ad ad

प्रविधि


एउटा अद्भुत ग्रह : जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

एउटा अद्भुत ग्रह : जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

नेपालखबर
चैत १७, २०७६ सोमबार ०:१३,

खगोलविद्ले अन्तरिक्षमा एउटा यस्तो ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ।

यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर ती खगोलविद्का अनुसार बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ।

बीबीसीका अनुसार व्यास्प ७६बी (Wasp-76b) नामले चिनिने उक्त ग्रहले आफ्नो माउतारालाई एकदमै नजिकबाट परिक्रमा गर्छ। दिउँसो यसको तापक्रम २,४०० डिग्री सेल्सीअस नाघ्छ। त्यो तापक्रममा धातुहरू पनि पग्लिन्छन्।

त्यसको रात्रिकालीन तापक्रम १,००० डिग्रीले घट्छ। त्यसो हुँदा पग्लिएका धातुहरू सङ्घनित हुन्छन् र वर्षाका रूपमा तल खस्छन्।

जिनिभा विश्वविद्यालयका डा.डाभिड एहर्न्राइशका अनुसार त्यो विचित्रको स्थिति हो। ‘पानीका थोपाको वर्षाको साटो फलामका थोपा बर्सिएको अनुमान गर्नुहोस्,’ उनले भने।

स्विट्जरल्यान्डका ती अनुसन्धानकर्ता र उनका सहकर्मीहरूले गरेको अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ।

उक्त शोधमा अनुसन्धानकर्ताहरूले युरोपियन सदर्न अब्जर्भेटरीको चिलेस्थित भेरी लार्ज टेलिस्कोपमा भएको ‘एस्प्रेसो’ नामक नयाँ उपकरण प्रयोग गरी कसरी व्यास्प ७६बीको रासायनिक प्रकृतिको विस्तृत अध्ययन गरियो त्यसको वर्णन गरेका छन्।

हामीभन्दा ६४० वर्ष टाढा अवस्थित उक्त ग्रह आफ्नो माउताराको धेरै नजिकै छ। उक्त ग्रहलाई माउताराको परिक्रमा गर्न ४३ घण्टा लाग्छ।

तारातिर सधैँ उही भागमात्र देखिनु उक्त ग्रहको अर्को चाखलाग्दो विशेषता हो। वैज्ञानिकहरूले त्यस्तो स्थितिलाई ‘टाईडल लकिङ’ अर्थात् ‘ज्वारबन्धन’ भन्छन्।

पृथ्वीको उपग्रह चन्द्रमा पनि त्यस्तै स्थितिमा हुन्छ। त्यसैले हामी सधैँ चन्द्रमाको एकातिरको भाग मात्र देख्छौँ। यसको अर्थ के हो भने व्यास्प ७६बीको तारोन्मुख भाग दनदनी बलिरहेको छ।

त्यो गोलार्ध यति तातो छ कि त्यहाँ बादल विघटित हुन्छ र वायुमण्डलमा सबै अणुहरू टुक्रिएर परमाणुको रूपमा छरिन्छन्।

डा.एहरन्राइशको टोलीका अनुसार उक्त ग्रहको उज्यालो र अँध्यारो भागमा हुने तापक्रमको विशाल अन्तरले प्रचण्ड आँधी उत्पन्न हुन्छ। त्यस्तो आँधीको वेग १८,००० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ।

एस्प्रेसो स्पेक्ट्रोमिटर प्रयोग गरेर वैज्ञानिकहरूले उक्त ग्रहमा साँझपख फलामको बाफ निस्किएको प्रमाण फेला पारे। तर बिहानीपख फलामको कुनै सङ्केत बाँकी देखिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .