नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा आइतबार रोकिएको मतदान आज (सोमबार) बिहानैबाट सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।
आइतबार स्थानीय शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित भएको थियो। नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी रहने बताए।
मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सम्पन्न भएपछि सोमबार साँझबाटै क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने लुइँटेलको भनाई छ। सो मतदान केन्द्रमा नौ सय ८० मतदाता छन्।
नवलपुरमा ६६ प्रतिशत मतदान
दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब ६६ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्लाका दुवै क्षेत्रमा गरी ६६ दशमलब ४९ प्रतिशत मतदान भएको हो। जिल्लामा ९६ हजार छ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रोलिङ्गी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका छन्।
जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ। दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन्।
क्षेत्र नम्बर २ मा मतगणनाको तयारी
राति अबेरसम्म सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थल कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आइपुगेपछि अहिले बिहानबाट सर्वदलीय बैठक बसेको उनले बताए।
‘सदर र बदर मत, मतगणना प्रक्रियालगायत विभिन्न विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘अबको केहीबेरमा हामीले मतगणना सुरु गर्ने छौँ।’
Shares

प्रतिक्रिया