भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप गोताखोरले पनि भेट्टाउन सकिएको छैन।
सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नम्बरको जिपको खोजीका लागि चितवनको कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली बुधबार घटनास्थल पुगेको थियो।
पानीको बहाव बढी भएकाले नदीमा बेपत्ता जिप पत्ता लगाउन समस्या भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य भएको थियो।
आज (बिहीबार) पनि बिहानैदेखि जोखी कार्य चलिरहेको छ। स्थानीयवासीले जिप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला नदी किनारमा भेट्टाएका छन्।
दुर्घटनामा परेकी उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ नगद, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
जिप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो।
कुनिटारबाट दुर्घटनास्थलमा पुगेका शसस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य भए पनि भेट्टाउन मुस्किल रहेको जानकारी दिए।
दुर्घटना भएको जिपमा पहिचान नभएका एक अर्को व्यक्ति रहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए।
शोकमा हुम्ला
जिप दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ।
कर्णाली नदीमा खसेको जिपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करीब एक हजार स्थानीयवासी संलग्न हुँदै आएका छन्।
नदीमा बेपत्तालाई फेला पार्न नसकेपछि कतिपय आफन्तले काजकिरियाको कामसमेत सुरु गरेका छन्।
Shares

प्रतिक्रिया