कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेस गरेका छन्।
शर्माले बुधबार (पुस–२७) नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादी पार्टीको सर्मथनमा दाबी पेस गरेका हुन्।
शर्माले नेकपा एमालेका १० नेपका माओवादी केन्द्रका १३, एकीकृत समाजवादी र राप्रपाका १/१ सांसद गरि २५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।
शर्मा रुकुम पश्चिम प्रदेश सभा (२) बाट निर्वाचित भएका हुन्। यहाँ एमालेसँग आधा आधा कार्यकालमा सहमति भएपछि शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेशले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने मिति तोकेको थियो। त्यहीअनुसार बुधबार मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख तिलक परियारले पुस २१ गते संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।
यसअघि नेकपा एमालेले माओवादीसँग प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल गर्न पाउनु पर्ने अडान राखेको थियो।
यता केन्द्रीय समीकरणले पाँच वर्षे नै कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउनुपर्ने निर्णय गरेपनि अब कर्णालीमा एमाले-माओवादी आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
बुधबार लामो समय बसेको एमाले-माओवादी दलको बैठकले पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा काम गर्ने सहमति गरेको थियो।
त्यसपछि एमाले संसदीय दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति दुई दलले गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एक मन्त्रालय घटाएर ७ बनाउने सहमति पनि भएको छ।
एमालेबाट तीन र माओवादीबाट तीन गरि ६ जना मन्त्री बनाउने बैठकमा निर्णय भएको छ।
Shares

प्रतिक्रिया