बागमती


बागमतीका यी ६ सांसद, प्रतिनिधि सभा लड्न प्रदेशबाट दिए राजीनामा

बागमतीका यी ६ सांसद, प्रतिनिधि सभा लड्न प्रदेशबाट दिए राजीनामा

सुनिता विष्ट
माघ ५, २०८२ सोमबार १८:३२, हेटौँडा

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेश सभाका ६ जना सांसदले राजीनामा दिएका छन्।

सोमबार (आज) प्रदेश सभा सचिवालयमा राजीनामा प्राप्त भएको प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले जानकारी दिइन्। 

कांग्रेसका कुन्दनराज काफ्ले प्रदेश सभामै आएर राजीनामा बुझाएका हुन् भने बाँकी ५ जनाले इमेल मार्फत राजीनामा दिए।

राजीनामा दिनेमा कांग्रेसका सांसद काफ्लेसहित एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के, तत्कालीन नेकपा एकीकृत समाजवादी हालको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वसन्त मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सुनिल केसी र तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा) का सांसद युवराज दुलालले राजीनमा दिएका हुन्। 

काठमाडौँ २(६) बाट निर्वाचित भएर प्रदेश सभामा आएका मास्के काठमाडौँ ६ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिने भएका छन्।

एमालेबाट काठमाडौँ २(७) बाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ काठमाडौँ ७ बाट निर्वाचन लड्ने भएका हुन् भने तत्कालीन नेकपा एसबाट १(७) बाट निर्वाचित भएका वसन्त मानन्धर पनि नेकपाबाट काठमाडौँ ७ कै उम्मेदवार बनेका छन्। 

यता, सिन्धुपाल्चोक १(२) बाट दुईपटक प्रदेश सभामा निर्वाचित भएका युवराज दुलाल नेकपाबाट सिन्धुपाल्चोक २ को उम्मेदवार बनेका छन्।

काठमाडौँ १(२) बाट निर्वाचित भएका राप्रपाका सांसद सुनिल केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचनमा होमिने चर्चा छ। यद्यपि, हालसम्म कुन क्षेत्रबाट टिकट पाउने भने निश्चित भैसकेको छैन।

दोलखा १(१) बाट प्रदेश सभामा निर्वाचित भएका कुन्दनराज काफ्लेले पनि टिकट पक्का नहुँदै राजीनामा दिएका हुन्। 

यो सँगै ११० सदस्यीय प्रदेश सभामा सांसदको संख्या १०४ भएको छ। सांसदहरूको राजीनामा अझै बढ्न सक्ने राजनीतिक दलहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad