इलामलाई चुनावले छपक्कै छोपेको छ। अब १० दिनपछि प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा प्रतिस्पर्धामा उत्रिएका २० उम्मेदवारमध्ये एक जनाले संसद् भवनको ढोका खोल्दै छन्।
यतिबेला उम्मेदवारहरू भोट माग्दै जनताका घररघर पुगिरहेका छन्। चोकचोकमा चुनावी सभा गरिरहेका छन्।
तर उनीहरूलाई चुनौती दिनेगरी यहाँ छुट्टै अभियान थालिएको छ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज (बिहीबार) देखि ‘नो भोट’ अभियान सुरु गरेको हो।
प्रसाईंको समूहले बिहीबार सदरमुकामको चोकबजारमा सभा आयोजना गरेको हो। सभामा झन्डै २ हजार जना सहभागी थिए। यो त्यही चोक हो, जहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका थिए।
झन्डै ४ हजार मतदाताले भोट नहाल्ने वातावरण निर्माण भइसकेको प्रसाईंनिकट स्रोतको दाबी छ।
सोही जानकारी गराउँदै प्रसाईंले इलाममा मतदातालाई भोट नहाल्न आग्रह गरिरहेका छन्। दलहरूले यतिका वर्षसम्म केही गर्न नसकेको भन्दै उनले अब भोट हाल्न नहुने तर्क गरेका छन्।
राजसंस्था पुनःस्थापनाको माग राखिरहेका प्रसाईंले अभियानअन्तर्गत यहाँका उम्मेदवारलाई भोट नहाल्न मतदातालाई आह्वान गरिरहेका छन्।
यही सभाका लागि झापाबाट समेत मान्छेहरु आएको प्रसाईं अभियानको दाबी छ। सभाका वक्ताले नयाँ दल पनि सहकारी ठग देखिएको भन्दै रास्वपालाई पनि भोट हाल्न नहुने विचार राखे।
अभियान नेतृत्वकर्ता दुर्गा प्रसाईं मेडिकल व्यवसायी पनि हुन्। बिर्तामोडमा उनले बीएन्डसी अस्पताल सञ्चालन गरेका छन्। जसलाई हालै सर्वाेच्च अदालतले सम्बन्धन पाउनुपर्ने निर्णय गर्यो।
इलाममा यो सभा राख्न प्रसाईंले केही दिनदेखि तयारी गरेका थिए। बिर्तामोडदेखि इलाम सदरमुकामसम्म पुग्दा विभिन्न ठाउँ र सार्वजनिक सवारीसाधनमा समेत प्रसाईंका तस्बिर टाँसिएका थिए।
एमाले, कांग्रेस, रास्वपालगायतका दलले प्रतिस्ठाको विषय बनाएर चुनावी कार्यक्रम गरिरहेका छन्।
यसैबीच प्रसाईंले थालेको नो भोट अभियानलाई इलामका स्थानीय नेताले चासोका साथ हेरिरहेका छन्।
Shares
प्रतिक्रिया