स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभाको मतगणनाको अन्तिम समयमा झन् ठूलो सनसनी सिर्जना गरेर जित निकालेका छन्।
मतगणनाको सुरुवाती अवस्थामा पछि परे पनि उनले अन्तिम समयमा नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना) लाई पाखा लगाउँदै नतिजा आफ्नो पक्षमा पार्न सफल भएका हुन्।
सिंहले विजयी हुने क्रममा २७ हजार ८१६ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी उपाध्याय (डिना) ले २५ हजार ४२३ मत ल्याइन्। उता तेस्रो भएका थापाले २५ हजार ४२० मत ल्याउन सफल भए।
तर निर्वाचन अधिकृतको कार्यालयले उनी विजयी भएको औपचारिक घोषणा गरिसकेको छैन।
यहाँ सिंह विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा तेस्रो भए। उनले मतगणना नसकिँदै हार स्वीकारेका थिए।
स्थानीय तह निर्वाचनका बेला तेस्रो स्थानमा रहे पनि हेटौँडा उपमहानगरपालिकाको मेयरमा सुरुदेखि नै सिंहले प्राप्त गरेको प्रतिस्पर्धात्मक मतका कारण सनसनी नै मच्चिएको थियो।
एकीकृत समाजवादीकी विजेता मीना लामाले २३ हजार मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका सिंहले २० हजारभन्दा बढी मत प्राप्त गरेका थिए।
बाघको जस्तै रवाफिलो जुँगा र जिउडालका सिंहले प्राप्त गरेको त्यो आश्चर्यजनक मतका कारण उनलाई ‘हेटौँडाको नयाँ शेर’ मान्न थालिएको थियो।
एमालेको किल्ला मानिएको हेटौँडामा उनले प्राप्त गरेको मतले उनलाई ‘शेर’ को परिचय दिलाएको थियो।
तिनै सिंह यसपटक मकवानपुर–१ मा प्रतिनिधि सभाको उम्मेदवार रहेर जित्न पनि सफल भएका हुन्।
तर, स्थानीय तह निर्वाचनका बेलाजस्तो मतगणनाको मध्यताकासम्म उनी जोडदार प्रतिस्पर्धीका रुपमा देखिएका थिएनन्।
सुरुवाती गणनामा उनी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) र एमाले उम्मेदवार एवम् राप्रपा नेपालका कमल थापाभन्दा निकै पछि थिए।
त्यसै आधारमा मंगलबार साँझ हामीले मकवानपुर–१ को प्रारम्भिक रुझानका आधारमा एउटा स्टोरी प्रकाशित गरेका थियौँ।
त्यतिबेलासम्मको गणनामा उक्त निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार उपाध्याय (डिना) ७ हजार ५ सय ८० मतका साथ अग्रस्थानमा रहँदा राप्रपा नेपालका अध्यक्ष थापाले ५ हजार १ सय ८ मत प्राप्त गरेका थिए।
सिंह तेस्रो स्थानमा रहेका सिंहलाई २ हजार ३ सय ७७ मत प्राप्त भएको थियो।
मतगणनामा देखिएको प्रारम्भिक रुझानले देखाउँदैनथ्यो कि स्थानीय निर्वाचनको मतगणनाका क्रममा सुरुवातदेखि सनसनी मच्चाएका सिंहले यसपटक त्यही कथा दोहोर्याउँछन्।
मतगणनामा प्रकट प्रारम्भिक रुझानले उनको ‘शेर’ को हैसियत खस्कने संकेत गरेको थियो।
त्यही प्रारम्भिकरुझानलाई बिम्बात्मक रुपमा प्रयोग गर्दै हामीले एउटा ‘गसिप स्टोरी’ चलायौँ– ‘स्थानीय निर्वाचनका शेर, संसदीय निर्वाचनमा बिरालो।’
तर, त्यसको दुई दिनपछि कुनै सस्पेन्स स्टोरीसहितको फिल्ममा ‘हिरो’ जस्तै सिंहको आश्चर्यजनक पुनरागमन गर्दै विजयी भएका छन्। उनी ‘बिरालो’ होइन, ‘शेर’ पनि होइन– ‘महाशेर’ का रुपमा मकवानपुर– १ मा उदाएका छन्।
अर्थात् मतगणनाको ‘पूर्वान्तर’ र ‘मध्यान्तर’ को स्थितिलाई पूरै उल्ट्याएर उनी विजयी भइसकेका छन्।
सिंहलाई विजयको शुभकामनासहितको ट्वीट गरेर तेस्रो स्थानमा रहेका कमल थापा त बिहीबार बिहानै काठमाडौँ प्रस्थान गरिसकेका छन्।
‘फिल्ममा हिरो अन्तिममा आउँछ’ भनेझैँ मतगणनाको अन्त्यमा सिंहले आश्चर्यजनक ‘कमब्याक’ गरेर सिंहले सनसनी सिर्जना गरिदिएका छन्, यो विजयले उनलाई ‘शेर’ बाट ‘महाशेर’ को हैसियतमा उकासिदिएको छ।
Shares
प्रतिक्रिया