ad ad

राजनीति


माओवादीका कारण सर्‍यो कोशीका मुख्यमन्त्रीको शपथ

प्रचण्डका ज्वाइँले पनि मन्त्रीमा दाबी गरे
माओवादीका कारण सर्‍यो कोशीका मुख्यमन्त्रीको शपथ

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार १२:१८, काठमाडौँ

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका कारण मंगलबार मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाको शपथ सरेको छ।

बुधबार बिहान साढे १० बजे शपथ खुवाउने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहँदा गठबन्धन दलहरुले समय सार्न आग्रह गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाका अनुसार शपथ समय सारेर साँझ ५ बजेका लागि नयाँ समय तोकिएको छ।

गठबन्धनलाई बहुमत (४७) पुर्‍याउन मंगलबार सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने तयारी माओवादीले गरेको थियो।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गौतमलाई मंगलबार बालुवाटारमा बोलाएर मन्त्री बनाइदिने आश्वासनसहित सभामुखबाट राजीनामा दिन भनेका थिए। 

पार्टी नेतृत्व र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले समेत मन्त्री बनाउने आश्वासन दिएपछि गौतमले सभामुखबाट राजीनामा दिएर उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत जुटाइदिएका थिए।

सभामुख त्यागेका गौतमलाई मन्त्री बनाउने सहमति भइसकेको अवस्थमा माओवादीभित्र विवाद देखिएको छ।

माओवादी प्रदेश १ का एकजना सांसदका अनुसार सभामुख त्यागेलगत्तै मन्त्री बनाउँदा नराम्रो सन्देश जाने भएकाले केही समय होल्ड गर्न गौतमलाई भनिएको छ।

तर गौतम भने तत्कालै मन्त्री बन्न तयार भइसकेका छन्। ‘मंगलबार मात्रै सभामुखबाट राजीनामा दिएकाले तत्कालै मन्त्री बनाउँदा पदलोलुपको आरोप लाग्न सक्छ’, ती माओवादी सांसदले भने, ‘त्यसैले अहिले गौतमलाई साता दश दिनसम्म होल्ड गराउने रणनीतिअनुसार संसदीय दलमा छलफल भइरहेको छ।’

यसअघि असार २१ मा थापा मुख्यमन्त्री बन्दा क्याबिनेटमा अटाएका जीवन आचार्यले पनि यस पटक आफू मन्त्री हुनुपर्ने अडान लिएका छन्।

माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य यसअघि एमाले नेता हिक्मत कार्कीको ६ महिने कार्यकालमा पनि मन्त्री भएका थिए।

माओवादीमा तत्कालै मन्त्री हुने इच्छा देखाइरहेका सांसदहरुको संख्या झन्डै आधा दर्जन छ। माओवादीमा प्रदेश सभा सदस्यहरु गीता तिम्सिना, नारायण बुर्जा मगर, जीवन आचार्य, दुर्गा चाापाईं, राजेन्द्र कार्की र गणेश उप्रेती सुशील पनि मन्त्रीको दौडमा छन्।

आचार्य र कार्की यसअघि खारेजीमा परेको थापा मन्त्रीमण्डलका सदस्य पनि हुन्। प्रचण्डका कान्छा ज्वाइँसमेत रहेका आचार्यको दाबेदारी अझै बलियो छ।

उनले दाबी गरेपछि माओवादीभित्र नेता व्यवस्थापनबारे कुरा भइरहेको छ। जसअनुसार पछिल्लो पटक गौतमलाई नै बुधबार मन्त्रीको शपथ दिलाउने तयारी छ। तर उनी विनाविभागीय मन्त्री हुनेछन्।

उता आचार्यले भने बुधबार नै मन्त्रीको शपथ लिने छैनन्। उनलाई केही सातापछि मन्त्री बनाएर आर्थिक मामिला मन्त्रालय जिम्मा दिने गरी छलफल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .