बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध विशेष अदालतमा थुनछेक बहस चलिरहेको छ। गत वर्ष माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
तीमध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरिएको छ। बाँकी ११० जनाविरुद्ध भ्रष्टचारको कसुर, बिगो र सजायको माग दाबी गरिएको छ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासम्म तानिएका छन्।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइदिएवापत ११ कर्मचारीले समेत बकसस्वरुप २२ रोपनी १० आना जग्गा लिएको खुलेको छ। अख्तियारले विशेष अदालतमा बुझाएको अनुसन्धान रिपोर्टअनुसार ती कर्मचारीले बकसस्वरुप पाएको जग्गा आफन्तको नाममा पास गराएका थिए।
नेपालखबरलाई प्राप्त सो रिपोर्टअनुसार ती कर्मचारीका आफन्तले भने जग्गा कहाँबाट र कसरी उनीहरुको नाममा आयो भन्ने समेत जानकारी नभएको बयान दिएका छन्।
बकसस्वरुप जग्गा लिएका मुकुन्दप्रसाद आचार्यको मृत्यु भइसकेको छ। उनी मालपोत विभागका महानिर्देशक थिए। सरकारी जग्गा व्यक्तिको नाममा ल्याएवापत उनले राणा परिवारबाट एक रोपनी जग्गा बकस पाएका थिए। तर, मुकुन्दले सो जग्गा आफ्नो नाममा पास गरेनन्। ज्वाइँ बैकुण्ठ शर्मा रेग्मीको नाममा पास गराए।
ससुराले भनेका कागजातमा सही गरेपनि जग्गा खरिदका विषयमा आफूलाई केही थाहा नभएको बैकुण्ठले बताएका छन्।
यस्तो छ बैकुण्ठ शर्मा रेग्मीको बयान–
मैले ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गरेको छैन। मेरा ससुरा मुकुन्दप्रसाद आचार्य तत्कालीन मालपोत विभागको महानिर्देशक पदमा भएको बेला आफ्नो कार्यकक्षमा बोलाई केही कागजपत्रमा सही गर्न भनेकोमा मैले के कसो हो भन्दा ससुराको विश्वास छैन र? भनेपश्चात विश्वासमा परी उक्त कागजातमा सही गरेको थिएँ। तर हाल लगभग २०–२५ वर्षपछि आयोगले उक्त कागजपत्र जग्गासम्बन्धी कारोबारको सम्बन्धमा रहेछ भन्ने कुराको जानकारी पाएँ। मैले गरेको उक्त दस्तखत तथा निजको आफ्नो पदको दुरुपयोग गर्ने कार्य निजले गरेका हुन्। यस सम्बन्धमा मलाई केही जानकारी छैन।
प्रेमबहादुर खापुङ मालपोत विभागकै तत्कालीन शाखा अधिकृत हुन्। उनले व्यक्तिलाई सरकारी जग्गा मिलाएर ३ रोपनी १ आना २ दाम जग्गा हात पारे। सो जग्गा उनले श्रीमती, साला र सालाकी श्रीमतीको नाममा पास गराए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा उनकी श्रीमती खिमादेवी आङ्बुहाङ्गले आफूलाई त्यसबारे राम्रोसँग जानकारी नभएको बताएकी छन्।
खिमादेवी आङ्बुहाङ्गले बयानमा भनेकी छन्–
राणा परिवारसँग मेरो कुनै चिनजान छैन। ललितानिवास क्याम्पभित्रका जग्गा आएको छ तपाईंहरूले खरिद गर्नुहुन्छ भनी जग्गाका काम गर्नेहरूले कुरा ल्याएकोले मोहन भट्टराई र म भएर संयुक्त जग्गा खरिद गरेको हो। सँधियार हकवालाहरूले झमेला नगर्ने गरी पक्का कागज गरिदिनु भन्दा उहाँहरूले बकस कागज पक्का हुन्छ भनेर यस्तो कागज लेखिदिएपछि त्यही सही गरी खरिद गरेको हो। उक्त जग्गा शैलजा राणाबाट लिएको भन्थे, राम्ररी थाहा छैन। खरिद गरेको साल ४०–५० जस्तो लाग्छ। त्यतिबेला मेरा श्रीमान् प्रेमबहादुर खापुङ भूमिसुधार विभाग अन्तरगत हुनुहुन्थ्यो यकिन थाहा भएन। उक्त जग्गा खरिद गर्दा मोटामोटी एक लाख ५० हजार रुपैयाँ जति तिरेको हो।
बालुवाटारको जग्गा मालपोतका कर्मचारीले मात्रै हात पारेका होइनन्। राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारीले पनि १० आना जग्गा हात पारे। अख्तियारको आरोप पत्रमा उक्त जग्गा उनले श्रीमती भुवनकुमारी चापागाईं (भण्डारी) र सासु सोदाकुमारी चापागाईंको नाममा पास गराएको उल्लेख छ।
अख्तियारमा सोदाकुमारी चापागाईंले दिएको बयान यस्तो छ–
मेरी छोरीले मलाई बोलाएर जग्गा किन्नुपर्ने भयो भनी कुनै कार्यालय जस्तो स्थानमा लगेर सही गर्न लगाइन्। मैले के हो भन्ने थाहा नै नपाई छोरीको भनाईमा लागेर छोरीले जे भनिन् त्यही गरेँ। केही समयपछि छोरीले नै आमा त्यो जग्गा बेच्नुपर्ने भयो भनिन्। मैले मन्जुरीनामा दिएँ। हाल मेरो नाममा कुनै पनि जग्गा जमिन छैन। छोरीको नाम भुवन भण्डारी हो, ज्वाईंको नाम गेहनाथ भण्डारी हो। उहाँ गृह मन्त्रालयमा निजामती सेवामा हुनुहुन्थ्यो।
त्यसैगरी भुवनकुमारीसँग पनि अख्तियारले बयान लिएको छ।
भुवनकुमारीको बयान–
ललिता निवास क्याम्पभित्रका जग्गाहरू २०४९ मंसिर १ गते मेरो नाममा हाटक शम्शेर राणा, हेमन शम्शेर राणा, शैलजा राणाबाट खरिद गरी आएको जस्तो लाग्दछ। उक्त जग्गा हामी दुईजना उर्मिला शाह र म भुवनकुमारी चापागाईंको नाममा संयुक्त रुपमा आएको हो। हाल उक्त जग्गाहरू हाम्रो नाममा छैन। जग्गा खरिद गरी लिएको अवस्थामा मेरो श्रीमान् गेहनाथ भण्डारी शाखा अधिकृत पदमा योजना आयोगमा कार्यरत हुनुहुन्थ्यो।
राणा परिवारका सदस्यहरूसँग हाम्रो परिवारको कुनै चिनजानी थिएन। मलाई जग्गा किनाइदिने व्यक्तिलाई मैले शर्मा दाइ भन्थेँ। मेरो नाम फोटोसहित आएको समाचारबाट उहाँको पुरा नाम रामनाथ अधिकारी भएको थाहा पाएको हुँ।
बकसमा सबैभन्दा बढी जग्गा हत्याउने कर्मचारी हुन्– मालपोत कार्यालय भक्तपुरका तत्कालीन शाखा अधिकृत सुधीर शाह। ५ रोपनी २ पैसा २ दाम जग्गा उनले श्रीमती उर्मिला शाहको नाममा पास गरे।
अख्तियारले उर्मिलासँग बयान लिएको थियो। उनले बयानमा भनेकी छन्–
२०४९ साल मंसिर १ गते शैलजा राणा र भुवन कुमारी चापागाईंले संयुक्त रुपमा खरिद गरी लिएका थियौं। उक्त जग्गा हामीले २०६० सालमा रामकुमार सुवेदीको परिवारलाई बिक्री गरिसक्यौँ। जग्गा बकस लिखत पारित गरी खरिद गरेको हो, मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन्।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु जगत पुडासैनीले पनि आफूले पाएको जग्गा दिदीको नाममा पास गरे। उनलाई राणा परिवारले सरकारी जग्गा दिलाइदिएवापत करिव १ रोपनी जग्गा (चार जनालाई संयुक्त ४ रोपनी २ आना २ पैसा) बकसमा दिएका थिए। उक्त जग्गा दिदी मिठुदेवी चापागाईंको नाममा पास गरे। मिठुदेवीको हाल मृत्यु भइसकेको छ।
डिल्लीबजार मालपोतका तत्कालीन अधिकृत कलाधर देउजाले पनि आफूले पाएको जग्गा साढुभाइ इन्द्रबहादुर थापा क्षेत्रीको नाममा पास गरे। अहिले फन्दामा परेका थापाले आफूले साढुदाइलाई सहयोग मात्र गरेको बताएका छन्।
तर, जग्गा पास गरिदिएवापत देउजाबाट उनले १० लाख रुपैयाँ पाए। पछि उनले त्यहीँको केही जग्गा आफैँ पनि किने।
इन्द्रबहादुर थापा क्षेत्रीको बयान–
म उद्योग मन्त्रालयअन्तर्गत राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रमा कार्यरत थिएँ। राणा परिवारसँग मेरो कुनै चिनजान छैन। मेरो साढुदाइ कलाधर देउजा मालपोत कार्यालयमा अधिकृत हुँदा उहाँले बालुवाटारमा एउटा जग्गा छ, तपाईंले आफ्नो नाममा राखिदिनुहोस् भनी अनुरोध गर्नुभएकाले सहयोगसम्म गरेको हुँ। आफ्नो नाममा लिएको एक दुई वर्ष पछाडि बिक्री गर्दा १० लाख रुपैयाँ प्राप्त गरेको थिएँ। उक्त जग्गामध्ये एक कित्ता मैले पनि किनेको र पछि बिक्री गरिसकेको छु।
डिल्ली बजारका तत्कालीन मालपोत अधिकृत सुरेन्द्रमान कपालीले पनि यस्तै गरे। भतिजा बुहारीको नाममा जग्गा पास गराए। बुहारी शान्ति मल्ल प्रधानाङ्गले काका ससुरा मालपोत कार्यालयमा थिए थिएनन् भन्ने आफूलाई थाहै नभएको बताएकी छन्।
मालपोत कार्यालय लगेर ८१ हजारमा किनिदिएको बताएकी शान्तिले ४-५ वर्षपछि उक्त जग्गा ८ लाखमा बेचेको बताइन्।
डिल्लीबजार मालपोतकै खरिदार युक्तप्रसाद श्रेष्ठले भने यो प्रकरणमा मुछिएपछि आत्महत्या गरिसकेका छन्। उनले पनि आफूले पाएको एक रोपनी १३ आना जग्गा श्रीमती सरस्वतीकुमारी श्रेष्ठ र बहिनी निर्मलादेवी श्रेष्ठको नाममा पास गरेका थिए।
सरस्वतीले दलालमार्फत जग्गा खरिद गरेको बताएकी छन्। उनले सहजताका लागि बकस गरेर लिएको बताए पनि कानुनी र लिखतबारे थाहा नपाएको बयान दिएकी छन्। तर पछि उनीहरुले त्यहाँको जग्गा बिक्री गरे।
निर्मलादेवी श्रेष्ठले बयानमा भनेकी छन्–
मेरो सहोदर दाजु युक्तप्रसाद श्रेष्ठ मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा खरिदार पदमा कार्यरत हुँदा बहिनी मैले तिम्रो नाममा सानो टुक्रा जग्गा किनेको छु, सही गर भनेर सहीछाप गरिदिएको हुँ। कति आना, कति रोपनी क्षेत्रफल, कतिमा किनबेच भएको हो, केही पनि थाहा छैन। पछि २०५३ सालमा मेरो विवाह भएर गुल्मी गएको केही बर्षपछि दाजुले बहिनी मलाई ऋण लाग्यो तिम्रो नाममा रहेको जग्गा बेच्नु पर्यो नागरिकता लिई तुरुन्तै आउनू भनी बोलाएकोले म यहाँ आएर दाजुसँग गएर जग्गा बिक्री गर्न सहीछाप गरिदिएकी हुँ।
यो जग्गा प्रकरणमा सरकारी कर्मचारीले मात्रै फाइदा लिएनन्। एक निजी कम्पनीका सहलेखापालले पनि १४ आना जग्गा हात पारे। समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेलले बकस वापत १४ आना जग्गा हात पारे।
उक्त जग्गा उनले श्रीमती विद्या पौडेल गौतमको नाममा पास गरेका थिए। तर विद्याले उक्त जग्गा ४ लाख रुपैयाँमा किनेको बताएकी छन्। २०५० जेठ २९ गते आफूले किनेको बयान दिएकी विद्याले राजश्व कम लाग्ने भएकाले बकस पत्र गरी लिएको बताएकी छन्। अहिले उनीहरुले पनि त्यो जग्गा बेचिसकेका छन्।
ललितानिवास जग्गा प्रकरणमा मुछिएकामध्ये केही थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा गइसकेका छन्। कोही धरौटीमा रिहा भएका छन् भने कसैको थुनछेक बहस हुन बाँकी छ।
याे पनि :
- विशेष अदालत भन्छ– चैत २३ सम्ममा विजय गच्छदार उपस्थित नभए फैसला
- ललिता निवास जग्गा प्रकरण : दैलोमा टाँसिएको म्याद पनि गुजार्दै गच्छदार
प्रतिक्रिया