उदयपुरको बेल्टारस्थित इलाका प्रहरी कार्यालयले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की छन्।
उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वीरबहादुर बुढामगरका अनुसार फरार प्रतिवादीलाई जिल्लाको पूर्वी भागका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरिएको हो।
२०४५ सालमा जंगलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउन बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दाका यी अभियुक्त फरार थिए।
तत्कालीन जिल्ला अदालतले अभियुक्तलाई दोषी भएको भन्दै केही समयका लागि कैद फैसला सुनाएको भए पनि ती अभियुक्त फरार थिए।
गोप्य सूचनाका आधारमा अभियुक्त लामो समय जिल्ला बाहिर र हाल जिल्लाभित्रै लुकिछिपी बस्दै आएको बुझिएपछि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया