अति महत्वपूर्ण मानिने ४४ प्रकारका प्रविधिमध्ये ३७ वटामा चीन अमेरिकाभन्दा अगाडि रहेको एक अस्ट्रेलियाली अनुसन्धानमा देखिएको छ। अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटको अध्ययन अनुसार चीन हाइपरसोनिक क्षेप्यास्त्र, आर्टिफिसियल इन्टिेलिजेन्स, ड्रोन र इलेक्ट्रिक ब्याट्रीमा अगाडि छ।
प्रतिरक्षा र अन्तरिक्षसँग सम्बन्धित प्रभावकारी अनुसन्धानमा पनि चीन पहिलो स्थानमा छन्।
सो इन्स्टिच्युट क्यानबेरास्थित अस्ट्रेलिया सरकारले स्थापना गरेको प्रतिरक्षा र रणनीतिसम्बन्धी थिंक ट्यांक हो। जसलाई विदेशी सरकार तथा प्रतिरक्षा र प्रविधि कम्पनीहरुले पनि फन्ड दिने गर्छन्।
उत्पादन, कोटिङ, फाइभजी र सिक्सजी प्रविधि, हाइड्रोजन र एमोनिया उर्जा, सिन्थेटिक बायोलोजी र फोटोनिक सेन्सरमा पनि चीन अगाडि रहेको सो अध्ययनको रिपोर्टमा जनाइएको छ।
यो अध्ययनको निष्कर्ष लोकतान्त्रिक मुलुकहरुका लागि चेतावनीको घण्टी भएको भन्दै सो थिंक ट्यांकले रणनीतिक रुपले महत्वपूर्ण प्रविधि विकासमा अन्य मुलुकहरुले एकजुट भएर लाग्नुपर्ने बताएको छ।
‘विश्वभरका सरकारहरुले चीनलाई भेट्न सामूहिक र बेग्लाबेग्लै काम गर्न जरुरी छ। उनीहरुले प्रविधिसम्बन्धी नवअन्वेषण र रणनीतिक प्रतिस्पर्धाको केन्द्र इन्डो–प्यासिफिकतर्फ ध्यान दिनैपर्छ,’ अध्ययनका लेखकहरुले भनेका छन्।
सो थिंक ट्यांकले अध्ययन गरेको ४४ प्रविधिमध्ये अमेरिका ७ वटा क्षेत्रमा अगाडि छ। अमेरिका आधुनिक सेमिकन्डक्टर डिभाइसको डिजाइन र विकास, सर्किट डिजाइनसहित क्वान्टम कम्प्युटिङ, खोप र चिकित्सा क्षेत्रमा अगाडि छ।
त्यस्तै अमेरिकाले साना स्याटलाइट र अन्तरिक्ष यान प्रक्षेपणमा अग्रता कायम राखेको छ। तर, यसमा पनि उसको एकाधिकार कायम नरहने रिपोर्टमा जनाइएको छ।
चीनले यतिबेला विमानको इन्जिन, ड्रोन र एकअर्कासँग सहकार्य गर्नसक्ने रोबोटहरुमा हासिल गरेको अग्रताले ती क्षेत्रमा उसको एकाधिकारको जोखिम रहेको रिपोर्टमा उल्लेख छ।
आधुनिक विमानको इन्जिनसम्बन्धी विश्वका १० ठूला अनुसन्धान संस्थामध्ये सात वटा चीनमा छन्। यो क्षेत्रमा चीनले अमेरिकाको तुलनामा चार गुणा बढी प्रभावकारी अध्ययन गरिरहेको रिपोर्टमा उल्लेख छ। एजेन्सी
प्रतिक्रिया