समाज


दार्चुला घटना : सदरमुकाम खलंगााबट घटनास्थलतर्फ नेपाली सुरक्षा अधिकारी

दार्चुला घटना : सदरमुकाम खलंगााबट घटनास्थलतर्फ नेपाली सुरक्षा अधिकारी

नेपालखबर
साउन १६, २०७८ शनिबार १९:१७, काठमाडौँ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको भोलिपल्ट दार्चुला सदरमुकामबाट सुरक्षा अधिकारीहरु घटनास्थलतर्फ लागेका छन्। 

वैदेशिक रोजगारीका लागि भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउने क्रममा एसएसबीले तुइन काटिदिएपछि महाकाली खसेर बेपत्ता भएका ब्यास गाउँपालिका-२ का ३५ वर्षीय युवक जयसिंह धामीको अवस्था अझै खुल्न सकेको छैन। 

महाकालीमा ठूलो बाढी आएकाले उनी जीवितै भेटिने सम्भावना अत्यन्तै कम रहेको छ। नेपाली युवक महाकालीमा खसेर बेपत्ता भएको घटनाको अध्ययन गर्न सदरमुकामबाट तीनवटा सुरक्षा निकायका अधिकारी घटनास्थल गएका हुन्। 

सशस्त्र प्रहरी बल गण नम्बर–४४,  जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलतर्फ गइसकेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले जानकारी दिएकी छन्। 

जोशीका अनुसार उक्त घटनाबारे सत्यतथ्य जानकारी लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भारतीय पक्षलाई पत्र पठाइसकिएको छ। शुक्रबार दिउँसो ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइन चढेर भारतको बाटो हुँदै खलंगा आउने क्रममा धामी महाकालीमा खसेका थिए। सदरमुकाम आउने क्रममा उनी सवार तुइन भारतीय एसएसबीका जवानले काटिदिएका थिए। 

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल र भारतबीचको सम्बन्धमा खलल पार्ने तथ्यहीन समाचार प्रकाशन-प्रशारण नगर्न पनि सञ्चारमाध्यमसँग आग्रह गरेको छ। धामी सवार तुइन एसएसबीले काटिदिएको देख्ने नेपालीहरुले जानकारी गराउँदा पनि प्रशासनले घटनाबारे भ्रामक समाचार प्रसारण प्रकाशन भइरहेको जनाएको छ। प्रशासनले भारतीय पक्षलाई नै बल पुग्ने गरी विज्ञप्ति निकालेको भन्दै आलोचना भइरहेको छ। 

सहायक प्रजिअ जोशीले तुइनबाट झरेर महाकाली नदीमा वेपत्ता भएका धामीबारे अनुसन्धान र छानविन भइरहेकाले सत्यतथ्य पुष्टि नभइसकेको पनि दाबी गरेकी छन्। घटनाको वास्तविकता जानकारी गराई आवश्यक प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको पनि उनले जनाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad