ad ad

समाज


नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

नेपालखबर
असोज २८, २०७६ मंगलबार १०:१३,

तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराएका छन्।

चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुखलगायत कांग्रैसबाट निर्वाचित जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले मानिसको जीवन मूल्यसँग तुलना गर्न नमिल्ने भएकाले स्थानीयवासीको जीउज्यानको सुरक्षा गर्न चितुवा नियन्त्रणका लागि गम्भीर बन्न आवश्यक रहेको बताए।

चितुवाले दिनप्रतिदिन बालबालिकामाथि आक्रमण गरे पनि चितुवा नियन्त्रणमा लिन नसक्दा भानुमा सरकारको उपस्थिति नरहेको स्थानीय जनताले अनुभूति गर्न थालेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए। ‘भानु नगरपालिकामा स्थानीयवासी अत्यन्तै त्रसित छन्’, वाग्लेले भने, ‘चितुवा नियन्त्रणका लागि प्रशासन गम्भीर बन्नुपर्ने देखिएको छ।’

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सबैको सहयोगबाट नरभक्षी चितुवा नियन्त्रणमा लिइने बताउँदै जिल्ला सुरक्षा समितिको बैठकले चितुवालाई गोली हानेर मार्ने आदेश दिइसकेको जानकारी दिए।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताउँदै घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने बताए। प्रमुख बरालले चितुवा नियन्त्रणका लागि पहल भइरहेको पनि जानकारी दिए।

‘जङ्गलमा पाइने चितुवाको आहारा नष्ट हुनेक्रम बढेसँगै चितुवा बस्ती नजिक आउने गरेको पाइएको छ’, उनले भभो, ‘आहारा खोज्दै चितुवा बस्ती नजिक आएपछि मान्छेलाई आक्रमण गरेर ज्यान लिने गरेको छ।’

गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक र सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई ढुक्कसँग बस्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ। विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

यसरी चितुवाको आक्रमणबाट मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०/१० लाख उपलब्ध गराइसकिएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .