ad ad

समाज


के हो स्क्रब टाइफस? यो रोगबाट कसरी बच्ने?

के हो स्क्रब टाइफस? यो रोगबाट कसरी बच्ने?

नेपालखबर
असोज ४, २०७८ सोमबार ७:५१, काठमाडौँ

पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ।
 

यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन्। 

गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए। विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिने यो रोगका बिरामी यस वर्ष धेरै देखिएका छन्। ‘वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म स्क्रब टाइफसका २५ जनामा सङ्क्रमित पुष्टि भइसकेको छ,’ श्रेष्ठले भने।
 

लामो समयसम्म ज्वारो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले स्क्रब टाइफस आशङ्कामा परीक्षण गराउँदा उनीहरूमा सङ्क्रमण पुष्टी भएको थियो। स्वास्थ्य चौकीमा नै आएर उपचार गर्दासमेत बिरामीमा ज्वरो धेरै लामो समयमा निको नभएपछि स्वास्थ्य शाखाले स्क्रब टाइफसको किटको प्रयोग गरी परीक्षण गर्दा बिरामीमा संक्रमण देखिएको हो।
 
सङ्क्रमण पुष्टी भएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए। 

पछिल्लो केही साता आरुघाट प्राथामिक स्वास्थ्यकेन्द्रमा ज्वरोका बिरामी बढ्न थालेको केन्द्रले जनाएको छ । ज्वरो आउने र निको नहुने समस्या बढी देखिएका बिरामीमा स्क्रब टाइफसको किट प्रयोग गरी परीक्षण भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्।

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी देखिने गरेका छन्। ‘पशुचौपायासँग घुलमिल हुँदा किर्नाले टोक्ने र त्यसपछि स्क्रब टाइफसको समस्या देखिने गरेको छ,’ श्रेष्ठले भने, ‘स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ।’

कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण 
नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जानकारी गराएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस भएको र त्यसप्रति सचेत रहनसमेत अनुरोध गरेको छ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ। 

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो। स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सो लगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन्।

के हो ‘स्क्रब टाइफस’?
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो। समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुन्छ। तर, समयमा नै यसको उपचार नगरे यसले गम्भीर रुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउनुपर्छ। शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्नेमा विज्ञले जोड दिएका छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .