राजनीति


घरमै पुगेर नवनिवयुक्त मुख्यमन्त्री शाहले भने– रेशम छुटाउन म आजैदेखि लागिसकेँ

घरमै पुगेर नवनिवयुक्त मुख्यमन्त्री शाहले भने– रेशम छुटाउन म आजैदेखि लागिसकेँ

गोकुल जोशी
माघ २८, २०७९ शनिबार १२:३०, कञ्चनपुर

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल शाहले विश्वासको मतका लागि नागरिक उन्मुक्ति पार्टीको साथ खोजेका छन्।

त्यसका लागि माहोल बनाउन मुख्यमन्त्री भएपछि शाह शनिबार उन्मुक्तिका संरक्षकसमेत रहेका रेशम चौधरीको घरमा पुगेका छन्।

नेपाली कांग्रेस रेशम चौधरीको रिहाइको मागमा सकरात्मक रहेको देखाउँदै उन्मुक्तिलाई आफूतिर तान्ने रणनीतिमा छ।

८ जना मानिसको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीलाई रिहा गर्न आफूले पहल गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाएका छन्।

कैलालीको जानकी गाउँपालिका–६ स्थित जगतपुरस्थित चौधरीको घरमा उनकी आमा सुल्फी देवी चौधरीलाई मुख्यमन्त्री शाहले भेटेका छन्। 

टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको बताउँदै उनले रेशम चौधरीलाई जेलमुक्त गर्न पहल गनेै प्रतिबद्धता जनाए।
शनिबार बिहान उनले चौधरीकी आमा र  परिवारका अन्य सदस्यलाई घरमा गएर भेटेका हुन्। मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए।

‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ,’ उनले भने, ‘छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरुलाई छुटाउने अभियानमा म आजैदेखि लागिसकेँ।’

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत भने दिएन। 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ सांसद आवश्यक पर्दछ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसंग अहिले २३ सांसद छन्। उनीहरुलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माअ‍ोवादीले समर्थन गर्नु पर्ने हुन्छ।

मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरेका छन्। उनले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने आशा राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .