बेमौसमी वर्षाको कारण प्रदेश १ मा तीन दिनको अवधिमा ६२ जनाको मृत्यु भएको छ।
बाढी र पहिरोमा परेर प्रदेश १ का विभिन्न जिल्लामा गरी २० जना घाइते भएका र १३ जना बेपता भएका प्रहरीले जनाएको छ। तीन दिनसम्म परेको अविरल वर्षाको कारण सयौँ घर डुवानमा परेका छन्।
प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ। पाँचथर जिल्लामा मात्रै २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका छन्।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु भएको हो।
यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन्। इलाममा पहिरोमा परेर १ जना बेपत्ता भएका छन्।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका १२ मा बाढीमा परेर १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसास राई गाउँपालिका ६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १–१ जनाले ज्यान गुमाएका छन्।
बेमौसमी झरीका कारण प्रदेश १ को तराई क्षेत्रमा सयौँ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिस बिस्थापित भएका छन्। डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर बिस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको छ।
हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ती उद्धार कार्यमा परिचालन भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया