राजनीति


जो जनयुद्धमा ‘मर्यो’ भनी फालिए, आफ्नै पिसाब खाएर बाँचे, अहिले ‘बागी’ बनेर जिते

जो जनयुद्धमा ‘मर्यो’ भनी फालिए, आफ्नै पिसाब खाएर बाँचे, अहिले ‘बागी’ बनेर जिते

स्थानीय मेलामा धनु–वाण चलाउँदै सरुण पुन। तस्बिर : पुनको फेसबुकबाट।


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २२:२३, काठमाडौँ

माओवादी जनमुक्ति सेनाका पूर्व डिभिजन कमाण्डर तेजबहादुर ओली (प्रतिक) जनसेनाकै पूर्व ब्रिगेड कमाण्डर सरुल पुन (अजयदीप) सँग रुकुमपूर्व ‘क’ मा पराजित भएका छन्। 

हिजो ‘बुलेट वार’ क्रममा सँगै लडेका जनसेनाका तल्लो तहका कुनै कमाण्डर आफूभन्दा माथिका कमाण्डरलाई ‘ब्यालेट वार’ मा पराजित गरेको सम्भवत यो पहिलो घटना हो। 

रुकुमपूर्व ‘क’ बाट ०७४ को प्रदेश सभा निर्वाचनमा भारी मतले विजयी ओलीलाई पराजित गरेका पुनको जीवनकहानीले सबैलाई जिरिङ्ग बनाउँछ। पराजित ओली पूर्व प्रदेश सभा सदस्यका अलावा माओवादी केन्द्रको रुकुमपूर्वका ईञ्चार्ज समेत हुन्। 

जानकारी अनुसार, जनयुद्धको मध्यताका सरुल माओवादी जनयुद्धको आधार क्षेत्र रहेको रोल्पा–रुकुमबाट कमजोर प्रभाव रहेको पूर्वमा खटाइएको टुकडीमा थिए। 

माओवादी आधार क्षेत्रबाट पूर्वमा जनसेना पठाइएपछि पूर्वी नेपालमा पनि माओवादीको प्रभाव बढ्न थाल्यो। त्यसैक्रममा माओवादीले पूर्वका विभिन्न सैन्य सैनिक ब्यारेकहरुमा आक्रमण गर्यो। 

यसमध्ये माओवादीले सोलु सदरमुकाम सल्लेरी, ओखलढुङ्गाको रुम्जाटार लगायतका स्थानमा माओवादीले आक्रमण गर्यो। माओवादीका यी दुबै आक्रमण असफल भए। 

ती असफल आक्रमणहरुमा सरुल सहभागीमात्र भएनन्, गम्भीर घाइतेपनि भए। 

‘सोलुखुम्बुमा भएको आक्रमणमा हो जस्तो लाग्छ, गम्भीर घाइते हुनु भएका उहाँको शहादत भयो भनेर साथीहरुले झण्डा ओढाएर र श्रद्धाञ्जली प्रदान गरी त्यत्तिकै छाडेर हिडेछन्’ रुकुम घर भएका दाङबाट सञ्चालित सिस्नेन्यूजअनलाइनका सम्पादक नरेन्द्र केसीले भने, ‘अचेत अवस्थामा उहाँ जंगलमा केही दिन त्यत्तिकै रहनु भयो।’

आफ्नै साथीहरुले अन्तिम श्रद्धान्जली दिएर छाडेका अचेत सरुल केही दिनपछि होसमा फर्किए। तर, अशक्तताका कारण आफूलाई त्यत्तिकै छाडिएको जंगल छाडेर कतै जानसक्ने स्थितिमा थिएनन्। 

रुकुमपूर्व ‘क’ बाट आश्चर्यजनक विजय हासिल गरेपछि रुकुमका पत्रकार हरि गौतमले सरुलले बेहोर्नु परेको त्यो घटनाको अनुभूतिको भिडिओ यो सहित उनीबारे थप मार्मिक जानकारी फेसबुकमा सेयर गरेका छन्। 

‘जनयुद्धका दौरान लडाइँका क्रममा मर्यो भनेर फालिनुभयो, आफ्नै पिसाव खाएर उठ्नुभयो’ पत्रकार गौतमले लेखेका छन्, ‘पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर अजयशक्ति (सुरुल पुन मगर) दाई! त्यसपछि माओवादीको गाउँघरकै कार्यकर्ताको काम गर्नुभयो । तपाईंको पारिवारिक क्षतिपनि कम पीडादायी छेैन । अरु हुँदाहुँदै पनि उम्मेदवारी तपाईंको पर्यो र आफ्नै पार्टीको जिल्ला इन्चार्ज पूर्व डिभिजन कमान्डरलाई पराजित गर्नुभयो।’ 

भिडिओ:

खामभाषीहरुको प्रभाव रहेको रुकुमपूर्वबाट माओवादी केन्द्रले लगातार गैरखामभाषीलाई उम्मेदवार बनाएपछि सो जिल्लाका माओवादी नेता–कार्यकर्ताहरुले सरुललाई बागी उम्मेदवारका रुपमा खडा गरेका थिए। 

माओवादी केन्द्रका आधिकारिक उम्मेदवार ओलीलाई बागी उम्मेदवार सरुलले ६ सय सय ४३ मतान्तरले पराजित गरेका थिए।  

बल्ब ९चिम० चिन्ह प्राप्त गरी विजयी पुनले ४ हजार ४ सय ६५ मत प्राप्त गर्दा पराजित ओलीले ३ हजार ९ सय ३२ मतमात्र प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .