पाँचथरबाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे पराजित भएका छन्। पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता बसन्त नेम्वाङसँग चुनावी मैदानमा उत्रिएका आङ्देम्बे ४७ मतको झिनो मतान्तरले चुनाव हारेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले ३२ हजार ११० मत प्राप्त गरेका छन् भने आङ्देम्बेले ३२ हजार ६३ मत पाएका छन्।
मतगणनाका क्रममा नेम्वाङ र आङ्देम्बेबीचको प्रतिस्पर्धा रोचक बनेको थियो। ०७४ को निर्वाचनमा पनि आङ्देम्बेलाई नेम्वाङले नै हराएका थिए। त्यतिबेला नेम्वाङ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।
आङ्देम्बेको यो लगातार दोस्रोपटकको हार हो।
गत मंसिरमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी सहमहामन्त्री निर्वाचित भएका थिए। यसअघि उनी कांग्रेसको केन्द्रीय अनुशासन समितिको संयोजक थिए।
Shares

प्रतिक्रिया