ad ad

राजनीति


मन्त्रीबाट हटेको ४८ घण्टामै फेरि मन्त्री

एकीकृत समाजवादीका यी दुई ‘भाग्यमानी’ सांसद
मन्त्रीबाट हटेको ४८ घण्टामै फेरि मन्त्री

सागर न्यौपाने
जेठ २५, २०८१ शुक्रबार १४:५१, काठमाडौँ

मधेस प्रदेशमा सरकारबाट हटेका दुई मन्त्री ४८ घण्टाभित्रै पुनः मन्त्री नियुक्त भएका छन्। यस्ता ‘भाग्यमानी’ मन्त्री हुन्– नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने र बेची लुङ्गेली।

मधेस प्रदेशमा एकीकृत समाजवादीका ७ सांसद छन्। तर, पटकपटक मन्त्री बन्ने मौका भने यिनै दुई सांसदले पाउने गरेका छन्।

शुक्रबार विहान सतीशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएपछि उनले विस्तार गरेको मन्त्रिमण्डलमा उनीहरू दुवै समेटिएका छन्।

मंगलबार मात्र (जेठ २२) जनता समाजवादी पार्टी (जसपा)का नेता सरोजकुमार यादव नेतृत्वको सरकार छोडेर उनीहरू बाहिरिएका थिए। 

२०८० जेठ ९ गते न्यौपाने र लुङ्गेली यादव नेतृत्वको सरकारमा सहभागी भएका थिए। न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी र लुङ्गेली श्रम तथा यातायात व्यवस्थामन्त्री थिए। 

यादव नेतृत्वको सरकारमा न्यौपाने एक वर्ष १२ दिन रहे भने लुङ्गेली ४० दिन मन्त्री रहेकी थिइन्।

तर, प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच केन्द्रमा समझदारी भएपछि उनीहरूले सरकार छोड्दै यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए। उनीहरूको साथ नपाएपछि यादव नेतृत्वको सरकार ढलेको थियो।

बुधबार (जेठ २३) साँझ बसेको प्रदेश सभा बैठकमा यादवले विश्वासको मत नपाएपछि सरकार ढलेको हो। यादवको सरकार ढलेपछि जनमत पार्टीका सिंहले नयाँ सरकार बनाउन ५५ सांसदको समर्थन लिएर दाबी पेस गरे।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरिन्। सिंहले शुक्रबार नै ३ राज्यमन्त्रीसहित ११ मन्त्री लिएर सरकार विस्तार गरे।  

न्यौपाने र लुङ्गेली पनि मन्त्री बने। एकीकृत समाजवादीका संसदीय दलका नेता पनि रहेका न्यौपाने नयाँ सरकारमा पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएका छन्।

यस्तै, लुङ्गेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ। 

माओवादीका भरतप्रसाद साह अर्थ, माओवादीकै युवराज भट्टराई  उद्योग, वाणिज्य र पर्यटन मन्त्री बने। यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भए।  

एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय र शत्रुघनप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या, प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाएका छन्।

नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ।

नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्री बनाइएको छ। 

उता, एमालेका केशव राय र शारदादेवी थापाले स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिँदा, जनमत पार्टीकी रन्जुकुमारी मण्डल खङ्गले विनाविभागीय राज्यमन्त्रीको शपथ लिइन्।

सबै दललाई पुर्‍याइयो भाग
यादव नेतृत्वको सरकार ढालेर नयाँ मुख्यमन्त्री बनेका सिंहले उनलाई समर्थन गर्ने सबै दललाई समटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

एमाले २४, जनमत १३, माओवादी केन्द्र ९, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति र संघीय समाजवादीका एक–एक गरी ५५ सांसदले सिंहलाई समर्थन गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच जेठको दोस्रो हप्तादेखि निरन्तर छलफल भएको थियो।

तीन नेताबीच एक्लाएक्लै र सामूहिक छलफलपछि माधव नेपाल मधेस सरकारबाट हट्न तयार भएका थिए।

जेठ २१ गते जुटेको सहमतिपछि उनले मधेस प्रदेश सरकारमा रहेका आफ्ना मन्त्री हटाउन लिखित निर्देशन दिनुपरेको थियो।

नेताहरूले तीनजनाबीच जुटेको सहमति खुलाउन चाहेका छैनन्। तर, प्याकेजमै सहमति जुटेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .