राजनीति


सुदूरपश्चिम प्रदेश सरकार ढाल्न उद्योगमन्त्री भट्ट सक्रिय

सुदूरपश्चिम प्रदेश सरकार ढाल्न उद्योगमन्त्री भट्ट सक्रिय

गोकुल जोशी
चैत १५, २०७७ आइतबार १२:१५,

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ। सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सरकार ढाल्न नेकपा एमालेले गृहकार्य अगाडि बढाएको हो।

अहिले नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा लगायत एमालेका केही शीर्ष नेता सरकार फेरबदलका लागि सक्रिय भएका छन्। 

भट्टकाे नेतृत्वमा तत्कालिन माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएर प्रदेश सरकार बनेकाे थियाे। अब माओवादी केन्द्रलाई गरेको समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी भइरहेको नेकपा एमालेका एक प्रदेश सांसदले बताए।

‘पार्टीका केन्द्रीय स्तरका नेताहरु पनि धनगढी आउनु भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको छ’ उनले नेपालखबरसँग भने, ‘आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अगाडि बढेका छौँ। यस सम्बन्धमा अन्य पार्टीसँग पनि छलफल भइरहेको छ।’

उद्योगमन्त्री लेखराज भट्टले धनगढीमा सञ्चारकर्मीसँगको भेटघाटमा क्रममा सरकार ढाल्नु पर्ने अवस्था आएको संकेत गरेका थिए।

‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। अब छलफल गर्छौं। यो सरकारले गति लिन सकेको छैन। अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ’ उनले भनेका थिए।

मुख्यमन्त्री त्रिलोचन भट्ट तत्कालीन माओवादी केन्द्रका प्रदेश इन्चार्ज  लेखराज भट्टको सिफारिसमा मुख्यमन्त्री बनेका थिए। माओवादी केन्द्रमा रहँदा लेखराजकै सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन माओवादीमै यथावत छन्।

तर प्रतिनिधि सभा विघटनपछि तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका लेखराज भने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण बदर गर्दै साविकका पार्टी अस्तित्वमा ल्याइदिए पछिमाओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए।

आफ्नै सिफारिसमा मुख्यमन्त्री बनेका भट्ट आफ्नो पक्षमा नलागेपछि सुदूरपश्चिम प्रदेश सरकार ढाल्न लेखराज सक्रिय रहेको स्रोतको दाबी छ।

प्रदेश सभामा ५३ जना सांसद छन्। ती मध्ये नेकपा एमालेबाट २५ जना (सभामुख सहित, माओवादी केन्द्रबाट १४ जना, नेपाली कांग्रेसबाट १२ जना र जनता समाजवादी पार्टीबाट २ जना छन्। सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। नेकपा एमालेले जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने पक्षमा बढि जोड दिएको स्रोत बताउँछ।

‘सरकार पुनर्गठनका लागि सहकार्य गर्न कांग्रेस र जसपा दुवैसँग छलफल भइरहेको छ। हामीलाई सरकार बनाउन २ सांसद मात्रै आवश्यक पर्छन्’, एमालेका ती सांसदले भने, ‘यस्तो अवस्थामा हामीसँग जसपा मात्रै आयो भने पनि पुग्छ। त्यसका लागि मिलेर सरकारमा जान छलफल तीव्र पारिएको हो।’

धनगढीमा बसेर भेटघाट तथा छलफल केन्द्रित बनाएका इन्चार्ज भट्ट र प्रदेश अध्यक्ष थापाले प्रदेश कमिटीमा समेत छलफल तीव्र पारेका छन्।

आइतवार धनगढीमा प्रदेश कमिटीको बैठक समेत आयोजना गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको निशानामा माओवादीका नेता समेत रहेका मुख्यमन्त्री भट्ट परेका छन्।

उता सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको माधन–झलनाथ पक्ष बलियो रहेकोले समर्थन फिर्ता हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन्। एमालेको ओली पक्ष सुदूरपश्चिम प्रदेशमा अल्पमतमा छ। अध्यक्ष एवम प्रधानमन्त्री ओलीको पक्षमा ६ सांसद मात्रै छन् भने बाँकी सांसद माधव–झलनाथ पक्षमा छन्।

एमाले र माओवादी केन्द्र सरकार ढाल्ने र बचाउने कसरतमा जुटिरँदा प्रतिपक्ष कांग्रेसले के गर्छ स्पष्ट भएको छैन। आफूहरु केन्द्रीय समितिको निर्देशन पर्खेर बसेको एक सांसद बताउँछन्।

‘कर्णाली प्रदेशमा एमालेको एक समूहले समर्थन फिर्ता लियो र अर्का समूहले यथावत रहेको भनेको छ’ ती सांसदले भने, ‘यस्तो अवस्थाको विश्लेषण गर्दै सत्तारुढ पार्टीहरुसँग छलफल भइरहेको छ। हामी केन्द्रीय समितिको निर्णय अनुसार समन्वय गरेर अगाडि बढ्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .