समाज


अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही सुरु हुन्छ : सिके राउत

अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही सुरु हुन्छ : सिके राउत

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १०:०, काठमाडौँ

जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने चेतावनी दिएको छ। 

बिहीबार जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी हिलो छ्यापेर जनकपुर घुमाएका थिए। 

कर्मचारीमाथि भएको दुव्र्यवहारको चौतर्फी बिरोध भइरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले आज (शुक्रबार) बिहान समाजिक संजालमार्फत् अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने धम्की दिएका हुन्। 

राउतले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘जनतामा धेरै डिमान्ड छ, मेयरको। मेयर मात्रै हैन, सुध्रेन भने सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुनेछ।’

धेर्यता राख्दै अगामी कारबाही हेर्दै जान राउतले उल्लेख गरेका छन्। उनले हिजो जनताले कारबाहीको लागि जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको उनको दाबी छ। ‘हिजो जनताले मेयरलाई नै खोजेका थिए। तर मेयरले लुकेर ज्यान जोगाए,’ उनले उल्लेख गरका छन्। 

बिहीबार दिउँसो जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरस्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई कार्यालयबाट तानेर कुटपिट गर्दै अर्धनग्न बनाएर जनकपुर बजार घुमाइ अमानवीय व्यवहार गरेका थिए। 

यस्तै जनकारबाही जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहमाथि पनि गर्ने भन्दै उक्त पार्टीका कार्यकर्ता मेयरको कार्यकक्षमासमेत पुगेका थिए। त्यतिबेला मेयर साहले कार्यालयबाट भागेर ज्यान जोगाएको राउतको भनाई छ। 

उनले पहिले गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेश गठबन्धनका संयोजक भएको र अहिले आफु् जनमत पार्टीको संयोजक भएको उल्लेख गरेका छन्।  

‘जनमत पार्टी स्वतन्त्र मधेश गठबन्धन होइन। स्वतन्त्र मधेश गठबन्धनका आफ्नै लक्ष्य र सिद्धान्त थिए। जनमत पार्टीको आफ्नै छ,’ उनले लेखेका छन् , ‘जनमत पार्टी अरू पार्टी जस्तै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक पार्टी हो।’

यो पनि

खानेपानी कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर बजार घुमाइयो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad