ad ad

राजनीति


हिक्मत कार्की गएनन् मुख्यमन्त्रीको कार्यालय

लिन आएनन् सुरक्षाकर्मी र कर्मचारी
हिक्मत कार्की गएनन् मुख्यमन्त्रीको कार्यालय

बिराटनगर विमानस्थलमा कार्की र राजभण्डारी


नेपालखबर
साउन १२, २०८० शुक्रबार १२:३३, काठमाडौँ

सर्वोच्चको अदालतले उद्धव थापाको नियुक्ति अवैध ठहर गर्दै रद्द गरिदिएपछि कामचलाउ मुख्यमन्त्रीमा फर्किएको भनिएका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको कार्यालयमा गएनन्। 

केही दिनदेखि काठमाडौंमै रहेका उनी शुक्रबार बिहान १० बजे बिराटनगर झरेका थिए। त्यहाँबाट उनी मुख्यमन्त्रीको कार्यालय जाने योजनामा थिए। 

उनी बिराटनगर विमानस्थलमा अवतरण भएपछि मुख्यमन्त्रीको कार्यालयले केही सुविधा उपलब्ध गराएन। त्यहाँ कर्मचारीदेखि सरकारी गाडी र सुरक्षाकर्मी पनि उपस्थित थिएनन्। 

सर्वोच्चको पूर्ण इजालसले गत असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति रद्द गरिदिएसँगै यही साउन १७ गतेभित्र नयाँ सरकार गठन गर्न भनेको छ। 

अदालतको आदेशअनुसार हिक्मत कार्की अबको सात दिनलाई पुरानै काम चलाउ अवस्थामा फर्किएको जिकिर कानुनविद्हरुले गरेका थिए। 

तर, सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले पनि मुख्यमन्त्रीको कार्यालयलाई कुनै पत्र नपठाइदिएपछि कर्मचारीमा अलमल देखिएको हो। 

यता महान्यायाधिवक्ता दीनमणि पोखरेलले अबको सात दिनलाई उद्धव थापा नै कामचलाउ मुख्यमन्त्री हुने बताएका थिए। 

मुख्यमन्त्री कार्यालयले शुक्रबार पनि आफ्नो बोर्ड र वेबसाइटमा मुख्यमन्त्रीमा उद्धव थापालाई यथावत राखेको छ। 

मुख्यमन्त्री कार्यालयबाट कुनै खबर नआएपछि कार्की बिराटनगर विमानस्थलबाट सिधै निजी निवासतिर लागेका छन्। उनी विमानस्थलबाट प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा पाएको १ झ ६५२ नम्बरको स्कोर्पियोमा सवार भएर निवासतिर लागेका हु्न्। 

उनीसँगै तत्कालनी मन्त्री बुद्धिकुमार राजभण्डारी पनि निजी निवासतिर गएका छन्। अहिले कार्कीले आफ्नो निवासमा तत्कालीन मन्त्री, कानुनविद् र एमाले नेताहरुसँग छलफल गरिरहेका छन्।

उक्त छलफलपछि मुख्यमन्त्रीको कार्यालय जाने नजाने निर्णय लिने तयारी कार्कीले गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .