जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहकै कारण सरकारी कार्यालयमा मधेसी अनुहार देखिन थालेको बताएका छन्।
शुक्रबार सप्तरीको विष्णुपुर गाउँपालिका-७, स्थित इटहरीमा आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा बोल्दै अध्यक्ष यादवले तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल हालको जसपा नेपालको नेतृत्वमा भएको संघर्षको स्मरण गरे।
‘सरकारी कार्यालयहरूमा मधेसी अनुहार नगण्य जस्तै थियो तर अहिले सरकारी कार्यालयहरूमा मधेसी चेहरा पनि देखिन थालेको छ,’ यादवले भने, ‘यति मात्र होइन, सेना-पुलिस लगायतका सुरक्षा अंगहरूमा समेत समावेशिता र प्रतिनिधित्व देखिन थालेको छ। यो मधेश विद्रोहकै देन हो।’
उनले मधेस विद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रित एजेन्डाको हिसाबले मधेसमा जसपा नेपाल मात्रै जनताको मत र जीतको हकदार रहेको दाबी गरे।
‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार हामी नै हौँ,’ उनले भने।
मधेस विद्रोहबाटै मधेसी, महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम लगायत पछाडि पारिएका समुदायको आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको उनले स्मरण गारए। अबको लडाई अधिकार र विकासका लागि हुने उनको भनाइ थियो।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनी सप्तरी-३ बाट उम्मेदवार बनेका छन्।
Shares

प्रतिक्रिया