आम निर्वाचन–२०७९ को पूर्ण नतिजा निर्वाचन आयोगले आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गर्ने भएको छ। मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो।
निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार प्रतिवेदन पेस गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने पनि उनले बताएका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मङ्सिर १२ गतेभित्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मङ्सिर तेस्रो सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको बताएको थियो।
तर, तीन जिल्लामा पुनःमतदान भएको र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रोसाता मात्रै सम्पन्न हुँदा आयोगले ढिला गरी मतपरिणाम सार्वजनिक गरेको थियो।
निर्वाचन परिणामबमोजिम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश सभातर्फ ३५० जना पुरुष निर्वाचित भएका छन्।
आयोगको अन्तिम परिणामबमोजिम प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन्। प्रतिनिधि सभामा ९१ जना महिला र प्रदेश सभामा दुई सय जना महिला निर्वाचित भएका छन्। प्रतिनिधि सभामा ३३.११ प्रतिशत महिलाको उपस्थिति हुने भएको छ। सातवटै प्रदेशमा भने ३६.३६ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेछ।
आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ महिला २२५ र पुरुष दुई हजार १८६ जनाको उम्मेदवारी कायम भएको थियो।
समानुपातिकतर्फ एक हजार १८७ महिला र एक हजार १२ पुरुष उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम भएको थियो। प्रदेश सभाको प्रत्यक्षतर्फ २८० महिला र दुई हजार ९४३ पुरुष र अन्य एक गरी तीन हजार २२४ जनाको उम्मेदवारी कायम भएको थियो।
समानुपातिकतर्फ एक हजार ५११ महिला र दुई हजार १९७ जना गरी तीन हजार ७०८ जना उम्मेदवारको नाम बन्दसूचीमा कायम भएको थियो। यसरी आमनिर्वाचनमा कुल उम्मेदवारको सङ्ख्या ११ हजार ५४२ रहेको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए। जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।
प्रतिक्रिया