राजनीति


ओली नै प्रधानमन्त्री बन्न लागेपछि योगेश भट्टराईको आह्वान : एकता कमजोर पार्ने टिप्पणी नगरौं

ओली नै प्रधानमन्त्री बन्न लागेपछि योगेश भट्टराईको आह्वान : एकता कमजोर पार्ने टिप्पणी नगरौं

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १५:२१,

असन्तुष्ट माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा रोकेसँगै विपक्षीले बहुमत पुर्‍याउन नसकेपछि पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने भएका छन्।

संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले अध्यक्ष ओलीलाई अहिले राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्ति गर्दैछिन्। 

यसैको केही समयअगाडि नेपाल पक्षका एमाले नेता योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत परिस्थिति सकारात्मक दिशामा अगाडि बढेको भन्दै पार्टीको एकता भाँड्ने किसिमको कुनै टिप्पणी नगर्न एमालेका नेता/कार्यकर्तालाई आह्वान गरेका छन्।

गत सोमबार संसदमा विश्वासको मत लिँदा पराजित भएपछि ओली कामचलाउ प्रधानमन्त्रीमा परिणत भएका थिए भने राष्ट्रपतिले विपक्षी दललाई बहुमत जुटाई नयाँ सरकार बनाउन आह्वान गरेकी थिइन्।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको पक्षले साथ नदिएपछि बहुमत पुगिरहेको थिएन। यस क्रममा नेपाल पक्षका २८ सांसदले राजीनामा दिएर भए पनि संसदको कूल सदस्य संख्या घटाउने र कांग्रेसका सभापति देउवालाई बहुमत पुर्‍याउन सजिलो बनाइदिने तयारी भइरहेको थियो।

यसैलाई रोक्न ओलीले लचकता अपनाउँदै विपक्षीले बहुमतको सरकार बनाउन पाएको म्यादको अन्तिम दिन आज बिहीबार अकस्मात् माधव नेपाल पक्षसँग वार्ता गरेका हुन्। यस क्रममा उनले आजै बिहान मात्र स्थायी कमिटी बैठक राखेर माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेविरुद्ध गरिएको निलम्बनको कारबाही पनि फिर्ता गरिसकेका छन्।

पार्टीलाई २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग एकता हुनुअघिकै संरचनामा फर्काउनुपर्ने अडान लिइरहेको असन्तुष्ट पक्षका प्रमुख नेता माधव कुमार नेपालले आज ओलीसँगको संवादपछि तत्काललाई सांसदको राजीनामा टरेको बताएका छन्।

योसँगै बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्री बन्न कस्सिएका देउवा पछि हटे र राष्ट्रपतिले दिएको समयसीमा रातको ९ बजे कटेपछि अब ठूलो दलको नेताको हैसियतमा पुनः ओलीले नै प्रधानमन्त्री बन्ने अवसर पाएका हुन्।

यसैप्रति एमाले नेता योगेश भट्टराईले खुसी व्यक्त गरेका हुन्।

‘पार्टी एकता सबैको चाहना हो। आज अध्यक्ष कमरेड केपी ओली र वरिष्ठ नेता कमरेड माधवकुमार नेपालका बीचमा भएको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको थालनीलाई तार्किक निष्कर्षमा पुर्‍याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौं एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौं। धैर्य गरौं।’

यो पनि : ओली–नेपाल सहमतिप्रति गोकुल बाँस्कोटा हर्षित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .