ad ad

समाज


कोहलपुर, गजल र हुकुम धड्कन!

कोहलपुर, गजल र हुकुम धड्कन!

समर्पण श्री
कात्तिक ६, २०७८ शनिबार १९:२२, काठमाडौँ

कोहलपुर र गजललाई सँगै जोडेर सम्झिने हो भने स्मृतिमा एउटा नाम पक्कै छुट्दैन, हुकुम धड्कन। 

गजलकार हुकुम धड्कन कोहलपुर बस्छन्। नेपालगञ्ज पुगेर विद्यार्थीमा अध्ययनको भोक जगाउनु उनको दैनिकी हो। यही दैनिकी भित्र कतै-कतै आफ्नो कवि हृदयलाई अटाउँछन् उनी। लेख्छन्, विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा सामेल गराइएको रहेको क्षण। साँझ घर फर्किएर रुमानी आकाश नियालिरहेको क्षण। 

२०६५ साल, किशोरकालीन उमेरको उत्तरार्द्धबाट उनले मासिक एक हजारमा पढाउन सुरु गरे। त्यतिबेला केही थान प्रेम, केही थान स्मृति र केही केही उत्साह बोकेर उनी साइकलमा स्कुलसम्म धाउँथे। एक घण्टाको अवधिमा के-के खेल्दो हो मनमा। उनी बीच बाटोमै साइकल रोक्थे, खल्तीमा लुकाइराखेको डायरी निकाल्थे र लेख्थे उद्वेलित भावनाका छिटा।  

‘कुन्नि! गजल बन्थ्यो बन्दैन थ्यो। तर बडो मजा आउँथ्यो,’ हुकुम सम्झिन्छन्। 

गजल लेखेको साँझ घर आएर फुरुङ्ग हुन्थे। हतारहतारले ऐनासामुन्ने उभिन्थे र आफैलाई हेरेर मक्ख पर्थे।

‘आहा, क्या लेखिएछ जस्तो पो लाग्थ्यो त्यो बेला,’ गजलको बाटो पक्रिन तम्सिएको चञ्चले युवकको हुटहुटी सुनाउँछन् उनी। 
०००
हुकुम एकदिन लेख्दालेख्दै रोए, सुँक्सुकाए। भक्कानिए। 

जा घाम यी चिसा नानीहरूलाई चिसै छाडेर जा
भोलि बिहान तलाईं पनि बालक हुनुपर्छ

मलाई छाडेर उनी यस्तो महलमा गइन्
जहाँ घाम फर्किन्छ भित्तामा ठक्कर खाएपछि

यसरी नै यो बस्ती सामु चिता सधैँ जलोस्
मर्न लागेका नानीहरूलाई सेक्न सजिलो हुन्छ

‘एकदिन मात्र होइन पटक-पटक रोएँ। किन रोएँ भने धेरै डुबेर रोएँ,’ हुकुम सुनाउँछन्। 

उनलाई लाग्छ, ‘पढ्नेले जे लेखिन्छ त्यो शब्दमात्र देख्छ। त्यसभित्र मान्छे कति चुँडिएर लेखेको छ? त्यो लेख्नेलाई मात्र थाहा हुन्छ।’ 

गजल लेख्न उनी व्यवस्थित डायरी राख्दैनथे। खाली पन्ना जहाँ भेट्थे, लेखिदिन्थे। त्यसरी लेखेर थुप्रै गजल हराएका छन् हुकुमले। 

२०७० सालतिर उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए। त्यतिबेला गोजीमा १० रुपैयाँ थियो। फुरेको एक शेर उनले त्यसैमा लेखिदिए-

मलाई यो युगभन्दा लामो आयु बाँच्नु छ 
घडीले मसँग समय साभार गरोस्

०००

हुकुमलाई गजलको क्षेत्रमा चिनायो संयुक्त गजल संग्रह ‘कैफियत’ले। जसमा उनका २० वटा गजल छापिएका थिए। त्यसैताका उनी वाचनका लागि पहिलो पटक काठमाडौं पुगे। त्यसपछि रेडियोहरूले अन्तर्वार्तामा बोलाए। केही मञ्चहरूमा विशेष सम्मानका साथ गजल वाचनका लागि आमन्त्रित गरिए। वाहवाही बढ्दै गयो। 

२०७४ मा उनी काठमाडौंको चर्चित गजल कार्यक्रम ‘मेहफिल’मा गजलकार संगीता थापासँगै उभिए। त्यसपछि त उनीसँग फोटो खिच्नेहरू झुम्मिए। अटोग्राफ लिनेहरूले आग्रह गरे। 

‘त्यतिबेला बल्ल लाग्यो मलाई- म गजलकार भएँ,’ उनी ठट्यौलो सुनिन्छन्। 

त्यतिबेला भने उनलाई कोहलपुरमा बसेर गजल साधना गर्ने साथीहरूलाई मनमनै धन्यवाद दिए। 

‘हामी समूहमा बसेर गजल सुनाउँथ्यौ, एकले अर्काको कमजोरी औंल्याउँथ्यौँ। त्यसले धेरै सुधार्न मद्दत गर्‍यो,’ उनी भन्छन्। 

कोहलपुरमा कपिल अञ्जानले नेतृत्वमा गजल वाचन कार्यक्रम हुन्थ्यो ०६७ सालतिर। 

त्यो कार्यक्रममा स्थापित गजलकारको गजल वाचन गर्थे। हुकुमलाई पनि सुन्न मन लाग्थ्यो। रेडियो सुन्थे र लेख्थे। त्यसपछि उनी कोहलपुरको सक्रिय गजल कार्यक्रमहरूमा सहभागी हुन थाले। त्यतिबेला हिन्दी गजल, सायरी अत्यधिक सुने पनि। 

‘धेरै गजल सुनिन्थ्यो, अनि आलोचनाका बीच गजल लेखिन्थ्यो, यसले खारिन मद्दत गर्‍यो,’ हुकुम सुनाउँछन्। 

एकदिन उनले एउटा गजल सुनाए कोहलपुरमा :

घाँटी सेरेर झोलामा बोकिन्छ टाउको
कुन दिन तराजुमा राखेर जोखिन्छ टाउको
अग्ला महल छन् र पो शिर उचालेर हिँड्छौ
आफू झुकेन भने दलिनमा ठोकिन्छ टाउको

यो गजलले त उनलाई साथीभाइको अथाह माया दियो। ‘क्या लेख्यौ हुकुम’ भन्दै धाप मार्न आए साथीभाइ। 

‘मेहफिल’मा उभिएपछि हुकुमको गजल लेखन केही समय त रोकियो। अहिले पहिलेजस्तो छिट्टै लेखिहाल्दैनन्। 

‘अब त लेख्नमा धेरै सतर्क हुनुपर्ने भयो। कस्तो गजल लेख्नुपर्छ भन्ने थाहा हुँदै आयो,’ हुकुम सुनाउँछन्। 

अहिले एउटा गजल पुरा गर्न कहिलेकाहीँ वर्षदिन पनि लाग्न सक्छ।  

यो गाउँबाट बादलका थुम्का तल देखिन्छन्
तर हामीलाई अग्लो हुनुको अहम् भएन

०००

हुकुमको आँखाबाट हेर्दा कोहलपुर पहिले गजलमय थियो। तर, अहिले?

‘अहिले छैन। चार वर्षयता कोमामा गयो। सबै यताउता लागे,’ उनी सुनाउँछन्। 

कतिपय साथीले गजल लेखनबाट सन्यास लिए। कोही व्यवसायतिर लागे। कोही अन्य विधामा रमाउन थाले। गजल राम्रा लेख्ने साथीहरू पनि रमाइरहन नसक्नुको कारण अर्थसँग जोडिन्छ। 

गजल लेखेर पारिश्रमिक पाउने अवस्था छैन। पारिश्रमिक नहुँदा कहिलेसम्म गजल सुनाउँदै मात्र हिँड्ने। 

‘गजलको महत्व यसले घटाउँदै लैजान्छ, कम्तीमा पारिश्रमिक लिने-दिने अभ्यास भयो भने गजलकारहरू उत्साहित हुन्छन्, राम्रा गजल जन्मिन सक्छन्,’ हुकुम सुनाउँछन्। 

यद्यपि, हुकुम आफ्नो पेसासँगै रमाइरहेका छन् गजल साधनामा। उनी लेखिरहन्छन् अनवरत। ‘गजल लेखेर के पाउने’ भन्ने प्रश्नमा उनीसँग एउटै जवाफ छ- सन्तुष्टि!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .