ad ad

समाज


भारतीय पक्षको जवाफ : नेपाली युवा आफैँ तुइनबाट महाकालीमा खसे, एसएसबी संलग्न छैन

भारतीय पक्षको जवाफ : नेपाली युवा आफैँ तुइनबाट महाकालीमा खसे, एसएसबी संलग्न छैन

गोकुल जोशी
साउन १६, २०७८ शनिबार २१:२७, महेन्द्रनगर

एकजना नेपाली युवक चढेको तुइन सीमा सुरक्षा बल (एसएसबी) ले नकाटेको दाबी भारतीय पक्षले गरेको छ। शुक्रबार दिउँसो ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइन चढेर भारतको बाटो हुँदै खलंगा आउने क्रममा नेपाली युवक जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले यस्तो जवाफ दिएको हो। 

एसएसबीका एक जवानले तुइनको डोरी काटिदिएपछि ती नेपाली युवक महाकालीमा खसेर बेपत्ता भएको विवरण केही प्रत्यक्षदर्शीले समेत सार्वजनिक गरिरहेका बेला भारतीय पक्षले घटनाको ढाकछोप कोसिस गरेको हो। 

भारतको उत्तराखण्डस्थित पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जवाफ फर्काउँदै उक्त घटनामा एसएसबीको संलग्नता अस्वीकार गरेका हुन्। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले नेपालखबरसँग कुरा गर्दै उक्त घटनामा एसएसबीको संलग्नता भारतीय पक्षले अस्वीकार गरेको जानकारी दिए। ‘घटनाबारे हामीले भारतीय पक्षलाई हिजै चिठी पठाएर सोधेका थियौँ', जोशीले भने, 'जवाफमा भारतीय समकक्षीले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेका छन्।' 

उनका अनुसार भारतीय पक्षले घटना हुँदा एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा स्वीकारेको छ। पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रशासनले शनिबार नै गृह मन्त्रालयमा पठाएको छ। ‘पिथौरागढका जिल्ला अधिकारीले पठाएको लिखित जवाफ हामीले आज प्राप्त गरेका छौँ,’ जोशीले भने, ‘त्यसमा एसएसबीको संलग्न नरहेको र तुइन तर्न नसकेर युवक आफैँ नदीमा खसेको भनिएको छ।’

प्रजिअ जोशीका अनुसार तुइन तर्ने क्रममा तारमा अल्झिएर ती नेपाली युवा आफैँ महाकालीमा खसेको दाबी भारतीय पक्षले गरेको छ। 'ती नेपाली युवकले तुइनबाट तर्ने क्रममा तारमा अल्झिएर नदीमा खसेका हुन्। एसएसबीले तुइनको तार काट्ने जघन्य घटना गराउन सक्दैन', भारतीय पक्षको जवाफ उद्धृत गर्दै जोशीले भने, 'महाकाली तरिसकेपछि तुइन फर्काउँदा उनी आफैं अल्झिएर झरेका हुन्। त्यसपछि हाम्रा सुरक्षाकर्मीहरु उनको उद्धार र खोजीमा लागेका छन्। खोजी अझै पनि जारी रहेको छ।'

तर नेपाली प्रत्यक्षदर्शीले भने भारतीय सुरक्षाकर्मीले नै तुइन काटिदिँदा घटना भएको बताइरहेका छन्। उनीहरुले तुइन काट्ने काममा संलग्न भनिएको एसएसबीका जवानको तस्बिर नै सार्वजनिक गरेका छन्। उनले फलाम काट्ने औजारले तुइनको डोरी काटेर छिनाइदिएको दाबी उनीहरुको छ। 

नेपाली प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मीले तुइन काटेको बताइरहँदा भारतीय पक्षको अर्कै जवाफ आएपछि आजै तीनवटा सुरक्षानिकायका अधिकारी घटनास्थलतर्फ गएका छन्। 

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार सुरक्षा अधिकारीको एउटा टोली घटनास्थल र पारी धार्चुला पुगेको छ। त्यस्तै अर्को टोली प्रत्यक्षदर्शी भनिएका नेपालीहरुलाई भेट्न गएको छ। 

शुक्रबार दिउँसो सदरमुकाम खलंगा आउने क्रममा व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय धामी तर्ने क्रममा एसएसबीका जवानले तुइनको तार काटिदिँदा महाकालीमा खसेर बेपत्ता भएका थिए। दुई दिनदेखि खोजी जारी रहँदा पनि बाढी उर्लेको महाकालीमा उनको अवस्था पत्ता लाग्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .