ad ad

समाज


२ करोड नेपालीको शरीरमा कोभिड एन्टिबडी देखियो: सरकारी अध्ययन

२ करोड नेपालीको शरीरमा कोभिड एन्टिबडी देखियो: सरकारी अध्ययन

यज्ञराज जोशी
भदौ १४, २०७८ सोमबार २०:४६, काठमाडौँ

नेपालको जनसंख्याको ६८ प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडी विकास भइसकेको सरकारी अध्ययनले देखाएको छ। 

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरेको सिरोप्रेभलेन्स सर्वेको प्रारम्भिक नतिजामा देशभरबाट संकलित नमुनामध्ये ६८.६ प्रतिशतमा कोभिड–१९ को एन्टिबडी देखिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असार २१ देखि साउन ३० गतेसम्म  संकलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको परीक्षण गरिएको थियो। 

ती नमुना सातवटै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहर, सबै लिंग उमेर, पेसा तथा सबै समूहका व्यक्तिबाट संकलन गरिएको मन्त्रालयको दाबी छ।

‘लिएकामध्ये ६८.६ नमुनामा प्रतिशतमा एन्टिबडी देखिएको हो। ७७ जिल्ला, ७ प्रदेशलाई समेट्ने गरी नमुना लिइएको छ,’ पौडेलले नेपालखबरसँग भने, ‘त्यसलाई आधार मान्ने हो भने तीन करोड जनसंख्यामध्ये २ करोड बढी जनसंख्यामा एन्टिबडी बनेको देखिन्छ।’

कोरोना भाइरसबाट संक्रमित भई निको भएका र यसविरुद्धको खोप लगाएका व्यक्तिमा एन्टिबडी देखिने गर्छ। 

मन्त्रालयले लिएको नमुनामा १० प्रतिशत जति कोरोना खोप लगाएकाहरुको समेत एन्टिबडी परीक्षण गरिएको थियो। त्यसबाहेक सबै प्राकृतिक रुपमा कोरोना लागेर निको भएको पौडेलले बताए।

‘१३ हजारमा २–३ हजार खोप लगाएकाहरुको परीक्षण गर्दा उनीहरुमा अझै राम्रो एन्टिबडी बनेको देखिएको छ,’ पौडेलले भने, ‘यसले हामीले लगाएका खोपहरू अझै सुरक्षित र प्रभावकारी भएको पुष्टि गर्छ।’

यो अध्ययनसम्बन्धी विस्तृत रिपोर्ट दुई तीन दिनभित्र सार्वजनिक गरिने पौडेलले बताए। 

सर्वेक्षणको नतिजाअनुसार एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको छ। 

नेपालमा भेरोसेल, जोन्सन एन्ड जोन्सन, कोभिसिल्ड लगायत खोप लगाइएको छ। मन्त्रालयका अनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या ५० लाख ६३ हजार ५२२ पुगेको छ। पूर्ण मात्रा खोप लगाउनेको संख्या ४० लाख ५२ हजार ७६५ छ।

झण्डै दुई तिहाइ जनसंख्यामा एन्टिबडी देखिए पनि मन्त्रालयको कोरोना अपडेटमा भने हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या सात लाख ५९ हजार २२२ छ। त्यसबाहेक एन्टिजेन परीक्षणबाट ८२ हजार ९७१ जनामा संक्रमण देखिएको छ। 

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले यो सर्वेक्षणले नेपालमा संक्रमणदर उच्च रहेको पुष्टि गरेको बताए। दोस्रो लहरमा देखिएको अति संक्रामक डेल्टा भेरियन्टबाट धेरै संक्रमित भएको हुनसक्ने उनको अनुमान छ।

‘नेपालमा संक्रमण उच्च रहेछ भन्ने पुष्टि भयो,’ उनले भने, ‘कति संक्रमितले परीक्षण गरेका छैनन्। भएको परीक्षण पर्याप्त रहेनछ। संक्रमण पार गरेका धेरैभन्दा धेरै रहेछन्।’

नेपालमा अब कडा लक्षण भएका संक्रमितहरु कम देखिने अनुमान डा. दीक्षितको छ। 

‘एन्टिबडी धेरैमा देखिनुको मतलब भाइरससँग लड्ने क्षमता धेरैमा विकास भइसकेको भन्ने हो,’ दीक्षितले भने, ‘जति बढीमा एन्टिबडी देखियो, त्यति राम्रो हो। ती व्यक्तिमा संक्रमण फेरि देखिए पनि गम्भीर बिरामी हुने सम्भावना न्यून हुन्छ। अस्पताल भर्ना हुने र मृत्युदर कम हुन्छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले शरीरमा एन्टिबडी निश्चित समयसम्म मात्र रहने भएकाले ध्यान दिनुपर्ने बताए। 

‘एन्टिबडी रहुञ्जेल संक्रमित हुने सम्भावना कम हुन्छ। कहिलेसम्म सुरक्षा दिन्छ भन्ने अहिलेसम्म पनि अध्ययनको विषय छ,’ उनले भने, ‘धेरैमा एन्टिबडी भयो भने थोरै व्यक्तिले ठूलो प्रकोप ल्याउने सम्भावना कम हुन्छ। कहिलेदेखि एन्टिबडी बनेको हो, त्यो महत्वपूर्ण हो। ६ देखि ८ महिनासम्म एन्टिबडी रहन्छ। त्यसपछि घट्दै जाने अध्ययनले देखाएको छ।’

एन्टिबडी रहने समय  ६ देखि ८ महिनामा खोप अभियानलाई व्यापक बनाउन सके कोरोनालाई नियन्त्रणमा राख्न सहयोग पुग्ने उनले बताए।

कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो। जुन हालको अवस्थामा निकै सान्दर्भिक रहेको मन्त्रालयको भनाइ छ। 

भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, घर बाहिर निस्कनै पर्ने भएमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सरसफाइमा विशेष ध्यान दिने र कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।

कोरोनासँग मिल्दो जुल्दो संक्रमण भएको तथा कुनै पनि लक्षण भएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क रूपमा परीक्षण गराउन वा नजिकको सरकारी संस्था, प्रयोगशालामा निःशुल्क परीक्षण गर्न प्रवक्ता पौडेलले आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .