ad ad

समाज


कोरोना खोपमा सफल सरकार

लक्ष्यअनुसार एक तिहाइलाई लगाइयो
कोरोना खोपमा सफल सरकार

फाइल तस्बिर


यज्ञराज जोशी
कात्तिक ६, २०७८ शनिबार १७:३३, काठमाडौँ

सरकारले लक्ष्यअनुसार एकतिहाइ लक्षित जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउन सफल भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तभित्र लक्षित समूहको ३२.६ प्रतिशतलाई दुवै मात्रा खोप लगाइसकेको जनाएको छ। 

‘१८ वर्षभन्दा माथिकाले ३२.६ प्रतिशतभन्दा बढीले पूरा डोज लगाइसक्नुभयो,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘पहिलो मात्रा ४३ प्रतिशतले लगाएकाले समग्रमा दुईतिहाइलाई लगाइसकियो भन्दा हुन्छ। कोरोनाविरुद्धको लडाइँमा सुखद कुरो हो।’

मन्त्रालयको तथ्यांकअनुसार १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजारलाई खोप लगाइने उल्लेख छ। हालसम्म १ करोड ८८ लाख डोज नेपाल भित्रिएको छ।

जसमा १ करोड ५० लाख डोज खोप लगाइसकिएको छ। पूर्ण मात्रा खोप लगाउने ६४ लाख ८९ हजार र कम्तीमा एक डोज खोप लगाउने ८५ लाख ६८ हजार रहेका छन्। 

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार असार २९ मा गठन भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने रहेको बताएका थिए।

यसका लागि खोपको पर्याप्त व्यवस्था गर्ने पनि उनले बचन दिएका थिए। तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि असोजसम्म एकतिहाइ जनसंख्यालाई खोप लगाइसक्ने बताउँदै आएका थिए। 

सरकार गठनको एक सय दिन पनि पुगेको अवसरमा लक्ष्यअनुसार खोप लगाउनुलाई सरकारले उपलब्धि मानेको छ। 

लक्ष्यअनुसार खोप लगाउन सक्दा कोरोना रोकथाम र नियन्त्रणमा समेत उल्लेख्य प्रगति भएको पौडेलले बताए।

उनका अनुसार मनाङ, मुस्ताङ र पूर्व रुकुममा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ। थप १० हिमाली जिल्लालाई पनि पूर्ण खोपयुक्त बनाउने लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको उनले बताए।

नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको थियो। 

त्यसको एक वर्षपछि सरकारले २०७७ माघ १४ गतेबाट खोप लगाउन सुरु गरेको हो। सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ४० वर्षमाथिका प्रायः सबैलाई खोप दिइन थालिएको छ। 

सरकारले यही असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तभित्रमा दुईतिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाइ सक्ने लक्ष्य राखेको थियो। 

विज्ञका कुरा 

जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षितले सरकारले लक्ष्यअनुरुप एकतिहाइ जनसंख्यामा खोप पुर्याउनु राम्रो भए पनि यही जाडो अगाडि ५० प्रतिशत जनसंख्यालाई खोप दिइसक्नु पर्ने बताए। 

‘एकतिहाइ जनसंख्यामा खोप पुग्नु राम्रो कुरो हो। कम्तीमा ६० प्रतिशतलाई लगाउनैपर्छ,’ डा. दीक्षितले भने, ‘जाडोमा अरु रोगका बिरामी पनि हुन्छन्। कोरोनाले बढी च्याप्न सक्छ। त्यसैले पुसअघि नै ५० प्रतिशतलाई खोप दिने लक्ष्यसहित अगाडि बढ्नुपर्छ।’

उनले आए जति खोपलाई गाउँगाउँ वडावडामा लैजाने भन्दा धेरै स्वास्थ्यकर्मी परिचालन गर्दै खोप केन्द्रबाट चाँडो लगाउने व्यवस्थापन मिलाउन सुझाव दिए।

२ करोड ६१ लाख खोप आउने पक्का

स्वास्थ्य मन्त्रालयका अनुसार थप २ करोड ६१ लाख खोप आउने तय भइसकेको छ। उक्त खोप तीन महिनाभित्र आइसक्ने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए। 

‘हामीलाई ५ करोड बढी खोप चाहिन्छ। २ करोड ६१ लाख थप खोप अबको बढीमा ३ महिनाभित्र आउनेछ,’ पौडेलले भने।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाउनेछ। मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्राको पैसा बुझाइसकेको उनले बताए। 

त्यसबाहेक नेपाल आउने तय भएको खोपमा चीनले भर्खरै घोषणा गरेको २० लाख, पुरानो घोषणा गरेको १६ लाख डोज खोप समेत रहेको छ।  

त्यसबाहेक गाभीको सहयोगमा खोप किन्ने र कोभ्याक्स सुविधामार्फत समेत खोप उपलब्ध हुने पौडेलले बताए। 

नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ। शनिबार ६ हजार ९३१ जनाको परीक्षण हुँदा ८ सय १७ जनामा संक्रमण देखिएको थियो। अहिले पनि नेपालमा १० हजार ५५९ सक्रिय संक्रमित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .