समाज


आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन

आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन

नेपालखबर
साउन १, २०७८ शुक्रबार ८:३७,

झरी रोकिएको छ। एक सातायता लगातारको वर्षा थामिएको छ। मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन आज ‘लुतो फाल्ने’ पर्वको उल्लास छ। 

जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास रहेको बस्तीमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती जुटेका छन्।

खासगरी पहाडी मूलका नेपाली हिन्दूहरुले यो पर्व मनाउँछन्। साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो, कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराउने चलन छ। 

सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि अहिले एकाबिहानै बस्तीबस्तीबाट युवायुवतीको समूह यी वनस्पतिको खोजीमा वन क्षेत्र पसेका छन् । पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवायुवती पनि सरिक देखिएका छन्। 

एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा लुतो फाल्ने पर्वको तयारीमा लागेको भङ्गाहा–४ का बासिन्दा ३० वर्षीय इस्लाम धर्मावलम्बी युवा शेराजुल राइन बताउछन्।

आफ्ना बस्तीमा नयाँ युवा पुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुशी देखिएका छन्।

जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरु अब सबैका साझा बनेका देखिँदै छन् । फरकफरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमचिमले पुराना राजनीतिक आग्रह र पहाडी–मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण हराउँदै, मेटिदै जाँदा खुशी लाग्ने गरेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक राजनीतिक कायकर्ता सुरजसिंह कुशवाहाले बताए।

आज साँझमा ‘लुतो फाल्ने’ विधिको परम्परा अति नै रमाइलो लाग्ने हुँदा पर्वते मूलका साथीसँगै मिसिएर आफू पनि वनस्पति खोज्न वन आएको गौशाला नगरपालिका–१ का युवा चन्देश्वर महतोको भनाइ छ।

जिल्लाको यो क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ । जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरूपमै मनाउने गरेका छन्। मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेलीलाई बोलाएर खुवाउने परम्परा छ। 

बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन्।

पर्व मनाउने नेपाली परम्परा अति नै सहिष्णु र सहकार्यमा आधारित भएको बुद्धिजीवीको धारणा छ । फरक–फरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमूना नै रहेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउँछन्। 

पर्व विशेषमा खिर खाने प्रचलनले आज एकाबिहानै दूध डेरीहरुमा उपभोक्ता लाम लागेका देखिन्छन् । ग्रामीण बस्तीमा पशुपालक किसानका घरबाट टोल छिमेककाहरुले दूध लिएर पर्व मनाउने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad