ad ad

कोशी


संरक्षण नहुँदा झाडीले घेरिए ढुंगाका कलाकृति (तस्बिर)

संरक्षण नहुँदा झाडीले घेरिए ढुंगाका कलाकृति (तस्बिर)

ध्रुव भट्टराई
माघ ९, २०७९ सोमबार ८:५१, विराटनगर

ढुंगामा कुदिएका कलाकृतिको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्षका साथ मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा चार वर्षअघि ‘सिर्जना पार्क’ को निर्माण सुरु गरिएको थियो। २०७५ फागुन २९ मा निर्माण सुरु गरिएको पार्क सुरुवाती चरणमा  विभिन्न आकृतिका ढुंगाका मूर्तिहरु तयार गरिएका थिए।

भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रको ३३ विगाहा क्षेत्रफलमा निर्माण सुरु गरिएको पार्क चार वर्षसम्म पनि निर्माण त पूरा भएन नै, उचित संरक्षणको अभावमा अलपत्र परेको छ। पार्क निर्माणकै चरणमा संरक्षणको अभाव हुँदा पार्कभित्र तयार पारिएका ढुंगाका मूर्तिहरु जंगलको झाडीले घेरिएका छन्। 

तत्कालिन समयमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, जर्मनी, इटालीलगायतका विभिन्न देशका मूर्तिकारहरुको सहभागितामा सो पार्क भित्र अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना भएको थियो। विभिन्न देशका मूर्तिकारले तयार पारेका ४० बढी मूर्ति छन्। त्यसमा पनि मूर्त र अर्धअमूर्तशैलीका मूर्तिहरूले पूर्वमा फरकपनमा देख्न सकिन्छ। 

सिर्जना पार्क निर्माण समितिले आर्थिक अभावमा पार्कको उचित संरक्षण गर्न नसकिएको जनाएको छ । 

समितिका अध्यक्ष जाँचमान याक्खाले पार्क अहिले जंगलको झाडीमा रुपान्तरण हुँदै गएको स्वीकारे। उनले पार्क निर्माणको सुरुवाती चरणमा मूर्ति तयार गर्ने लगायत पार्क संरक्षणाका लागि घेराबेरा गर्ने काम भएपनि अहिले भने आर्थिक अभावका कारण पार्कको उचित संरक्षण गर्न नसकिएको बताए ।

‘जनस्तरबाट पार्क निर्माणको चरणका केही काम भएको थियो’अध्यक्ष याक्खाले भने, ‘त्यसयता कतैबाट यसको संरक्षणको लागि चासो दिएको देखिँदैन। जनस्तरबाट मात्र यतिको ठूलो प्रजेक्टको संरक्षण र सम्बर्द्ध गर्न सम्भव छैन।’

सरकारी तवरबाट यसको उचित संरक्षण हुन आवश्यक रहेको उनको भनाई छ। अध्यक्ष याक्खाका अनुसार पार्क निर्माणका लागि तत्कालिन समयमा जनस्तरबाट संकलित झण्डै १ करोड रुपैयाँ खर्च भइसकेको छ।

स्थानीय तथा तत्कालिन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख धनु याक्खाको पहलमा जंगल संरक्षणसँगै कलासंरक्षणको प्रयास स्वरुप सिर्जना पार्कमा ढुङ्गेमूर्ति खडा गर्ने अवधारणा अघि सारिएको थियो।

उनलकै पहलमा पार्क भित्र ५० वटा मूर्ति तयार गरी सुन्दर बगैँचा निर्माण गर्ने ध्येयको साथ जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ५ विदेशी र २५ स्वदेशी मूर्तिकारले १८ दिन लगाएर विभिन्न मूर्ति तयार पारेका थिए। अहिले ती मूर्ति पनि संरक्षणको अभावमा जंगल झाडीले घेरिएका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका पूर्वप्रमुख धनु याक्खाले सिर्जना पार्क निर्माणको लागि जनस्तरबाट धेरै काम भएपनि स्थानीय सरकार रहेको बेलवारी नगरपालिकाले आवश्यक सहयोग नगर्दा समस्या भएको बताए।

‘जनस्तरबाट पार्क निर्माणको पहिलो चरणको काम सकिएको छ’याक्खाले भने, ‘अब यसको सम्पूर्ण स्वामित्व लिने काम स्थानीय सरकार भएको नाताले बेलबारी नगरपालिकाको हो। यो सरकारको सम्पत्ति हो, यसमा सरकारको अवश्य ध्यान जानुपर्छ।’ 

उनले पार्क निर्माण भएको चार वर्ष पुगिसक्दा पनि बेलबारी नगरपालिकाले पार्कको संरक्षण र विकासका लागि अहिलेसम्म एक रुपैयाँ पनि बजेट विनियोजना नगर्नु दुःखद भएको बताए। 

बेलवारी नगरपालिका मेयर दिलप्रसाद राईले भने पार्कलाई फुलफेजमा संचालन गर्ने उद्देश्यका साथ यसको डीपीआर तयार गर्ने कार्य भइरहेको बताए। डीपीआरको काम सम्पन्न भएपछि आवश्यक बजेटको प्रबन्ध गरी पार्कलाई नयाँ स्वरुप दिने उनले बताए ।

मेयर राईले भविष्यमा प्रदेश नम्बर १ को मात्र नभएर नेपालकै महत्वपूर्ण सिर्जनास्थलका रुपमा पार्कलाई विकास गर्ने योजना नगरपालिकाको रहेको सुनाए।

तत्कालिन समयमा पार्कभित्र चलेको १८ दिने मूर्तिकला कार्यशाला अवलोकन गर्न वर्तमान प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सोही क्षेत्रमा पर्ने मोरङ ३ बाट निर्वाचित तत्कालिन कानून, न्याय तथा संघीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रदेश नम्बर १ का तत्कालिन मुख्यमन्त्री शेरधन राई लगायतका नेताहरू पुगेका थिए।

अवलोकनका क्रममा उनीहरुले सिर्जना अभियानबाट प्रभावित बनेको भन्दै यसको विकास र संरक्षणमा लाग्ने वचनसमेत दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .