राजनीति


काठमाडौँमा जस्तै मधेसमा पनि परिवर्तन गर्ने बालेनको बाचा

काठमाडौँमा जस्तै मधेसमा पनि परिवर्तन गर्ने बालेनको बाचा

नेपालखबर
माघ ५, २०८२ सोमबार १८:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेस प्रदेशलाई काठमाडौँमा जस्तै परिवर्तन गर्ने बताएका छन्। 

रास्वपाद्वारा जनकपुरधाममा आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘संघियतामाथि प्रश्न उठ्ने क्रम बढिरहेका वेला संघीय संरचनालाई कमजोर होइन, थप सुदृढ बनाउनुपर्ने आवश्यकता  छ।’

राष्ट्रिय झण्डा काँधमा राखेर सम्बोधन गर्दै बालेनले प्रदेशलाई अधिकारका लागि काठमाडौँ धाउनुपर्ने अवस्था आफैंमा गलत भएको बताए। ‘यो संघीयता होइन, सामन्ती केन्द्रीकृत प्रवृति हो यसको अन्त्य जरूरी छ,’ बालेनले भने। 

उनले जनकपुरबाट काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए। ‘जनकपुर प्रदेशको राजधानी हो,’ बालेनले भने, ‘यहाँको प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ जानुपर्छ भने संघीयताको अर्थ के रह्यो? काठमाडौँ अधिकार माग्न जानु पर्ने ठाउँ होइन, घुम्न जाने ठाउँ हो। पशुपति, स्वयम्भू हेर्न जाने हो, अधिकार माग्न जाने होइन।’

आफूले काठमाडौँ महानगरपालिकामा गरेको परिवर्तनको उदाहरण दिँदै मधेसमा पनि त्यही किसिमको राजनीतिक र सामाजिक रूपान्तरण आवश्यकता रहेको उनको भनाइ थियो। ‘मैले काठमाडौँमा देखाएको परिवर्तन सम्भव भयो भने मधेसमा किन सम्भव हुँदैन? सामाजिक परिवर्तन गर्ने, भ्रष्टाचारसँग नझुक्ने, जनताको पक्षमा उभिने मानिसलाई जिताउनुस्।’

‘मधेसका छोरालाई प्रधानमन्त्री बनाऔं’

बालेनले मधेसले देशमा मधेसीको छोराले प्रधानमन्त्री बनोस् भनेर देखेको  परिवर्तनकारी सोच पूरा गर्ने वेला अहिले आएको बताए। त्यो साकार पार्न सबै मधेसी अघि बढ्न उनले आग्रह गरे। ‘अब मधेसले माग मात्रै होइन, नेतृत्व पनि गर्नुपर्छ,’ उनले भने, ‘देश परिवर्तन गर्न चाहन्छौँ भने मधेसका छोरालाई अगाडि ल्याएर परिवर्तनको सपना साकार पारौँ।’

मधेसको एकताको उदाहरण दिँदै उनले जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जित्दा कुनै एक जाति होइन, सिंगो मधेस र देश खुशी भएको स्मरण गराए। ‘देशको विकास पनि जनकपुर बोल्ट्स जस्तै सबैलाई समेट्ने हुनुपर्छ,’ उनले भने। 

राम-जानकी विवाह भएको ऐतिहासिक भूमि जनकपुरलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्य बनाउन नसकिएकोमा उनले दुःख व्यक्त गरे। आफू काठमाडौँ महानगरपालिकाको मेयर हुँदा विभिन्न आन्दोलनका वेला चाहेर पनि खुला रूपमा हस्तक्षेप गर्न नसकेको उल्लेख गर्दै उनले अब चुप नबस्ने बताए। 

‘उखु किसानको आन्दोलन होस् वा मिटर ब्याजपीडितको आन्दोलन, म त्यतिवेला मुकदर्शक भएर बस्न बाध्य भएँ,’ उनले भने, ‘अब बस्दिनँ। अब ती सबै समस्याको समाधानका लागि मेरो सक्रिय भूमिका रहनेछ।’

सभामा मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा सर्वसाधारण, युवा तथा रास्वपा नेता-कार्यकर्ताको सहभागिता रहेको थियो। रास्वपाले जनकपुरधामको सभामार्फत मधेसमा वैकल्पिक राजनीति र परिवर्तनको सशक्त सन्देश दिएको दाबी गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad