ad ad

समाज


क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेका प्रकाश अमेरिकातिरै लागे

क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेका प्रकाश अमेरिकातिरै लागे

क्यारेबियन सागरमा दुर्घटनाग्रस्त डुंगा र प्रकाश विक (इन्सेटमा)


उजिर कार्की
साउन १२, २०७८ मंगलबार ८:८,

कोलम्बियामा भएको डुंगा दुर्घटनामा परेर घाइते भएका म्याग्दी, बरङ्जाका प्रकाश बिक अमेरिकातर्फ लागेका छन्। उपचारपछि उनी केही दिनपहिले अमेरिकातर्फ हिँडेको परिवारलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ। 

उनकी श्रीमती थममाया पुनले पनि प्रकाश सञ्च भएर अमेरिका जाँदै गरेको नेपालखबरलाई बताइन्। डुंगा दुर्घटनामा घाइते भएका बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले सम्पर्क गर्दा पनि प्रकाश अमेरिकातिरै लागेको जानकारी गराएका छन्। 

उनी एक हप्ता अस्पतालमा उपचार गराएपछि उपचारमा संलग्न डाक्टरकै घरमा बसेका थिए। उनै डाक्टर र अमेरिकामा रहेका आफन्तको सहयोगमा प्रकाश गएका हुन्। 

अहिले उनी पानामा, कोस्टारिका, निकारागुवा हुँदै ग्वाटेमाला पुगेका छन्। अब उनी मेक्सिकोबाट अमेरिका छिर्ने योजनामा छन्।

प्रकाश गत चैत २३ गते काठमाडौंबाट दुबई उडेका थिए। तर अरु को कहिले पुगे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असार ५ गते क्यारेबियन सागरमा डुंगा दुर्घटना भएको थियो। ८ नेपाली र १० बंगलादेशी चढेको डुंगा दुर्घटनामा प्रकाश र केही बंगलादेशी नागरिकको उद्धार भए पनि दुवै देशका गरी १२ जना भने बेपत्ता छन्। 

बेपत्ता हुनेमा ७ जना नेपाली छन्। दाङका एन्जल बुढा मगर, हेमराज अधिकारी, रेशम डिंगामगर, पर्वतका दिनेश गौतम, राजु गुरुङ बेपत्ता छन्। अन्य दुई जनाको भने अझै पहिचान खुल्न नसकेको नेपाल प्रहरीको मानव बेचविखन ब्युरोले जनाएको छ। घटनाको जानकारीका लागि इन्टरपोलमार्फत पत्राचार गरिएको छ। तर, अझै पत्रको जवाफ प्राप्त नभएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ। 

डुंगा दुर्घटनामा परेका नेपालीहरु अवैध रुपमा दलालमार्फत त्यहाँ पुगेका हुन्। तर अहिलेसम्म एक जनाले मात्रै प्रहरी समक्ष जाहेरी दिएका छन्। बाँकीले जाहेरी दिन मानिरहेका छैनन्। 

थममायाको बिलौनाः ऊ फर्किए हामी त सुकुम्बासी हुन्छौँ 
प्रकाशकी श्रीमती थममायाले अहिले प्रकाशको अवस्था सुधार भएको बताइन्। उनले प्रकाश अमेरिका तर्फ गइरहेको भए पनि नेपाल फर्काइदिने चिन्ता व्यक्त गरिन्। 

‘हामीले प्रकाश जाने बेलामा धेरै पैसा डुबाइसकेका छौँ। ऊ नेपाल आएर बस्ने स्थिति नै छैन। घर पहिरोले लैजान लागेको छ। त्यस्तो अवस्थामा मेरो बुढालाई नेपाल ल्याएर सोधपुछ गरेर कहाँ हुन्छ! कि उसलाई जागिर दिनु प¥यो, उसलाई फर्काएर कसले के पाउँछ र?’ थममायाले भनिन्, ‘ऊ नकमाई घर फर्कियो भने हामी त सुकुम्बासी हुन्छौँ।’

प्रकाश अमेरिका जाने क्रममा ५० देखि ६० लाख रुपैयाँ खर्च भइसकेको उनले सुनाइन्। यसअघि प्रकाश साउदी अरब गएका थिए। त्यहाँ आफ्नै क्याफे सञ्चालन गरेका उनको कमाइ पनि राम्रो थियो। 

तर, पछि त्यहाँको सरकारको नीतिका कारण अप्ठेरोमा परेपछि उनी नेपाल फर्किएको थममायाले बताइन्। प्रकाशले साउदीमा कमाएको रकमले यहाँ उनीहरुले पक्की घर पनि बनाएका थिए। अहिले घर पनि पहिरोको जोखिममा परेको छ। 

भएको जग्गा जमिन पनि बैंकमा राखेर अमेरिका जान ऋण लिएको उनले बताइन्। 

‘अहिले बैंकले ताकेता गरिरहेका छ। प्रकाशले कमाउन सकेन भने घरबारी सबै बैंकले खान्छ,’ उनले भनिन्, ‘हामीलाई राम्रोसँग बाँच्न दिने हो भने प्रकाशलाई नफर्काइदिनु होला। पछि ऊ नेपाल फर्किएपछि हामी जे गर्नुपर्छ गर्छौं। अहिले उसको गन्तब्य भनेको अमेरिका हो, ऊ जसरी पनि जान चाहन्छ।’

अहिले प्रकाशलाई अमेरिका पु¥याउन उनका आफन्तले सहयोग गरिरहेका छन्। अब प्रकाशले अमेरिका पुगेर नकमाए ऋण तिर्ने विकल्प नरहेको थममाया बताउँछिन्।

उनी भन्छिन्, ‘धेरै जनाले मलाई तिम्रो बुढालाई जसरी पनि नेपाल ल्याउँछ। तिमीहरु अब सुकुम्बासी हुन्छौ, सडकमा आउँछौ भनेर सुनाइरहनु भएको छ। तनाव भइरहेको छ।’

प्रकाश नेपालबाट दुबई गएका थिए। त्यहाँ दुई महिनाजति बसेर बेखबर भए। तर पछि दुर्घटनामा परेको एक हप्तापछि मात्रै परिवारले खबर पाएको थियो। उनीहरूलाई दलालले रुसको मस्कोबाट जर्मनी, ब्राजिल हुँदै कोलम्बिया पु¥याएको प्रहरीको अनुमान छ।

‘उसँग मेरो पनि नियमित कुरा हुन सक्दैन। म यता विकट ठाउँमा छु। भनेको बेला सम्पर्क हुँदैन। धेरै कुरा त मलाई पनि थाहा छैन,’ थममायाले भनिन्, ‘मैले यहाँबाट पैसा पठाइरहेको छु। मेरा साथीहरु कोही न्युयोर्क छन्, कोही टेक्सस छन् अहिले उनीहरुले पनि सहयोग गरिरहेका छन्।’

प्रहरीले प्रकाशलाई फिर्ता ल्याउँछ भनेपछि उनले प्रहरीसँग कुरा गर्न मानिरहेकी छैनन्। विपद्मा पर्दा सरकारले केही नगरेको गुनासो उनको छ। 

‘विपद्मा पर्दा केही सहयोग नगर्ने हो भने अब किन नेपाल फर्काउनु प¥यो?’ उनले प्रश्न गरिन्।

अहिले प्रकाशलाई मोबाइल पनि तिनै डाक्टरले दिएका छन्। जाँदा बाटोमा केही अप्ठेरो परेमा आफूलाई फोन गर्न भनेका छन्। 

यता थममाया पनि डाक्टर र आफन्तकै सहयोगमा प्रकाश अमेरिका पुग्नेमा ढुक्क छिन्। 

‘तीन वटा देश पार गरिसक्नु भयो। अब त अप्ठेरो नपार्ला, कतै पक्राउ ग¥यो भने फोन त आउला नि,’ उनले भनिन्, ‘अमेरिका प्रवेश गर्ने प्रक्रिया के हुन्छ भनेर अमेरिकामै हुने साथीहरुलाई सोधिरहेको छु। त्यहाँ पुगेपछि साथीहरुले नै कहाँ कसरी प्रक्रिया मिलाउनु पर्छ, हामी गरिदिन्छौँ भनेका छन्।’

अप्ठेरो परे अस्पतालको रिपोर्ट पठाइदिने र अध्यागमनका कर्मचारीसँग आफूले कुरा गर्ने बताएका छन्। 

इन्टरपोलको सहयोगमा दलाल खोज्दै प्रहरी 
आफ्नै देशका नागरिकको पहिचान समेत हुन नसकेपछि उनीहरुलाई त्यहाँ कसले पु¥यायो भन्ने प्रहरीलाई पत्ता लगाउन मुस्किल परिरहेको छ। 

उनीहरुलाई त्यहाँ पठाउने कार्यमा संलग्न रहेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दाङकी गोमा जिसीलाई पक्राउ गरेको छ। जिसीलाई दाङबाट पक्राउ गरी असार ३१ गते काठमाडौं ल्याइएको छ।

गोमाका श्रीमान् टोपबहादुर जिसी यसको मुख्य योजनाकार रहेको प्रहरीको ठम्याइ छ। तर हाल उनी दुबई वा युक्रेनमा रहेको प्रहरीको अनुमान छ। 

गोमाले पनि अमेरिका जानेसँग आर्थिक कारोबार गरेको देखिएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्।

टोपबहादुर भने यसअघि पनि मानव बेचबिखनको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका थिए। उनले दाङकै नरेन्द्र बस्नेतलाई अवैध रुपमा अमेरिका पठाएर अलपत्र बनाएका थिए।

मेक्सिकोबाट अमेरिका छिर्न लाग्दा नरेन्द्र पक्राउ परेका थिए। पछि नरेन्द्रले नेपाल फर्किएपछि उनीसहित ३ जनाविरुद्ध उजुरी दिएका थिए। तर अदालतबाट छुटेपछि पनि उनले उही धन्दा गर्न नछाडेको पाइएको छ। 

यस्तै अवैध रुपमा अमेरिका पठाउने कार्यमा अन्यको पनि संलग्नता रहेको र उनीहरुलाई डिपोर्ट गरेर नेपाल ल्याउन इन्टरपोलमार्फत पत्राचार गरिएको ब्युरोले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .