टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत ठहरेका ६ हजार ७८ भिडिओ हटाएको छ।
अप्रिल र जुन महिनामा पोस्ट भएका ती भिडिओमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र बाँकी २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको थियो।
कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
मर्यादित र व्यवस्थित टिकटक प्लाटफर्म बनाउन उमेर समूहसमेत छुट्याइएको जलिलले जानकारी दिइन्।
टिकटकमा सिधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ। यद्यपि, प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उनले सुनाए।
त्यस्तै कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिए।
नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताउँदै उनले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेको समेत सुनाए। रासस
Shares

प्रतिक्रिया