ad ad

समाज


‘बुटवलमा २० वर्षदेखि गुमेको कांग्रेसको साख फर्काउने मुख्य एजेण्डा’

‘बुटवलमा २० वर्षदेखि गुमेको कांग्रेसको साख फर्काउने मुख्य एजेण्डा’

प्रजापाल गिरि, बिमलराज भट्टराई र प्रकाश राना


सुदीप भण्डारी
भदौ २७, २०७८ आइतबार १६:३६, काठमाडौँ

रुपन्देहीका १६ वटा स्थानीय तहका सबै १ सय ५५ वटा वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ। जिल्लाका ८० प्रतिशत जति वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चुनिएका छन्।

वडाको अधिवेशन सकिएपछि गाउँ/नगर अधिवेशनले कार्यकर्ताको ध्यान खिचेको थियो। शुक्रबारसम्म तातेको गाउँ नगरको चुनावी राप अधिवेशन झण्डै २ हप्ता पर धकेलिएपछि केही सेलाएको छ। तर पालिकाको नेतृत्वमा आउन चाहनेहरुले भेटघाट र प्रचारलाई निरन्तरता दिएका छन्। जिल्लाको १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिकामा कांग्रेसको नेतृत्व कस्तो आउला भन्नेमा धेरैको चासो छ। 

बुटवल अहिले लुम्बिनी प्रदेशको राजधानी शहर पनि हो। विगतको चुनावी नतिजा हेर्दा बुटवलमा कांग्रेस कमजोर देखिन्छ। २०५६ सालको निर्वाचनमा बुटवल र आसपासको क्षेत्र पर्ने तत्कालिन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका सूर्यप्रसाद प्रधान प्रतिनिधि सभामा पुगेका थिए। त्यस यता बुटवलबाट कुनै पनि संसदीय र स्थानीय चुनाव कांग्रेसले जित्न सकेको छैन।

२०७४ को स्थानीय चुनावमा कांग्रेसले बुटवलका १९ वटा वडा मध्ये ३ वटा वडामा मात्र विजयी हुन सक्यो। यसकारण बुटवलमा कांग्रेसको अवस्था कमजोर देखिएको छ। एमालेले बुटवललाई आफ्नो गढ ठानेको छ। 
कांग्रेसको बुटवल नगर समितिमा आउने अबको नेतृत्वलाई आगामी चुनावमा एमालेको गढ भत्काउने र आफ्नो प्रभाव विस्तार गर्ने चुनौति छ। 

नगर सभापतिको उमेदवार बन्न खोजेका आकांक्षीहरूले पनि बुटवलमा कांग्रेसलाई बलियो बनाउने र २० वर्षदेखि गुमेको साख फर्काउने आफ्नो मुख्य एजेण्डा भएको बताउने गरेका छन्। 

अहिले दोस्रो कार्यकाल नगर सभापति रहेका खेलराज पाण्डेले तेस्रो कार्यकाल दोहोरिने चाहना राखेका छैनन्। त्यसैले बुटवलमा कांग्रेसको नयाँ नेतृत्व नै आउने सम्भावना छ।

कांग्रेसको बुटवल नगर सभापतिको लागि हालका नगर उपसभापति विमलराज भट्टराई, पूर्वनगर सचिव प्रजापाल गिरि, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रकाश राना, नगर सचिव ज्योति भण्डारी, रिता केसीले आकांक्षा देखाएका छन्। यी मध्ये भट्टराई, गिरि र रानाले चुनावी अभियानलाई तिब्रता दिएका छन्। प्रतिष्पर्धा पनि यी ३ बिच नै हुने अनुमान गरिएको छ।  

२ कार्यकाल कांग्रेस बुटवल नगर उपसभापति भएका विमलराज भट्टराई पार्टीमा रामचन्द्र पौडेल निकट मानिन्छन्। उनले अब कांग्रेसबाट बुटवलको नेतृत्वको लागि आफ्नो दाबी स्वभाविक भएको बताए। 

‘२०६७ सालदेखि आजसम्म नगर उपसभापति छु। त्यसैले म स्वभाविक रुपमा नगर सभापतिको उमेदवार हुँ। सबै साथीहरुको मलाई साथ सहयोग पनि छ’ उनले भने, ‘विभिन्न व्यवसायिक तथा सामाजिक संघ संस्थामा पनि आबद्ध रहेर भुमिका निर्वाह गरेको छु। नतिजा मेरो पक्षमा आयो भने भोलिका दिनमा बुटवलमा कांग्रेसलाई बलियो बनाउन सक्छु जस्तो लाग्छ।’ 

भट्टराईले सहमतिको लागि उपयुक्त वातावरण बनेमा आफू बाधक भने नबन्ने बताए।  

विद्यार्थी राजनीतिबाट आएका प्रजापाल गिरि कांग्रेस बुटवलका पूर्वनगर सचिव हुन्। अघिल्लो अधिवेशनमा शेरबहादुर देउवा पक्षबाट नगर सभापतिको उमेदवार भएका गिरि खेलराज पाण्डेसँग पराजित भएका थिए। अहिले फेरि नगर सभापतिको लागि आफ्नो अभियानलाई तिब्रता दिएका छन्। गिरिले बुटवलमा कांग्रेसको संगठन कमजोर देखिएको भन्दै त्यसलाई सुधार्ने योजना रहेको बताए।

‘पछिल्ला चुनावमा कांग्रेसले बुटवलमा राम्रो परिणाम ल्याउन सकेन। त्यसको कारण कांग्रेसको संगठन नै कमजोर भएर हो’उनले भने, ‘त्यसकारण नयाँ आयामबाट संगठनलाई अगाडि बढाउनुपर्छ र नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्ने मेरो धारणा हो।’

गिरिले आफू नगर सभापतिको उमेद्वारबाट पछि नहट्ने दाबी गरे। 

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रकाश रानाले पनि सामाजिक सञ्जाल तथा भेटघाटको माध्यमबाट चुनावी अभियान सुरु गरिसकेका छन्। रानाले पनि चुनावी नतिजामा बुटवलमा कांग्रेसलाई अब्बल देखाउने गरि काम गर्ने दाबी गरे। 

‘बुटवलको धेरै अव्यवस्थित र सुकुम्बासी बस्ती छ। कांग्रेसले त्यहाँ जसरी संगठन गर्नुपर्ने हो। त्यो गर्न नसक्दा बुटवलमा कांग्रेसको संगठन कमजोर छ। म नेतृत्वमा पुगेँ भने अव्यवस्थित, सुकुम्बासीहरुको भावनासँग जोडिने गरी काम गर्छु’ उनले भने ‘मैले रोजगार र स्वरोजगारमुखी कार्यकर्ता बनाउन चाहेको छु र बुटवलमा कांग्रेसलाई फेरि देखाउने योजना मसँग छ।’  

नगर सभापतिको उम्मेदवारी दाबी गरिरहेका तीन जना बाहेक आम कार्यकर्ताले पनि बुटवलमा कांग्रेस बलियो होस र २० वर्षदेखि गुमेको साख फर्कियोस् भन्ने चाहाना राखेका छन्। २९ वर्षअघि बुटवलको कांग्रेस नगर सभापति भएका राधेश्याम राजभण्डारीले एकले अर्काको खुट्टा तान्ने प्रवृति हुँदा पनि बुटवलमा कांग्रेस कमजोर भएको बताए। उनले मनमुटाव र दुस्मनी नहुने तरिकाले अधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे। 

‘अब उपमहानगरमा बलियो र शसक्त नेतृत्व आउन जरुरी छ। स्थानीय चुनाव र संसदीय चुनाव जित्नु ठूलो चुनौति छ’ राजभण्डारीले भने। 

कांग्रेसको बुटवल नगर समितिमा सहमतीमा र तिक्तता नहुने गरि अधिवेशन गराउन यहाँको नगरदेखि केन्द्र तहसम्मका नेताले प्रयास गरेका छन्। कांग्रेसका वर्तमान बुटवल नगर सभापति खेलराज पाण्डेले सहमतीमा नगरको नयाँ नेतृत्व चयन हुने सम्भावना बढी रहेको बताए।

‘अहिले जो जसले उमेदवारको दाबी गरेपनि सहमती हुन सक्ने सम्भावना धेरै छ’ उनले भने, ‘बुटवलमा स्थानीय चुनावमा भोलि सबैलाई मिलाएर लैजानको लागि अहिले पनि मिलेर जाउँ भन्ने मेरो कुरा हो। त्यसैले सहमतिकै लागि मेरो प्रयास रहन्छ।’ 

हाल गृहमन्त्री रहेका रुपन्देहीकै कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण पनि नगर अधिवेशन अघि जिल्लामा आउने तय भएको छ। बुटवलसहित जिल्लाका पालिकाहरुमा नेतृत्व चयनको लागि सहजिकरण गर्न आउन लागेको एक स्थानीय नेताले बताए। 

‘भदौ २५ गते आउने कार्यक्रम थियो। पालिकाको अधिवेशन सरेपछि स्थगित भयो। ९ गते अघि बिचमा एक दिन आउनुहुन्छ होला’ उनले भने, ‘बुटवलमा सर्वसम्मतबाट नेतृत्व चयन गराउने उहाँको पनि चाहना छ।’ 

रुपन्देहीमा बुटवल उपमहानगरपालिका बाहेक ५ नगरपालिका र १० गाउँपालिका रहेका छन्। यी पालिकाहरुमा पनि अधिवेशनको रापताप र नेतृत्वको होडबाजी चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .