ad ad

समाज


‘मर्न खोजेँ तर बाँचेपछि नयाँ जीवन पाएँ’

‘मर्न खोजेँ तर बाँचेपछि नयाँ जीवन पाएँ’

वाशुदेव मिश्र
भदौ २५, २०७८ शुक्रबार २०:२१, काठमाडौँ

‘१५ वर्षको हुँदा मलाई मनोसामाजिक समस्या देखियो। १९ वर्षसम्म पढाइ जारी राखेँ। ७ वर्ष घरमै बसेँ, म त शिक्षा प्रणालीको सिकार भएको रहेछु। २५ वर्षको उमेर पुगेपछि मानसिक स्वास्थ्यको उपचार सुरु भयो।’

आफ्नो अनुभव सुनाउने व्यक्ति थिए, कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटा। उनी विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै मात्र थिएनन्, बाँच्न उत्प्रेरित गरिरहेका थिए। 

उनका अनुसार मानसिक समस्या रोग होइन। यो मनको समस्या हो। त्यसैले मनोसामाजिक परामर्शले यो समस्यालाई कम गर्न सकिन्छ। मानसिक समस्या एक्सरे गरेर, एमआरआई गरेर, रगत जाँचेर मानसिक समस्या पत्ता नलाग्ने बताए।

उनले भने, ‘चिरेर, जाँचेर, अपरेसन गरेर हुँदैन। यसका लागि त दक्ष जनशक्ति चाहियो। तनावको कारणले पनि यो हुन्छ भनेर मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने हुन्छ।’ 

पछिल्लो तथ्यांक अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्याका कारणले आफ्नो जीवन गुमाइरहेका छन्। विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन्। आर्थिक वर्ष २०७७/२०७८ मा आत्महत्याका कारण ७ हजार १ सय ४१ जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा करिब १४ प्रतिशतले बढी हो। 

नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य सन् २०१५–२०३० अनुसार आत्महत्याको दर १६.५ प्रति १ लाखबाट घटाई ४.७ मा पुर्‍याउने लक्ष्य लिएकोमा सन् २०२१ को मध्यसम्म बढेर २४.५ पुगेको छ। 

प्रदेश प्रहरी कार्यालयका अनुसार गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ६ सय ४४ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। 

मुख्यमन्त्री पोखरेलले भने, ‘यो भयानक अवस्था हो जसको सरकार र सम्पूर्ण सरोकारवालाहरुले ध्यान पुर्‍याउनुपर्छ। हरेक जीवन अमूल्य छ र त्यो जोगाउनु सबैको दायित्व हो।’ 

आर्थिक रुपमा सम्पन्न भए पनि मानसिक रुपमा कमजोर भएपछि मानिसहरु आत्महत्या गर्न वाध्य भएको पाइएको उनले बताए। 

यसअघि सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी सरकार मनोसामाजिक सुस्वास्थ्यको प्रवर्द्धन तथा आत्महत्या रोकथाम र न्यूनीकरणमा ठोस कदम चाल्न प्रतिबद्ध रहेको बताए। स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले मानसिक स्वास्थ्यका बारेमा सरकार संवेदनशील रहेको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्। 

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आत्महत्या रोकथामका लागि हामीले के के कोसिस ग¥यौं त भन्ने बारेमा अब समीक्षा हुनु जरुरी रहेको बताए।

नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले आत्महत्या प्रदेशको मुख्य समस्या रहेको भन्दै यसका गण्डकी सरकार संवेदनशील रहेको भनाइ राखे। प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी मीनबहादुर घलेले अपराधको मुद्दा दर्ता भएका मध्ये सामाजिक अपराध वाहेक आत्महत्याका मुद्दा नै बढी रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .