काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’का २५ जुवाडे मध्येका ६ जनाको भाइटिका हिरासतमै हुने भएको छ। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन हालेर हिरासत मुक्त हुने उनीहरुको चाहना समय अभावले तुहिएको छ।
स्रोतका अनुसार आइतबार जुवाडेहरू बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो।
शनिबार राति महाराजगन्जबाट पक्राउ परेका मध्ये ६ जुवाडेलाई सोमबार उपस्थित गराउन सर्वोच्चले आइतबारै महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त महाराजगञ्जका नाममा आदेश गरेको थियो।
वृत्त महाराजगञ्जले उनीहरुलाई २४ घण्टा नबित्दै अदालतमा उपस्थित गराएको थियो। तर बिदाका कारण अदालतले ११ बजेदेखि ३ बजेसम्म मात्र कारवाही चलाउने भन्दै फिर्ता गरेको थियो। उच्च स्रोतका अनुसार बिचौलिया मार्फत आर्थिक प्रलोभनमा सर्वोच्च परेको सूचना चुहिएपछि पछि हटेको हो।
‘हामीले २२ घण्टामै आवश्यक कागजपत्र सहित अदालतमा उपस्थित गराएका थियौं,’ महाराजगञ्ज वृत्त प्रमुख डिएसपी उमेश लम्सालले भने ‘अदालतले बुधबार ११ बजे हाजिर गराउन भनेको छ।’
वृत्तले शनिबार राती छापा मारेर महाराजगञ्ज पिपलमार्गमा रहेको विक्रम गौतमको घरबाट २५ जना जुवाडे पक्राउ गरेको थियो। पक्राउ परेका २५ जुवाडेहरुमा क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटा सहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा हुन्।
महाराजगन्जको साम्बाला होटेलपछाडि सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

प्रतिक्रिया