसैमा बसेर रात काट्यौं।’
मध्यराति बाढीले घेरिएका लक्ष्मणले ब्रह्मदेवमा रहेका दाइ र मसेट्टीकै कमल खड्कालाई फोन गरेर घटनाबारे जानकारी गराए। मंगलबार बिहान (कात्तिक २ गते) गते यो खबर यत्रतत्र हुँदै फैलियो।
बिहानै उद्धारका लागि जनपद र शसस्त्र प्रहरी पनि मसेट्टीतर्फ गयो। पानी परिरहेको र खोलामा पानीको बहाव बढिरहेकाले उनीहरू चाँडै त्यहाँ पुग्न सकेनन्।
निकै जोखिमपूर्ण रहेको कालीगाडलाई तरेर उनीहरू मसेट्टी पुगे। तर महाकालीको पानीको चाप उच्च रहेकाले उनीहरूले उद्धार गर्न सकेनन्।
पछि नेपाली सेनाको हेलिकोप्टर टोलीलाई खबर गरिएको थियो। प्रतिकूल मौसमका कारण सेनाको हेलिकोप्टर पनि बिहानै सुर्खेतबाट उड्न सकेन। बेलुका ५ बजेतिर मात्रै हेलिकोप्टर उद्धारका लागि मसेट्टी पुगेको थियो।
त्यतिबेलासम्म महाकालीले घेरिएका लक्ष्मणसहितका ५ जनाको बेहाल भइसकेको थियो। उर्लिंदो महाकालीमा ढुंगामा बसेर ज्यान जोगाएका थिए, उनीहरूले। उद्धारमा ढिलाइ भइरहँदा उनीहरूले बाँच्ने आशा गुमाइरहेका थिए।
‘बिहानसम्म बाँच्ने आशामै थियौं। पछि त महाकाली बढेर गाउँ पूरै जलमग्न भइसकेको थियो। यताउता जान सकिने अवस्था थिएन। रुखहरूमा बसे टुट्ने डर थियो’, लक्ष्मणले भने, ‘ढुंगामै बसेका थियौं। उद्धारका लागि कोही नआउँदा पछि त बाँच्ने आशा नै मारिसकेका थियौं।’
बाढीमा फसेको फोनमा खबर गरेपछि त्यहाँको नेटवर्कले पनि काम गर्न छाड्यो। रातिदेखि उद्धारको पर्खाइमा रहेका लक्ष्मणहरूले ढुंगामा एक घण्टा, दुई घण्टा गर्दै १८ घण्टा बिताए। अन्ततः बेलुका ५ बजेतिर सेनाको हेलिकोप्टरले उनीहरूको सकुशल उद्धार गरेको थियो।
‘बाचौला सोचेकै थिएनौं। सेनाको हेलिकोप्टरले हाम्रो ज्यान जोगाएको हो। नभए अहिले महाकालीमा बिलाइसकेका हुन्थ्यौं’, दीर्घमती खड्काले नेपालखबरसँग भनिन्, ‘ढुंगामा बसेर भगवानको नाम जप्दै थियौं। १८ घण्टापछि हेलिकोप्टरबाट उद्धार गरियो।’
Shares

प्रतिक्रिया