प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरु प्रतिस्पर्धामा पछाडि परेका छन्।
कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण, एमाले उपाध्यक्ष सुभाष नेम्बाङ, सचिव रघुवीर महासेठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता मातृका यादव, लोसपाका नेता राजेन्द्र महतोसहितका नेताहरु मतगणनामा पछाडि परेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार बालकृष्ण खाण रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरासँग पछि परेका छन्। त्यहाँ बोहोराले ३२ हजार ८४८ मत पाउँदा खाँणले ३१ हजार ६ मत मात्रै पाएका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँ बोहोरासँग खाँण १८ सय भन्दा धेरै मतले पछि परेका हुन्।
उता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि इलाम १ मा पछि परेका छन्। खनाल त्यहाँ एमालेका महेश बस्नेतसँग पछि परेका हुन्।
बस्नेतले १७ हजार ५०५ मत प्राप्त गर्दा खनालले १४ हजार ८६४ मत मात्रै पाएका छन्। यहाँ बस्नेत र खनालबीचको मतान्तर २६ सय भन्दा धेरै छ।
एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ पनि इलाम २ मा कांग्रेस उम्मेदवारसँग थोरै मतले पछि छन्।
कांग्रेसका डम्बर बहादुर खड्काले २८ हजार ४८६ मत प्राप्त गर्दा नेम्बाङले २८ हजार ४७० मत प्राप्त गरेका छन्। यहाँ खड्का र नेम्वाङ बीचको मतान्तर १६ छ।
एमाले सचिव रघुवीर महासेठ पनि धनुषा ४ मा कांग्रेस उम्मेदवारसँगको प्रतिस्पर्धामा पछि परेका छन्। कांग्रेसका महेन्द्र यादवले १८ हजार ६८ मत प्राप्त गर्दा महासेठले १६ हजार १८६ मत मात्रै पाएका छन्। यहाँ यादवसँग महासेठ २१ सय मतान्तले पछि छन्।
धनुषा ३ मा उनकी पत्नी जुलीकुमारी महतो विजयी हुँदा महासेठलाई भने चुनाव जित्न गाह्रो हुने अवस्था सिर्जना भएको छ।
सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई सुनसरी ४ मा एमालेका जगदिश प्रसाद कुसियैतले कडा चुनौति दिइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार त्यहाँ कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा कुसियैतले २१ हजार ६०३ मत पाएका छन्।
त्यसैगरी सर्लाही २ मा पनि लोसपाका नेता राजेन्द्र महतो माओवादी केन्द्रका नेता महिन्द्र राय यादवसँग पछि परेका छन्। मत गणना अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँ यादवले २० हजार ७३८ मत पाएका छन् भने महतोले १८ हजार ७९३ मत पाएका छन्।
धनुषा १ मा माओवादी केन्द्रका नेता मातृका यादव पनि जसपाका दीपक कार्कीसँग पछि परेका छन्। कार्कीले १६ हजार ८२८ मत पाउँदा यादवले १३ हजार ७५१ मत मात्रै पाएका छन्। यहाँ जनमत पार्टीका किशोरी साहले साढे ९ हजार भन्दा धेरै मत पाएका छन्।
Shares
प्रतिक्रिया