कर्णाली प्रदेशका १० मध्ये ६ जिल्लामा मतगणना जारी रहेको छ। अन्य ४ जिल्लाको मतगणना भने सुरु हुन सकेको छैन्।
सुर्खेत–२, दैलेख–१, २, सल्यान, रूकुम पश्चिम, जाजरकोट र जुम्लामा मतगणना जारी छ।
जारी मतगणना अनुसार नेपाली कांग्रेस २, नेकपा एमाले १, नेकपा एकिकृत समाजवादी १, नेकपा माओवादी १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन्।
दुई निर्वाचन क्षेत्र रहेको प्रदेश राजधानी सुर्खेको क्षेत्र नम्बर १ मा आइतबार रद्द भएको निर्वाचन मंगलबार बिहान ७ बजेबाट सुरु भएको छ।
प्रदेशसभाको मतपत्रमा पहिलो हुने प्रतिनिधिसभाको मतपत्र भेटिएपछि मतदान रद्द भएको थियो।
यो समाचार तयार पार्दासम्म प्राप्त मतपरिणाम अनुसार सुर्खेत क्षेत्र नम्बर २ मा गठवन्धनका तर्फबाट नेपाली कांग्रेस अगाडि देखिएको छ।
कांग्रेसका हृदयराम थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई पछाडि पार्दै अग्रता कायम गरेका छन्।
२८ हजार ९ सय ६३ मत गणना हुँदा थानीले १४ हजार १ सय ९६ मत प्राप्त गरी अग्रता लिदा एमालेका बिसीले १० हजार ७ सय ७४ मत प्राप्त गरेका छन्।
यस्तै, सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले ८ हजार ९ सय ७ मत प्राप्त गरी फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्रका राजेन्द्रबहादुर शाहले ४ हजार १ सय ६७ मत प्राप्त गरेका छन्।
सल्यानमा एमाले तेस्रो स्थानमा खुम्चिएको छ। ज्वाला यस अघिका पूर्व मन्त्रीसमेत हुन्। २ निर्वाचन क्षेत्र रहेको दैलेखका दुवै निर्वाचन क्षेत्रमा पनि मतगणना जारी छ।
दैलेख १ मा एमालेमा लामो समय मिलेर काम गरेका पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा देखिदा एमालेका रवीन्द्रराज शर्माले ४ हजार २ सय ७२ मत प्राप्त गरी अग्रता लिएका छन्।
शर्माका प्रतिस्पर्धी समाजवादीका जिल्ला अध्यक्ष अमरबहादुर थापाले ३ हजार ९ सय ७४ मत प्राप्त गरेका छन्।
यस्तै, दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाहीले ४ हजार १ सय ८२ मत प्राप्त गरी अग्रता कायम गर्दा शाहीका प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेलले ३ हजार ७८ मत प्राप्त गरेका छन्।
यस्तै, जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही पहिलो पटक संघीय संसद छिर्ने करिब पक्का भएको छ।
शाहीले गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुमारी गौतम कुँवरलाई झण्डै तेब्बर मतले पछाडि पारेका छन्। शाहीले ४ हजार ९१ मत हात पार्दा गौतमले एक हजार ४ सय ४९ मत प्राप्त गरेकी छन्।
यस्तै, जाजरकोटमा उपमहासचिवसमेत रहेका मओवादीका शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले अगाडि छन्।
बस्नेतले २ हजार २ सय ८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि एमालेका निरज अचार्यले १ हजार ७ सय ७६ मत प्राप्त गरेको अवस्था छ। हिमाली जिल्लाहरु हुम्ला, डोल्पा र मुगुमा भने अझै मतपेटिका संकलनको कार्य सम्पन्न हुन सकेको छैन्।
सडक सञ्जाल नपुगेका क्षेत्रहरुबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएपनि हेलिकप्टर अझै पुग्न सकेको अवस्था छैन।
प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बेलुकासम्म मत पेटिका सम्बन्धित जिल्ला सदरमुकाम आइपुग्ने जनाएको छ। मत पेटिका संकलन भएपछि मतगणनाको काम अगाडि बढ्ने कार्यालयको भनाइ छ।
Shares
प्रतिक्रिया