ad ad

कोशी


प्रदेश १ : चालु अधिवेशनबाटै नामकरण गर्ने सहमति तर नाममा आआफ्नै अडान

विज्ञ भन्छन् : विवाद नहुने नाम राखौँ
प्रदेश १ : चालु अधिवेशनबाटै नामकरण गर्ने सहमति तर नाममा आआफ्नै अडान

सुमन पुरी
असार १४, २०७९ मंगलबार १०:३९, विराटनगर

चालु अधिवेशनबाट प्रदेश १ को नामकरण गर्न प्रदेश १ मा प्रतिनिधित्व गर्ने दल सहमत भएका छन्। 

संवाद समूह प्रदेश १ ले विराटनगरमा आयोजना गरेको संवाद कार्यक्रममा दलका नेताहरूले  चालु बजेट अधिवेशनबाट जसरी पनि प्रदेश १ को नाम जुराउने सहमति गरेका हुन्। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सचेतक, प्रमुख सचेतक, संसदीय दलका नेता र विज्ञहरूसहति भएको संवादमा दलका नेताले चालु बजेट अधिवेशनबाट प्रदेशको नाम राख्ने सहमति गरेका हुन्।

देशका ७ प्रदेशमध्ये ६ वटा प्रदेशले आफ्नो नाम राखसिकेका छन्, अब प्रदेश १ को नामकरण मात्र बाँकी छ। 

प्रदेशको नाम सहजीकरण समितिका संयोजक तथा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले भने, ‘सहमतिमा भए सहमतिमा, प्रक्रियाबाट भए प्रक्रियाबाट, जसरी पनि प्रदेशको राख्छौं।’ अधिकत प्रयास भने सहमति गर्नेमै हुने उनले बताए। 

नेकपा एमालेको नामकरण सहजीकरण समितिका संयोजक हिक्मतकुमार कार्कीले प्रदेश १ को नामकरणबारे आफ्नो पार्टीमा एकमत हुने बताए। ‘हामी नाम ल्याउने बारेमा सहमत छौँँ’, उनले भने, ‘सांसदहरू जुनसकै नाम आउँदा पनि एक ढिक्का हुनुहुन्छ, एमाले एक हुन्छ।’ 
कार्कीले  प्रदेशको नाम भनेको प्रदेशवासीको पहिचान भएकाले नामको टुंगो लगाइने बताए। 

‘अहिले हामी प्रदेश सभाको अन्तिम समयमा छौँ’, उनले भने, ‘प्रदेशको नाम चालु अधिवेशनबाट टुङग्याउँछौँ।’ 

उनले प्रदेश १ मा रहेका १२३ जातजाति र सबै भाषाभाषीको भावना समेटिने खालको नाम राख्नुपर्ने तर्क गरे। 

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नाम सबैलाई सजिलो हुने र बुझ्ने खालको राखिनुपर्ने बताए। ‘अहिले यो अधिवेशनबाट नाम राखेर जानुपर्छ भन्नेमा हाम्रो भूमिका छ’, उनले भने, ‘मेरो प्रदेश यस कारणले यो नाम हो भन्ने खालको नामलाई सबैले स्वीकार गर्नुपर्छ।’

एमाले सचेतक विमल कार्कीले जाति विशेष जनाउनेभन्दा सबैका लागि साझा हुने  खालको नाम राखिनपुर्ने बताए। उनले भने, ‘तर अहिले नै हामी यही नाम राख्नुपर्छ भन्ने अडानमा छैनौँ। उपयुक्त नाम कसैले प्रस्ताव गरे सहमतिका लागि एमाले खुला छ।’ 

कांग्रेसमा विवाद छैन 

नेपाली कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले प्रदेश १ को नाम राख्ने विषयमा नेपाली कांग्रेसका सांसद एकमत हुने बताए। ‘यही अधिवेशनबाट नाम राख्ने कुरामा कांग्रेस लागेको छ’, उनले भने, ‘यसका लागि हामीले संसदीय दलका नेता राजीव कोइरालालाई अरू दलहरूसँग समन्वय गर्न जिम्मेवारी दिइएको छ।’ 

कांग्रेस प्रदेशको नाम यही हुनुपर्छ भन्नेमा छैन तर जुन नाम प्रस्ताव गरे पनि कांग्रेसका प्रदेश सभा सदस्यहरूको सहमति हुने उनको भनाइ छ। 

‘मतदान प्रक्रियामै जानु परे पनि हामी एक भएर मत हाल्ने छौँ’, उनले भने, ‘गठबन्धन दलहरूका बीचमा जिम्मेवारी तोकेर काम अघि बढेको छ। यो अधिवेशनबाट जसरी पनि नाम आउँछ भन्नेमा ढुक्क छौँ।’ 

सर्वसम्मतका लागि दलहरू एक ठाउँमा उभिएर विकल्पसहित छलफल गर्ने तर सहमति भएन भने अल्पमत र बहुमतका आधारमा प्रदेशको नामकरण गरिने उनले जानकारी दिए।  ‘नामलाई जटिल बनाइएको छ’, उनले भने, ‘नामकरणको विषयलाई सबैले सहज रूपमा लिनुपर्छ, कसैले जटिल विषय बनाउनु हुँदैन।’

माओवादी केन्द्र जातीय पहिचानको अडानमा 
प्रदेश नम्बर १ को नामकरण यसै अधिवेशनबाट गर्नेमा सहमत माओवादी केन्द्र प्रदेशको नाम राख्दा जातीय पहिचान जोडिनुपर्ने अडानमा छ। पछिल्लो समय प्रदेश १ को नाम किरात हुनुपर्छ भनिरहेको माओवादीले जातीय पहिचानबिनाको नामले प्रदेशको नाम अर्थपूर्ण नहुने जिकिर गरेको छ। 

नेकपा माओवादी केन्द्र संसदीय दलकी सचेतक सौभाग्यवती राई किरातले पनि यसै अधिवेशनबाट प्रदेश १ को नामकरण टुंगो लगाउने बताइन्।  

दलभित्र प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्छ भन्ने मत रहेकोले इतिहासमा आधारित नाम राख्नुपर्ने तर्क गरिन्। ‘दलको कुरा पनि किरात प्रदेश नै हुनुपर्छ भन्ने हो’, उनले भनिन्, इतिहासमा ओल्लो किरात, पल्लो किरात र माझ किरातका रूपमा थियो, त्यही भूगोल नै अहिले किरात प्रदेश हुनुपर्छ भन्ने दलको कुरा छ।’ 

उनले प्रक्रियामा गएर भए पनि प्रदेशको नाम राख्नुपर्ने बताइन्। ‘नाम नराखी चुनावमा जाने हो भने मत मग्न नगए हुन्छ’, उनले भनिन्। 
प्रदेशसभा सदस्य सीता थेबेले प्रदेशको नामकरण सबैको चासोको विषय भएकाले यसै अधिवेशनबाट टुंगो लगाउने दाबी गरिन्। ‘प्रदेश संरचना सुरु भएदेखि नै नामको विषयमा छलफल गर्दै आएका छौँ’, उनले भनिन्, ‘अहिलेसम्म निष्कर्षमा पुग्न सकिएको छैन, अब यो अधिवेशनबाट टुंगोमा पुग्नेगरी छलफल अघि बढेको छ।’

विज्ञ भन्छन् : विवाद नहुने नाम राखौँ 
संवादका क्रममा विभिन्न क्षेत्रका विज्ञले प्रदेश १ को नाम राख्दा विवाद नहुने खालको जुराउनुपर्ने सुझाव दिएका छन्। 

‘द्वन्द्व मेटिने, पहिचान भेटिन नामको आवश्यकता छ’, समाजशास्त्री डा. चन्द्र उपाध्यायले भने, ‘सबैले स्वीकार गर्ने नाम ल्याउन सुझाव दिएँ।’ 

चाँडो नामकरण गर्न सकेमा अरू काम गर्न पनि सजिलो हुने भएकाले प्रदेशको नाम राखिहाल्नुपर्ने सुझाव उनले दलहरूलाई दिएका छन्।
संस्कृतिविद् डा. सनत बरालले प्रदेशको नामको बारेमा कसैले विराट, कसैले किरात, कसैले सगरमाथा र कसैले कोसी भनिरहेका भए पनि कोसी नै राख्नुपर्ने आफ्नो मान्यता रहेको बताए। उनले भने, ‘कोसी सभ्यता हो।’ 

जीवन पानीबाट सुरु हुन्छ र पानीमा गएर अन्त्य हुन्छ’, उनले भने, ‘प्रदेशको नाममा कोचिला, मेची, लिम्बुवान  र खम्बुवानको कुरा तर यो नामले सबैको भावना समेटिदैन।’  

भाषाविद् डा. टुनराज भट्टराईले कोसी प्रदेशले सबैको भावना समेटिने दाबी गरे। उनले  ‘धार्मिक, सांस्कृतिक मानव सभ्यताको कुरा पनि कोसीसँग जोडिएको दाबी गरे। उनले भने, ‘सबैभन्दा होचो ठाउँ र अग्लो ठाउँ पनि प्रदेश १ मा नै रहेकाले सगरमाथा राख्दा पनि उपयुक्त हुन्छ।’

सहमतिको प्रयासमा सरकार 
प्रदेश १ सरकारका प्रवक्ता एवं एकीकृत समाजवादीका प्रमुख सचेतक उपेन्द्र घिमिरेले प्रदेशको नाम सहज राख्ने तयारी भइरहेको बताए जानकारी दिए। ‘हामी तत्काल यो अधिवेशनबाट नाम राख्ने गराउने तयारीमा छौँ’, उनले भने, ‘सबैले स्वीकार गरेको नाम प्रदेशको हुनुपर्छ, त्यही प्रदेशको पहिचान भएर जान्छ।’

उनले अहिले नै आफ्नो दलभित्र यही नाम राख्नुपर्छ भन्ने निर्णय भइनसकेको बताए।  उनले मुख्यमन्त्री तथा एकीकृत समाजवादी प्रदेश १ संसदिय दलका नेता राजेन्द्र राईले किरात प्रदेश भने पनि दलको आधिकारिक धारणा नभएको घिमिरेको दाबी छ। 

उनले भने, ‘उहाँले भनेका कुरालाई बंग्याइएको छ। हामी अहिले नै यो नाम नै राख्नुपर्छ भनेर अडानमा छैनौँ। सहमतिको प्रयासमा छौँ।’ 

सरकारका तर्फबाट नाम सहजीकरणको जिम्मेवारी पाएका स्वास्थ्यमन्त्री जयराम यादवले सबै दलहरूसँग छलफल गरेर जाने दायित्व आफूसँग रहेकाले समन्वय भइरहेको बताए।

‘हामी सबैसँग छलफलमा छौँ’, उनले भने, ‘प्रतिपक्षी एमालेले आफ्नो तर्फ नामको बारेमा सहजीकरण समिति बनाएपछि सरकार पक्षलाई सहजता भएको छ।’ 

एनले अहिले सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको जानकारी दिँदै यही अविधेशनमा छ, प्रदेशको नाम प्रदेश सभामा पेस गरिने बताए। 
प्रदेशसभामा अहिले ९० जना सांसद छन्। तीमध्ये एमालेसँग ३७, कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५ सांसद छन्। प्रदेशसभामा जनता समाजवादीका ३ राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक जना सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .