कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान नसकिएको भन्दै पुस २ गते कास्की जिल्ला अदातलसँग थप ४ दिन समय माग्यो। सो क्रममा न्यायाधीश हिमलाल बेल्बासेले रविलाई बोल्ने समय दिए।
त्यसपछि रविले भनेका थिए, ‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ। अनुसन्धानलाई सघाइसकेँ। यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, योचाहिँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहिँ के छ भनेर मैले पटकपटक सोधेँ। जवाफ आजसम्म पाएको छैन। यसलाई समाएका कारण हामीले यो जोगायौँ, अनुसन्धानमा यस्तो प्रमाण भेटायौँ भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थेँ श्रीमान्।’
रविको कुरा सुनेपछि न्यायाधीश बेल्बासेले मुस्कुराउँदै भनेका थिए, ‘तपाईंको यो अनुभव पछि काम लाग्छ।’
उसो त यो रविको पहिलो हिरासत अनुभव होइन। यसअघि पनि उनले अनुभव सँगालिसकेका थिए।
पहिलो हिरासत
त्यसबेला रवि न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गर्थे। जनसरोकारका विषयमा खरो टिप्पणी गर्थे। मै हुँ भन्ने व्यक्तिलाई सोझै टेलिफोन गरी झाँको झार्थे। त्यही शैलीको कारण उनको लोकप्रियताको पारो पनि उँचो थियो।
२०७६ साउन २० गतेचाहिँ उनीमाथि अनौठो आरोप लाग्यो। एक समय ‘सिधा कुरा जनतासँग’मा रवि लामिछानेसँगै काम गरेका शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिए। आत्महत्या गर्नुअघि पुडासैनीले आफूलाई रवि लामिछाने, युवराज कँडेल र एक युवतीको नाम लिँदै उनीहरूले मर्न बाध्य पारेको भन्ने भिडिओ रेकर्ड गरेर छाडेका थिए।
त्यो भिडिओ बाहिरिएसँगै साउन ३० गते आत्महत्या दुरुत्साहनको आरोपमा रवि पक्राउ परे। उनलाई चितवन प्रहरीको हिरासतमा पुर्याइयो। रवि पक्राउ परेपछि उनका समर्थकहरू सडकमा ओर्लिए। तर, १५ दिन हिरासत बसाइपछि चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख रूपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दियो।
रवि हिरासतमुक्त भए। उनको स्वागतमा समर्थकहरूको ठूलो भीड जम्मा भयो। २०७६ सालको माघमा रविले सो मुद्दाबाट सफाइ पाए।
चितवन प्रहरी कार्यालयको १५ दिने हिरासत अनुभव कस्तो रह्यो? उनी स्वयंले सार्वजनिक गरेका छैनन्। तर, हिरासतमुक्त हुँदा पाएको समर्थनले पक्कै उनलाई हौस्याएको हुनुपर्छ।
२०७७ सालको पुसमा रविले न्युज २४ छाडेको घोषणा गरे। त्यसपछि उनले नेटवर्किङ व्यवसाय तथा सहकारी सञ्चालकको रूपमा रहेका गितेन्द्रबाबु राई (जीबी) को लगानीमा ग्यालेक्सी फोरके टेलिभिजन खोले। रवि प्रबन्ध निर्देशक तथा सेयर सदस्य रहेको ग्यालेक्सी फोरकेको २०७८ असोज १५ गते भव्य उद्घाटन गरियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर उद्घाटन गरिएको टेलिभिजनमा पनि रवि उही शैलीको ‘सिधा कुरा रवि लामिछानेसँग’ चलाउँथे। ‘फ्यान फलोइङ’ उस्तै थियो।
तर, उनले २०७९ असारमा एकाएक सो टेलिभिजन छाडे।
राजनीतिमा जबर्जस्त उदय तर डुबायो सहकारीले
रविले चितवन प्रहरीको हिरासतबाट मुक्त हुँदा आफ्नो पक्षमा सडकमा उत्रेको भीड देखेकै थिए। २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमाल स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि रविको मन राजनीतितर्फ मोडियो। पत्नी निकिता पौडेलले त्यो चुनावमा बालेनलाई मतदान गरेकी थिइन्। रविलाई राजनीतिमा आउन प्रोत्साहित गरेको उनी स्वयंले स्वीकारेकी छन्।
त्यसपछि रविले असार ७ गते नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा गरे। असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको पार्टीले मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जित्यो। चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रवि ३४ हजारको मतान्तरले विजयी बने। समानुपातिकतर्फका १३ सांसदसहित संसदमा रविको जबर्जस्त प्रवेश भयो। कांग्रेससँगको चुनावी गठबन्धन तोडेका माओवादी अध्यक्ष प्रचण्डले पुस १० गते रविलाई सरकारमा सामेल मात्र गराएनन्, पुस ११ गते उपप्रधान तथा शक्तिशाली गृहमन्त्री बनाए।
रविविरुद्ध २०७६ को मंसिर ६ गते नै खारेज भइसकेको नागरिकता पेस गरेर चितवन–२ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारवाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परेको थियो। लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएको र त्यो त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको जिकिर उजुरीमा गरिएको थियो। रविको नागरिकता मुद्दा सर्वोच्च अदालत पुग्यो।
सर्वोच्च अदालतले माघ १३ गते रविलाई दोषी करार गर्यो। उनको सांसद र गृहमन्त्री पद गयो। रविको राप र ताप उस्तै थियो। २०७९ सालको माघ १५ गते उनले काठमाडौँ जिल्ला प्रशासनबाट पुनः नेपाली नागरिकता प्राप्त गरे। २०८० असार १० गते चितवन २ मा भएको उपनिर्वाचनमा रवि नै उम्मेदवार बने।
रविले झुटा विवरण दिई राहदानी लिएको मुद्दामाथि अनुसन्धान भइरहे पनि उम्मेदवारीमा बाधा भएन। उपनिर्वाचनमा रविले झन् बढी मत ल्याए। ३३ दिनमै गृह मन्त्रालय छाड्न बाध्य उनी १३ महिनापछि २०८० फागुनमा पुनः उपप्रधान र गृहमन्त्री बने।
त्यसपछिको उनको यात्राचाहिँ विवादास्पद नै रह्यो। कारण, त्यो बेलासम्म उनी सूर्यदर्शन सहकारी प्रकरणमा जोडिइसकेका थिए। पोखरामा रहेको सूर्यदर्शन सहकारीबाट रवि लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोरके टीभीको माउ संस्था गोर्खा मिडिया नेटवर्कमा रकम गएको भेटिएपछि पीडितहरूले रविसँगै १८ जनाको नाम नै किटेर पूरक जाहेरी दिएका थिए।
तर, रवि गृहमन्त्री रहँदासम्म त्यो फाइल खुलेन। कतिसम्म भने महान्याधिवक्ताको कार्यालयले जानकारी माग्दा कास्की प्रहरीले उनीविरुद्ध कुनै जाहेरी नै नपरेकोसम्म भन्न भ्यायो। बहालवाला प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि त्यही झुटो व्यहोरा सुनाए। अनुसन्धान प्रक्रिया यसरी प्रभावित पारियो कि प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले रवि निर्दोष भएको जिकिर गरिरहे।
तर, सहकारी ठगी प्रकरण सेलाएन।
नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनको लागि संसदीय समितिको माग गर्यो। सदन अवरुद्ध बन्यो। अन्ततः रास्वपाकै सांसद शिशिर खनालसमेत सामेल गरी एमाले सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति बन्यो। २०८१ सालको जेठ १५ गते बनेको समितिले तीन महिनाको म्याद पायो।
यही बीचमा देशमा राजनीतिक कोर्स बदलियो। एकाएक रास्वपासहितको गठबन्धन भत्कियो र नेपाली कांग्रेस अनि एमालेबीच नयाँ समीकरण बन्यो। असार १७ गते कांग्रेस–एमालेबीच भएको सहमतिपछि प्रचण्ड अल्पमतमा परे। असार २८ गते विश्वासको मत नपाएपछि प्रचण्डसँगै रविको पनि सत्ता बहिर्गमन भयो। संसदीय विशेष छानबिन समितिको सुझाव अनुसार उनलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरियो। त्यही रात पोखरा ल्याइयो र कात्तिक ४ गते पहिलोपटक अदालत पेस गरी ५ दिनको म्याद लिइ अनुसन्धान सुरु गरियो। अर्थात् रविको हिरासत बसाइ सुरु भयो।
भित्र रवि, बाहिर प्रदर्शन
रवि पक्राउको विरोधमा रास्वपाले आन्दोलन चर्कायो। देशैभरका रास्वपा नेता/कार्यकर्ता पोखरा ओर्लिए। देशका अन्य भागमा पनि प्रदर्शनहरू भए। कास्की प्रशासनले पोखराका केही संवेदनशील क्षेत्रलाई निषेधित घोषित गर्यो। रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयत्न गरे।
तर, आन्दोलनले गति लिएन। बरु, चितवनमा भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएपछिचाहिँ रास्वपा आलोचित बन्यो। पोखराको आन्दोलन रोकेर काठमाडौँमा प्रदर्शन गर्ने भन्दै रास्वका नेताहरू फर्किए। फितलो प्रदर्शनपछि रास्वपाले आन्दोलनको कार्यक्रम फिर्ता लियो।
अहिले पनि रवि कास्की प्रहरीको हिरासतमै छन्। अनुसन्धानको लागि अन्तिमपटक थपिएको ४ दिनको म्याद शुक्रबार राति १२ बजे सकिएको छ। तर उनको हिरासत बसाइ यतिमै सकिने छैन। किनकि, जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध शुक्रबार कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसहितको पूरक अभियोग दर्ता गर्दा अर्को मुद्दामा उनीसहित ३२ जनालाई पनि प्रतिवादी कायम गरिसकेको छ।
रविसहितका अन्यलाई आइतबार पूरक अभियोगसहित सरकारी वकिलको कार्यालयले अदालतमा उपस्थित गराएको छ। अब रविसहित प्रहरी नियन्त्रणमा रहेका अभियुक्तहरूसँग इजलासमै बयान लिइँदै छ। बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ। बहसपछि अदालतले रवि रिहा हुने वा पुर्पक्षका लागि कारागार बस्नुपर्ने भनेर आदेश दिनेछ।
उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट ५ करोड २८ लाख रुपैयाँ गएको संसदीय छानबिन विशेष समितिले औँल्याएको छ। यसैगरी रविमाथि सुप्रिम, स्वर्णलक्ष्मी, सहारा चितवन र सानोपाइला सहकारीबाट कानुनविपरीत गोर्खा मिडियामा रकम प्रवाहमा संलग्न रहेको किटान गरिएको छ।
उनलाई ती सहकारी अवस्थित जिल्लामा लगेर पनि बयान गराइसकिएको छ। शुक्रबार अन्य प्रतिवादीलाई जसरी बिगोसहित १० वर्षसम्मको कैद सजायको माग गरिएको छ, अनुसन्धानपछि कास्की प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले रविको हकमा पनि त्यस्तै अभियोग लगाएका छन्।
हिरासतमा सुविधा तर बढ्दै छटपटी
रविलाई हिरासतमा विशेष सुविधा दिइएको छ। कास्की प्रहरी स्रोतका अनुसार छुट्टै कोठामा राखिएका रविलाई घाम ताप्ने सुविधा छ। पुस्तक पढ्न पाउँछन्। उनका शुभचिन्तकहरूले नियमित भेटघाट गरिरहेका छन्।
हाइप्रोफाइल व्यक्तिहरू हिरासतमा रहँदैको बेला ‘बिरामी’ बनिदिन्छन्। रविले चाहिँ लामो हिरासत बसाइमा अस्पतालको शय्या रोजेनन्। हिरासतमा रहँदा आफ्ना पार्टीका नेता तथा शुभेच्छुकसँग भेटघाटको लागि खुकुलो वातावरण बनाइयो। आफ्नै पार्टीका नेता त भइहाले, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासम्मले उनलाई हिरासतमै पुगेर भेटे।
बरु, चितवन प्रहरीले मंसिर २० गते गाडीमा राखेर उनलाई पोखरा ल्यायो। सुतिरहेको व्यक्तिलाई रातारात पोखरा ल्याएर प्रहरीले मानव अधिकारको हनन गरेको आरोप लगाइयो। रवि स्वयंले पनि पोखरा ल्याउने क्रममा आफूमाथि अमानवीय व्यवहार गरेको आरोप लगाए। आफ्नो डायरी हराएको बताए। सो समयमा आफ्नो ब्लड प्रेसरसमेत बढेको जानकारी दिए।
रास्वपाले विज्ञप्ति जारी गरी रविको डायरी खोसिएको आरोप लगायो।
‘प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजक तथा गैरन्यायिक चाल हो। यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ। हामी यसको घोर भर्त्सना गर्दछौँ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।
प्रहरीले हिरासतभित्र दुर्व्यवहार गरेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी नै दिइन्। आयोगले कास्की हिरासतमा रहेका रविसँग सोधपुछ गर्यो। आयोगका अधिकृत टंक खनालसँगको भेटमा चाहिँ रविले डायरी नलेखेको बरु साना कागजका टुक्रामा टिपोट गर्ने गरेको जानकारी दिए।
यो प्रकरण सेलाउन के लागेको थियो, बिहीबार हिरासतमा रहेका उनको तस्बिर बाहिरियो। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराले तस्बिर आफूले सार्वजनिक गरे तर आरोपचाहिँ प्रहरीमाथि लगाए, मानव अधिकार उल्लंघन गरेको भनेर।
केही समय सामाजिक सञ्जाल त्यसैमा तात्यो। रास्वपाकै शुभेच्छुक डा. निकोलस भुसालले त्यो तस्बिर आफूले सार्वजनिक गरेको अभिव्यक्ति दिएपछि घटनाले अर्कै मोड लियो। रास्वपा पुनः अप्ठेरोमा पर्यो। प्रहरीले चाहिँ छानबिनको लागि समिति बनायो।
हिरासतमा रहेका रवि बाहिर के भइरहेको छ भन्नेमा जानकार छन्। उपाध्यक्ष डीपी अर्यालको ‘रवि ज्युँदो रहेसम्म उहाँ नै अध्यक्ष’ भन्ने अभिव्यक्तिलाई आधार मान्ने हो भने पार्टीभित्र रवि नै सर्वेसर्वा छन्। उनकै निर्देशनमा नेताहरूले पार्टीका गतिविधि गरिरहेका छन् भन्ने पनि यसैबाट प्रस्ट हुन्छ।
लामो हिरासत बसाइ, पटकपटकको बयान, पाँचवटा जिल्लाको दौडाहा अनि अदालतको उपस्थितिबाट रविले न्यायाधीश बेलबासेले भनेजस्तै गज्जबको अनुभव सँगालेका छन्। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग उनीमाथि लागेको छ। र, आउँदा दिनमा रवि कसरी अगाडि बढ्लान्? उत्तर सहज छैन।
‘महत्त्वाकांक्षाको घोडा चढेर लोकरिझ्याइँ र पुराना राजनीतिक पार्टीप्रतिको नागरिक असन्तुष्टिलाई क्यास गर्न त रवि सफल भएकै हुन् तर उनमा राजनीतिक सुझबुझ कम देखिएको छ,’ उनीनिकट एक नेता भन्छन्, ‘उनको हिरासत बसाइ अघिल्लो पुस्ताका नेताहरूको जस्तो राजनीतिक आस्थाको लडाइँ हैन। उनी सहकारी ठगी र संगठित अपराधमा मुछिएका छन्। यो दाग मेट्न सजिलो छैन। तर, सत्य के हो भने रविले महत्त्वकांक्षाको घोडा बनाएको रास्वपाको लगाम तत्काल छाड्ने छैनन्।’
Shares

प्रतिक्रिया