ad ad

राजनीति


फेरि संकटमा कोशी सरकार : एमालेका सात र राप्रपाका सांसद सोमबारको बैठकमा नआउने

घरायसी कारण देखाउँदै सांसदहरुको निवेदन
फेरि संकटमा कोशी सरकार : एमालेका सात र राप्रपाका सांसद सोमबारको बैठकमा नआउने

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १८:४४, काठमाडौँ

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएपछि विपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना सांसदहरुलाई अनुपस्थित गराउनेतिर लागेका छन्। 

दुवै विपक्षी दलहरुलाई पत्र लेख्दै थापाले आइतबार विश्वासको मत मागिरहँदा राप्रपाले आफ्ना सबै सांसदलाई विश्वासको मतका दिन प्रदेशसभामा अनुपस्थित गराउने तयारी गरेको हो। 

प्रदेशसभाको सोमबारको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले सांसदहरुलाई निर्देशन नै दिइसकेका छन्।

यो कुराको पुष्टि कोशी प्रदेशमा राप्रपा सांसद प्रेमराज थामसुहाङले गरेका छन्। उनका अनुसार सोमबारको बैठकमा सबै ६ सांसदलाई अनुपस्थित हुन निर्देशन आइसकेको छ।

अहिले पनि एमालेसँगै प्रतिपक्षमा रहेको राप्रपाले कुनै हालतमा थापाको सत्ता लम्बिन नदिने रणनीति बनाएको छ।

त्यही कुराको पुष्टि शनिबार राप्रपा अध्यक्ष लिङ्देनले गरिसकेका छन्। उनले आफ्नो गृहप्रदेशसमेत रहेको कोशीमा सत्ता गठबन्धनले राप्रपाका सांसद किन्न खोजेको बताएका थिए।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त!’, उनले शनिबार सामाजिक सञ्जालमै भनेका थिए। 

सत्ता गठबन्धनले आफ्नो सत्ता टिकाउन भरमग्दुर कोशिश गरे पनि लिङ्देनले शनिबार सामाजिक सञ्जालमा उक्त कुरा लेखेपछि कांग्रेस नेता थापा फेरि एक महिनामै सत्ताबाहिर पुग्ने निश्चित देखिएको छ। 

सत्ता गठबन्धनबारे लिङ्देनको उक्त टिप्पणीलाई पुष्टि गर्दै राप्रपाले सोमबार आफ्ना सबै ६ सांसदलाई प्रदेशसभा बैठकमा अनुपस्थित गराउने भएको छ। 

उता नेकपा एमालेले पनि कोशी प्रदेशमा उपसभामुखसहित  ८ सांसद अुनपस्थित गराउने तयारी गरेको छ। आफ्ना जेष्ठ सांसदहरुसहितलाई एमालेले अनुपस्थित गराउने तयारी गरेको हो।

उपसभामुख दनुवार बैठकमा अनुपस्थित भए प्रदेशसभा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नुपर्छ। 

प्रदेशसभा बैठक चलाउन सभामुख-उपसभामुखलाई सहयोग गर्न गठित चार सदस्यीय अध्यक्षमण्डलमा एमालेकी मालती लिम्बु सबैभन्दा जेष्ठ छिन्। उनीसहित एमालेका सांसदहरुले पनि बैठकमा अनुपस्थित हुने पत्र पठाइसकेका छन्। 

कोशीमा थापा कांग्रेससहित नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

माओवादी नेतासमेत रहेका बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर बहुमत जुटाउँदै गत साउन १६ गते थापा नेतृत्वको सरकार बनेको थियो। 

गौतमले राजीनामा दिएपछि अहिले कोशीमा सभामुख छैनन्। उपसभामुख रहेकी सिर्जना दनुवारको काँधमा सभा सञ्चालनको जिम्मा छ। सभामुखले राजीनामा दिएकाले उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ। 

एमालेबाट निर्वाचित उनी पनि तत्कालै राजीनामा दिनेभन्दा बैठकमै अनुपस्थित हुने विकल्पको खोजीमा रहेको बताइन्छ। यदि उनले राजीनामा नदिई अनुपस्थित भए बैठक सञ्चालनको विकल्प खोज्नुपर्ने हुन्छ। 

यदि एमालेले उपसभामुख दनुवार र जेष्ठ सदस्यसहित अन्य सांसद अनुपस्थित गराइदिएमा सभा सञ्चालनको जिम्मा कांग्रेसको काँधमा आउन सक्छ। कांग्रेसका प्रदेश सभा सदस्यले बैठक चलाउँदा बहुमत नपुगेर सरकार ढल्छ। 

प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ छ। तर उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ।  नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ ।

सभामुखले आफू र उपसभामुख नहुँदा बैठकको अध्यक्षता गर्न बढीमा पाँच सदस्यहरूलाई मनोनित गर्न सक्छन्। 

उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन्।

यदि सोमबार बस्ने प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित भए उक्त नियमावलीअनुसार सभाध्यक्षमण्डलका सदस्यले सभा सञ्चालन गर्नुपर्छ।

सभाध्यक्ष मण्डलका सदस्यहमा यसअघिनै चार जना मनोनित भएका छन्। जसमा नेकपा एमालेकी मालती लिम्बु, कांग्रेसका इसराइल मन्सुरी, नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट छन्।

सोमबारको बैठकमा अनुपस्थित हुने लिखित निवेदन एमाले सांसद लिम्बुले आइतबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेकी छन्। 

उता राप्रपाले पनि आफ्ना सांसदलाई बैठकमा अनुपस्थित गराउने तयारी गरिसकेको छ। यस्तोमा अध्यक्षमण्डलका सदस्य विष्ट पनि बैठकमा हुने छैनन्।

राप्रपाबाट बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका छन्।

सत्ता गठबन्धनले गयानन्द मण्डललाई मन्त्री बनाएपछि एमाले र राप्रपाका सांसदहरु प्रदेशसभामा ज्येष्ठ सदस्यको लाइनमा छन्।

उनीहरुपछि कांग्रेसका अमृत अर्यालको पालो आउँछ। अर्यालभन्दा ज्येष्ठ सदस्य रहेका उद्धव थापा मुख्यमन्त्री र कमलप्रसाद जवेगु मन्त्री छन्।

अध्यक्षमण्डलका लिम्बु र विष्ट अनुपस्थित हुने भएपछि अब बैठक सञ्चालनको जिम्मा कांग्रेसका मन्सुरी र माओवादीकी तिम्सिनाको काँधमा आउने छ।

गठबन्धन सरकार ढाल्ने प्रयासमा रहेका एमाले र राप्रपाले अध्यक्षमण्डलका विष्ट र लिम्बुलाई अनुपस्थित गराउने करिब पक्का भइसकेको छ।

कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले निवेदन दर्ता गराएको जानकारी दिए।

उनीहरुमध्ये किशोरचन्द्र दुलाल अमेरिकामा छन्। अरु सबैले संसद् सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताए।

एमाले र राप्रपा अध्यक्षमण्डलका सदस्य अनुपस्थित हुनेबित्तिकै बैठक चलाउने जिम्मा कांग्रेस र माओवादीको काँधमा जाँदा बहुमत नपुगेर थापा नेतृत्वको सरकार भोलि नै ढल्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .